गुम्बा स्कुलमा शिक्षिकाले विद्यार्थीलाई निर्मम कुटपिट गरेको भिडिओ भाइरल, के हो घटना ?
असार २९, २०८३ १५:४६
काठमाडौं । सामाजिक सञ्जालमा गुम्बा विद्यालयका एक विद्यार्थीलाई शिक्षिकाले कुटपिट गरेको भिडिओ भाइरल भएको छ । भिडिओमा शिक्षिकाले 'हात थाप' भन्दै विद्यार्थीलाई मोटो लठ्ठीले हत्केलामा पटक-पटक प्रहार गरिरहेको देखिन्छ ।
लठ्ठीले प्रहार गर्दा निस्किएको ठुलो आवाज र पीडाका कारण विद्यार्थीले छटपटाउँदै लामो-लामो सास फेरिरहेको भिडिओमा स्पष्ट सुनिन्छ । सोही समयमा कक्षाका अन्य विद्यार्थीहरू भने त्रसित मुद्रामा चुपचाप शिक्षिकातर्फ हेर्छन् ।
पिट्दै गर्दा शिक्षिकाले आक्रोशित हुँदै भनेकी छिन्, “तिमीहरूले मलाई हेपेको होइन ? अब म तँलाई एक चान्स पनि दिन्नँ । त्यत्रो पिट्दा पनि तिमीहरूलाई लागेन है? अलिकति डराउनु पर्दैन ? कसको मुखबाट आवाज आएको हो, तिमीहरूलाई थाहा छैन ?” यति भन्दै उनले ती विद्यार्थीलाई कक्षाबाट बाहिर निकालिदिएकी छिन् ।
सामाजिक सञ्जालमा सो भिडिओ प्रकाश सापकोटा नामका फेसबुक प्रयोगकर्ताले शेयर गरेका छन् । ३२ सेकेन्ड लामो उक्त भिडिओ शेयर गर्दै उनले उक्त भिडिओ गुम्बा भित्रको विद्यालयको भएको र विद्यार्थीले न्याय पाउनुपर्ने उल्लेख गरेका छन् ।
आइतबार राति ११:२९ सार्वजनिक भएको उक्त भिडिओलाई सार्वजनिक भएको १३ घण्टामा नै नौ लाखभन्दा धेरैले हेरेका छन् भने १३ हजार ९०० भन्दा धेरैले रियाक्ट र पाँच हजार ६०० बढी पटक कमेन्ट गरिएका छन् ।
गुम्बाभित्र बालबालिकामाथि भएको यस्तो दुर्व्यवहारको चौतर्फी भत्सर्ना गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले शिक्षिकामाथि कडा कारबाहीको माग गरेका छन् ।
डेढ वर्षअघिको घटना भएको विद्यालयको दाबी
भाइरल भिडिओ काठमाडौंको सिमलटारस्थित खवालुङ मोनेस्ट्री स्कुलको रहेको पाइएको छ । विद्यालयका प्रिन्सिपल सुनिल रानाका अनुसार उक्त भिडिओ पुरानो हो । उनले भिडिओमा देखिएको शिक्षिका सोना राना रहेको र हाल उनी विद्यालयमा कार्यरत नरहेको बताए । उनले भने, “उहाँले गत वर्ष जेठ (२०८२ जेठ)मा नै आफ्नो व्यक्तिगत कामका कारण जागिर छाड्नु भइसक्यो ।”
भिडिओ भाइरल भएपछि काठमाडौं महानगरपालिका र शिक्षा मन्त्रालयबाट पनि उक्त घटनाका बारेमा चासो व्यक्त गरिएको छ । उनले भने, “मैले घटनाका बारेमा काठमाडौं महानगरपालिकालाई जानकारी गराइसकेको छु । शिक्षा मन्त्रालयलाई पनि लिखित जानकारी उपलब्ध गराउँदै छु ।”
प्रिन्सिपल रानाका अनुसार विद्यालयमा छात्रावासमा राखेर विद्यार्थीहरूलाई अध्यापन गराइन्छ । तर, एक जना विद्यार्थीले भने छात्रावासमा भएको समयका केही गल्ती गरेको हुनसक्ने आशंकामा शिक्षिका रानाले कारबाही गरेकी थिइन् ।
उनले भने, “विद्यार्थीलाई कारबाही गरेको थाहा पाएपछि हामीले उहाँलाई स्पष्टीकरण पनि सोधेका थियौँ । त्यसको केही महिनापछि उहाँले व्यक्तिगत कारणले स्कुल छाड्नु भयो । अहिले यो भिडिओ भाइरल भएपछि फेरि पनि उहाँसँग सम्पर्कमा आउने प्रयास गरिरहेका छौँ । तर, उहाँ नेपाल बाहिर गइसक्नु भयो जस्तो छ ।”
विद्यालय प्रशासनका एक कर्मचारीका अनुसार यो घटना २०८० फागुनतिरको हो । ती कर्मचारीले विद्यालयकै अर्का एक शिक्षकले खिचेको यो भिडिओ शिक्षकहरूबीचको आपसी मनमुटाबका कारण अहिले सार्वजनिक गरिएको हुनसक्ने शङ्का व्यक्त गरे । प्रिन्सिपल रानाका अनुसार भिडिओमा देखिएका बालक हाल सोही विद्यालयको कक्षा ४ मा अध्ययनरत छन् । घटनाबारे सोध्दा बालकले आफूलाई सो दिनको कुरा याद नभएको जवाफ दिएका छन् ।
* समाचारमा खवालुङ मोनेस्ट्री स्कुल काठमाडौंको सिमलटामा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.
पछिल्लो अध्यावधिक: असार २९, २०८३ २०:४०
