close

ट्वीटरको याद आउने सबै चिज हटाउँदै मस्क, कम्पनीका सबै सामान लिलामीमा*

टेकपाना टेकपाना

साउन २६, २०८० ९:५

ट्वीटरको याद आउने सबै चिज हटाउँदै मस्क, कम्पनीका सबै सामान लिलामीमा*

काठमाडौं । एलन मस्कले ट्वीटरलाई एक्समा रिब्रान्डिङ गरेसँगै ट्वीटरसँग जोडिएका सम्पूर्ण चिजबिज बिक्रीका लागि लिलामीमा राख्ने भएका छन् । कार्यालयमा रहेका ट्वीटरको झल्को दिने सबै सामग्री आगामी महिना अनलाइनमार्फत लिलाम बिक्री गर्न लागिएको हो । 

मस्कले ट्वीटरलाई एक्समा रिब्रान्डिङ गरेको दुई साता नबित्दै कम्पनीले पुराना सम्पूर्ण सामान बिक्री गर्ने निर्णय लिएको छ । यसअघि कम्पनीले आफ्नो मुख्यालयमा रहेको ट्वीटरको होडिङ बोर्ड समेत हटाएको थियो ।

त्यसबाहेक पनि ट्वीटर शब्द जोडिएका हरेक प्लेटफर्ममा एक्सलाई प्रतिनिधित्व गर्ने नाम राखिएको छ । 

कम्पनीमा भएका विभिन्न आर्ट, भौतिक सामग्रीहरू बिक्रीमा राख्न लागिएको द भर्जमा उल्लेख गरेको छ । कम्पनीमा भएका चराको डिजाइनमा सजिएका कफी टेबल, पिँजडा आकारको सोफा, स्टुल, टेबल, कुर्सी, फ्रिज, प्रिन्टिङ.मसिन, ग्राइन्डर, एस्प्रेसो मसिन (Espresso machine), डेस्क, गिटार, ड्रम, एम्प्लिफायर, डीजे बुथ, मिक्स्चर, स्पिकर, ह्याशट्यागको सङ्केत, एट द रेटको सङ्केत, कम्प्युटर, टीभी, कम्पनीमा टासिएका ऐतिहासिक पेन्टिङ लगायत ५८४ ओटा सामान लिलामीमा राखिने छ । 

लिलामीमा राखिएका हरेक सामनको ‍सुरुवाती बोलकबल मूल्य २५ डलर राखिएको छ । यसमा ८.८३ प्रतिशत कर लाग्ने उल्लेख छ । लिलामीमा राखिएका सामग्री १२ सेप्टेम्बरदेखि १४ सेप्टेम्बरको बीचमा खरिद गर्न सकिनेछ । 

*शीर्षक परिवर्तन गरिएको छ । -स.

पछिल्लो अध्यावधिक: साउन २६, २०८० ९:२२