काठमाडौँ । नेपालमा आन्तरिक रूपमा विद्युत्को उत्पादन र प्रयोग बढ्दै गएपछि इन्धन खपतको प्रवृत्तिमा सकारात्मक परिवर्तन देखिन थालेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार देशमा विद्युतीय ऊर्जाको पहुँच र उपयोग बढेसँगै प्रमुख पेट्रोलियम पदार्थहरूको आयात र बिक्री परिमाण दुवैमा उल्लेख्य गिरावट आएको हो ।
सर्वेक्षण प्रतिवेदनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा गत वर्षको सोही अवधिको तुलनामा पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास (एलपीजी) को आयात घटेको छ । कूल इन्धन खपतमा विद्युत्को हिस्सा बढ्दै गएकाले पेट्रोलियम पदार्थथिको परनिर्भरता कम हुँदै गएको मन्त्रालयको निष्कर्ष छ ।
तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा पेट्रोलको आयात गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले घटेको छ । गत वर्षको पहिलो आठ महिनामा ४ लाख ८७ हजार किलोलिटर पेट्रोल आयात भएकोमा यस वर्ष सोही अवधिमा घटेर ४ लाख ३८ हजार किलोलिटर मात्र आयात भएको छ ।
त्यसैगरी नेपालमा सबैभन्दा धेरै खपत हुने इन्धन डिजेलको आयात पनि ९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ८ लाख ७८ हजार किलोलिटर डिजेल आयात भएकोमा चालु वर्षको फागुनसम्म ७ लाख ९१ हजार किलोलिटर मात्र भित्रिएको छ ।

आयातसँगै स्वदेशी बजारमा पेट्रोलियम पदार्थको बिक्री परिमाणमा पनि उस्तै गिरावट आएको छ। यस अवधिमा पेट्रोलको बिक्री ६.४ प्रतिशतले र डिजेलको बिक्री ८.७ प्रतिशतले घटेको छ ।
विद्युतीय चुलो (इन्डक्सन/इन्फ्रारेड) को बढ्दो प्रयोगका कारण खाना पकाउने एलपी ग्यासको आयात र खपतमा पनि ठुलो प्रभाव परेको छ । ग्यासको आयात गत वर्षको फागुनको तुलनामा ११.१ प्रतिशतले घटेर ३ लाख २२ हजार मेट्रिक टनमा सीमित भएको छ भने यसको बिक्री परिमाण पनि १०.४ प्रतिशतले ओरालो लागेको छ । साथै मट्टीतेलको आयात ४७.७ प्रतिशतले र हवाई इन्धनको आयात ८.६ प्रतिशतले घटेको छ ।
विद्युत् जडित क्षमता ४ हजार मेगावाट नाघ्यो
एकातिर पेट्रोलियम पदार्थको खपत घटिरहँदा, अर्कोतिर देशको जलविद्युत् क्षमता भने उल्लेख्य रूपमा विस्तार भएको छ । आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुनसम्म मुलुकको कूल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ ।

देशको ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगिसकेको छ भने कूल ऊर्जा खपतमा विद्युत्को हिस्सा बढेर १२.१ प्रतिशत पुगेको छ । समग्रमा यातायात क्षेत्रमा विद्युतीय सवारीसाधन (ईभी) को आकर्षण बढ्नु, भान्सामा विद्युतीय चुलोको प्रयोग बढ्नु र उद्योग कलकारखानामा पनि विद्युत्को नियमित आपूर्ति हुन थाल्नुले पेट्रोलियम पदार्थको खपत घटाउन मुख्य भूमिका खेलेको आर्थिक सर्वेक्षणको तथ्याङ्कले पुष्टि गरेको छ ।
यसले देशको व्यापार घाटा न्यूनीकरण गर्न र विदेशी मुद्रा सञ्चिति बढाउनसमेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास छ ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ ७:५१
