close

जुम्ला पुग्यो एनसेलको फोरजी सेवा

टेकपाना टेकपाना

भदौ ४, २०८० १७:२०

जुम्ला पुग्यो एनसेलको फोरजी सेवा

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको छ । यसका लागि एनसेलले जुम्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी कम्पनीले तीनवटा नयाँ टावर जडान गरेको छ । सदरमुकाम खलङ्गामा भने पहिल्यै मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवा विस्तार भएकाे थियाे ।

कम्पनीले यसअघि भी-स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो ।

एनसेलले चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि फोरजी सेवाको पहुँच अर्थात् कभरेज कूल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको जनाएको छ । गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरहरूले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको पुर्‍याएको कम्पनीको भनाइ छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले भने, “हाम्रो ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरहरूसँग उपभोक्ताहरूलाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जाल निर्माणमा केन्द्रित छ । सरकारको डिजिटल नेपाल भिजनमा पनि योगदान गर्दै विकट जिल्ला जुम्लाका जनताका लागि फोरजी सेवा उपलब्ध गराउन पाएकोमा हामी खुसी छौं । हामीले फोरजीलाई उच्च प्राथमिकतामा राखेका छौं, किनभने यो प्रविधिले गुणस्तरीय भ्वाइसका साथै उच्च गतिको मोबाइल ब्रोडब्यान्ड दुवै सेवा उपलब्ध गराउँछ ।”

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३३८ नयाँ साइट स्थापना गरेको थियो ।

त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै एक हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ ।

ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्च गतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरि एनसेलको ४,००० भन्दा बढी फोरजी टावरहरु सञ्चालनमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० १७:४२