close

एलन मस्कलाई एप्पलले दियो विशेष अनुमति, एपस्टोरबाट पनि हट्यो ट्वीटर

टेकपाना टेकपाना

साउन १६, २०८० १३:११

एलन मस्कलाई एप्पलले दियो विशेष अनुमति, एपस्टोरबाट पनि हट्यो ट्वीटर

 

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्मले आधिकारिक रूपमा एप स्टोरमा ‘एक्स’ नाम पाएको छ । एप्पलको नीति अनुसार कुनै पनि एप एपस्टोरमा हुनका लागि कम्तिमा दुई ओटा क्यारेक्टरको नाम हुनुपर्छ ।

तर, मस्कका कारण ट्वीटरको नयाँ नाम ‘एक्स’ एप स्टोरमा स्वीकृत भएको छ । गत साता कम्पनीका मालिक मस्कले पहिले ट्वीटरको नामबाट विश्व परिचित एपलाई ‘एक्स’मा रिब्रान्ड गरेका थिए । त्यससँगै बहुचर्चित चराको लोगो सधैंका लागि हटाइएको थियो ।

कम्पनीले ट्वीटरलाई एक्समा रिब्रान्ड गरेसँगै तत्कालै सबै ठाउँबाट ट्वीटर नाम हटाउन सकस परेको थियो । तर, विस्तारै कम्पनीले प्रायः सबै ठाउँबाट ट्वीटर शब्द र चराको आइकन हटाइसकेको छ । 

गुगलको प्लेस्टोरमा सजिलै नयाँ नाम पाएको ट्वीटरले गाइडेन्सका कारण एप स्टोरमा ‘एक्स’ नाम पाएको थिएन । एप स्टोरको गाइडेन्स अनुसार एप स्टोरमा एप होस्ट गर्न कम्तिमा दुई ओटा र बढीमा ३० ओटा क्यारेक्टर आवश्यक पर्छ । तर, ट्वीटरले भने नयाँ नामका लागि विशेष अनुमति पाएको छ ।

अहिले एप स्टोरमा ट्वीटरको पेज हेर्‍यो भने एपको नाम एक्स राखिएको देख्न सकिन्छ । एप स्टोरमा नयाँ नाम पाउनका लागि एलन मस्क र कम्पनीले के कस्तो अनुरोध गरेका थिए भन्ने जानकारी आइसकेको छैन । यससँगै एक्स एपले नयाँ ट्यागलाइन पाएको छ । त्यो हो, “ब्लेज योर ग्लोरी’ (Blaze your glory!) ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८० १३:११