close

आफूलाई बेलायती नागरिक भन्दै आईफोन पठाइदिने नाममा नेपाली ठग्ने ५५ वर्षीया कमलादेवी पक्राउ

टेकपाना टेकपाना

साउन २५, २०८० २२:१२

आफूलाई बेलायती नागरिक भन्दै आईफोन पठाइदिने नाममा नेपाली ठग्ने ५५ वर्षीया कमलादेवी पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटक र ह्वाट्सएपबाट जोडिएर गिफ्ट पठाउने बहानामा रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. ६ बस्ने ५५ वर्षीय कमलादेवी श्रेष्ठ रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित श्रेष्ठ सबैभन्दा पहिले आफू बेलायती नागरिक भएको भन्दै पीडितसँग टिकटकमा जोडिइन् । त्यसपछि नजिकिँदै गएपछि ह्वाट्सएप नम्बर मागेर त्यसैमा कुरा गरेर झनै नजिकको साथी भइन् ।

पीडितले विश्वास गर्ने अवस्था आएपछि कमलादेवीले सुनको गरगहना, डलर, आईफोन, जुत्ता, लेडिज ब्याग, लत्ता कपडाहरू समेतको गिफ्ट पार्सल गरेको छु भनेर आश्वासन दिइन् । पछि भन्सार शुल्क वापत रकम तिर्नुपर्ने भन्दै पीडितबाट ९१ हजार रुपैयाँ जति पठाउन लगाइन् ।

पीडितले पनि त्यसरी नै रकम पठाइन् । तर, पछि गिफ्ट नपाएपछि उजुरी दिइन् । उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा मंगलबार कमलादेवी पक्राउ परेकी हुन् । उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन २५, २०८० २२:१२