काठमाडौं । मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित आफ्नो व्यक्तिगत ह्वाट्सएप नम्बरमा सूचना पठाउन आग्रह गरेका छन् । सोमबार फेसबुकमा एक पोस्ट लेख्दै उनले यस्तो जानकारी दिएका हुन् ।
देशमा नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरू तानिएपछि भ्रष्टाचार विरुद्ध आवाज उठिरहेको बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
सो फेसबुक पोस्टमा उनले महानगरपालिका कार्यालयका कुनै पनि कर्मचारीले सेवाग्राहीको काम गर्दा पैसा मागेमा भिडिओ/अडियो सहितको प्रमाण पठाउन आग्रह गर्दै आफ्नो नम्बर समेत दिएका छन् ।
“हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ । हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडिओ अडियोसहित,” उनले लेखेका छन्, “कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।”
साथै उनले सो नम्बरको मोबाइल आफूले मात्र बोक्ने हुँदा जानकारी दिनेको नाम गोप्य राखिने बताएका छन् । उनलाई प्रमाण सहित भ्रष्ट्राचारको जानकारी ९८६३५९२०११ मा खोलिएको ह्वाट्सएपमा पठाउन सकिनेछ ।