काठमाडौं । एलन मस्कको स्वामित्वमा पुगेपछि एक्स (ट्वीटर)को मूल्य ओरालो लागिरहेको छ । लगानीकर्तामध्ये एक फाइडेलिटी ब्लु चिप ग्रोथ फन्डले हालै सार्वजनिक रिपोर्ट अनुसार कम्पनीको वर्तमान मूल्य मस्कले तिरेको भन्दा ७८.७ प्रतिशत कम रहेको छ ।
अप्रिल २०२२ मा मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका थिए । त्यसबेला फाइडेलिटीले एक्समा एक करोड ९६ लाख डलर लगानी गरी शयेर खरिद गरेको थियो । अहिले उक्त शेयरको मूल्य ५५ लाख डलरमा खुम्चिएको रिपोर्टमा उल्लेख छ । अर्थात् अहिले एक्सको कुल भ्यालु नौ अर्ब ४० करोड डलर मात्र रहेको छ ।
गत वर्ष एक्सले विज्ञापनबाट साढे दुई अर्ब डलर आम्दानी गरेको थियो । यो भनेको सन् २०२२ मा एक्सले गरेको आम्दानीको आधाभन्दा पनि कम हो । एक्सको कूल आम्दानीमध्ये विज्ञापनबाट ७० देखि ७५ प्रतिशतसम्म हुने गर्छ ।
एक्सको भ्यालु दिनानुदिन घट्दै गइरहे पनि मस्कले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् । बरु उनले एक्समा सक्रिय प्रयोगकर्ता बढिरहेको रिपोर्ट सार्वजनिक गरेका हुन्छन् । तर, फाइनान्सियल टाइम्सको रिपोर्टले भने अमेरिका र बेलायतमा एक्सका प्रयोगकर्ता घट्दै गएको देखाएको छ ।
एक्सले हालै मात्र सान फ्रान्सिस्कोको मुख्यालय टेक्सासमा सारेको छ ।