close

राजधानीका महँगा स्कुलकलेजकै जस्तो गुणस्तरीय शिक्षा प्रविधिमार्फत सस्तोमा दिने एम्बिसन गुरु

सञ्जीवन राई सञ्जीवन राई

फागुन ७, २०८० १८:२४

राजधानीका महँगा स्कुलकलेजकै जस्तो गुणस्तरीय शिक्षा प्रविधिमार्फत सस्तोमा दिने एम्बिसन गुरु

काठमाडौं । सिक्ने तथा पढ्ने सबै माध्यमको रूपमा करिब दुई वर्ष अघि अर्थात् १८ फागुन २०७८ मात्रै सुरु भएको हो, एम्बिसन गुरु । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त ई-लर्निङ प्लेटफर्मका रूपमा हाल एम्बिसन गुरु नेपाली विद्यार्थीहरूको पहिलो रोजाई बन्ने क्रममा छ । 

विविध फिचर तथा विशेषता थपिंदै गरेको यो प्लेटफर्ममा अहिले नै मासिक एक लाख २० हजार विद्यार्थी अध्ययनरत छन् ।

 

के हो एम्बिसन गुरु ?

एम्बिसन गुरु एउटा डिजिटल शैक्षिक प्लेटफर्म हो । इच्छुक व्यक्ति तथा विद्यार्थीले यसलाई पढ्ने र सिक्ने माध्यमको रूपमा उपयोग गर्न सक्छन् । मोबाइल एप र वेबमा आधारित यो प्लेटफर्मले विद्यार्थीका विभिन्न क्रियाकलापका आधारमा व्यक्तिगत प्राेफाइल तयार पार्छ । 

सोही आधारमा विद्यार्थीको शैक्षिक अवस्था सजिलैसँग थाहा हुन्छ । त्यसपछि सम्बन्धित विद्यार्थीलाई उपयुक्त ढङ्गले पढाइन्छ-सिकाइन्छ । स्कुल-कलेजको पढाई धेरैजसो विद्यार्थीहरूका लागि रहर नभएर बाध्यता जस्तो भइरहेको हुन्छ । तर सिक्ने विषय भने बाध्यता नभएर रहर भइदिन्छ ।

त्यस्तै रहरको सिकाइ बनेर विद्यार्थीलाई उनीहरूको लक्ष्यसम्म पुर्‍याउन सघाउने धेयका साथ यो प्लेटफर्मको नाम एम्बिसन गुरु राखिएको हो ।  


एम्बिसन गुरुको सुरुआत

रमाइलो गर्न होस्, गेम खेल्न होस् अथवा आर्थिक कारोबार नै गर्न किन नहोस्, मानिसहरूल‍े मोबाइल प्रयोग गरिरहेका हुन्छन् । मोबाइल प्रयोग गर्नुको प्रयोजनको सूचि नै तयार पार्ने हो भने निकै लामो बन्न जान्छ । तर शिक्षाका लागि मोबाइल कति जनाले प्रयोग गरिरहेका छन् ? अथवा प्रयोग गरिरहेका भए ती प्लेटफर्म कति उपयोगी छन् ?

यिनै र यस्तै प्रश्नको जवाफ खोज्ने क्रममा एम्बिसन गुरु जन्मिएको कम्पनीकी प्रमुख सूचना अधिकृत साजना तामाङले सुनाइन् ।  “एम्बिसन गुरु अघि शिक्षा सम्बन्धी एउटा साझा प्लेटफर्म थिएन । कसैले लाइभ कक्षा, कसैले भिडिओ कक्षा, त कसैले नोट बनाएर मात्र प्लेटफर्म चलाइरहेका थिए । हामीले भने ती सबै विधि र तौरतरिकालाई एउटै प्लेटफर्ममा समेट्ने गरी एम्बिसन गुरु सुरु गर्‍यौं,” उनले भनिन् ।

अहिले एम्बिसन गुरुले अडिओ, भिडिओ, नोट, लाइभ कक्षा, अन्तरक्रिया, पोडकास्ट सबै प्रकारका शैक्षिक उत्पादन तथा सामग्री तयार पार्ने काम गरिरहेको छ । ती सबै शिक्षासँग मात्र सम्बन्धित  छन् ।

 

एम्बिसन गुरुको लगानी 

एम्बिसन गुरु स्थापना भएयता झन्डै १० करोड रुपैयाँ लगानी भइसकेको कम्पनीका संस्थापकहरू बताउँछन् । यस्तो प्लेटफर्ममा विकास/परिवर्तनका काम गरिरहनु पर्ने, ठूलो जनशक्ति, उच्च स्तरको विज्ञता आवश्यक पर्ने भएकाले लगानी निरन्तर गरिरहनु पर्ने हुन्छ । यस हिसाबले एम्बिसन गुरुमा लगानी थपिने क्रम चलिरहेकै छ । 


एम्बिसन गुरु एउटा निजी कम्पनी हो । यसको भ्यालुएसन यकिन भइसकेको छैन । यद्यपि ५० करोड रुपैयाँ मूल्याङ्कनमा लगानी गर्ने इच्छा कतिपयले व्यक्त गरेको बताइन्छ । त्यसैलाई आधार मानेर भन्नुपर्दा कम्पनीको अहिलेको मूल्य ५० करोड माथि रहेको अनुमान छ । 


 

कम्पनीको वृद्धि

अहिले कम्पनी दोस्रो वर्षमा चलिरहेको छ । यद्यपि पूर्ण रूपमा कम्पनीले काम गर्न थालेको ११ महिना मात्रै भएको छ । यसकारण वार्षिक कारोबारको हिसाबले आफ्नो वृद्धिदर बताउन कम्पनीलाई केही समय लाग्न सक्छ ।  

तथापि कम्पनीका अनुसार अहिले नै वार्षिक एक करोड ६० लाख रुपैयाँको कारोबार भइरहेको छ । तर खर्च भने दुई करोड १० लाख रुपैयाँ रहेको छ । प्रविधि र शैक्षिक सामग्री उत्पादनलाई बढी प्राथमिकता दिंदा यस्तो भएको हो । 

किन भने एम्बिसन गुरुले अझै राम्रोसँग आफ्ना कतिपय कोर्स औपचारिक रूपमा सार्वजनिक गरेको छैन । सँगसँगै कम्पनीको प्रविधि पनि पूर्ण रूपमा विकसित हुने प्रक्रियामै छ । यस प्रकारले पूर्ण प्रविधि र सम्पूर्ण कोर्स बाहिर ल्याएर एक चक्र पूरा भएपछि बल्ल एम्बिसन गुरुको विकास बारेमा भन्न सकिने तामाङको भनाई छ । “यसकारण गत वर्ष र यस वर्षको विकास र वृद्धिलाई खासै तुलना गर्न नमिल्ला,” उनी भन्छिन् ।

यद्यपि प्लेटफर्ममा प्रयोगकर्ता र शैक्षिक सामग्री भने दिनानुदिन बढ्दै गइरहेका छन् । हालसम्म यसमा एक लाख १९ हजार विद्यार्थी जोडिएका छन् भने प्रिमियम प्रयोगकर्ता ३० हजारभन्दा बढी छन् । 

त्यस्तै प्लेटफर्ममा उपलब्ध हुने सामग्रीको हकमा पनि एम्बिसन गुरु हिजोभन्दा आज ठूलो, आजभन्दा भोलि ठूलो हुँदै गइरहेको छ । 

कम्पनीले यसै वर्ष मात्रै आफ्नो मोबाइल एप सार्वजनिक गरेको हो । त्यसमा विभिन्न फिचरहरू थप्ने क्रम बाँकी नै रहेको तामाङले बताइन् । सबै फिचर समावेश भएपश्चात् एम्बिसन गुरु एडटेक (शैक्षिक प्रविधि) सम्बन्धी संसारमा कहिं नभएको एप बन्ने उनको दाबी छ । 

 

अरूभन्दा के-कति फरक छ एम्बिसन गुरु ?

अहिले एम्बिसन गुरुमा पैसा तिरेर र निःशुल्क पढ्ने दुई प्रकारका विद्यार्थी छन् । कम्पनीले पैसा तिरेर पढ्न चाहने विद्यार्थीलाई भने विशेष किसिमका कक्षा र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । आफ्नो प्लेटफर्ममा जोडिएका प्रत्येक प्रिमियम प्रयोगकर्ता विद्यार्थीलाई विशेष ख्याल गर्ने दाबी कम्पनीले गर्दै आएको छ । साथै आफूहरू विद्यार्थीको अपेक्षालाई लिएर निकै लचक रहेको प्रमुख सूचना अधिकृत तामाङ बताउँछिन् । 

“एउटा प्रोटोकल बनाउने अनि सबै विद्यार्थीलाई त्यही प्रयोग गर्न लगाउने तिर अरू लागे । हामी भने एउटा प्रोटोकल बनाएर बजारमा जाऔं, त्यसपछि विद्यार्थीको कुरा सुनौं भन्नेतर्फ लाग्यौं,” उनी अघि भन्छिन्, “अहिले हामी विद्यार्थीको कुरा विशेष प्राथमिकताका साथ सुन्ने गर्छौं । कम्पनीमा कार्यरत कूल कर्मचारीको ४० प्रतिशतको काम नै विद्यार्थीको कुरा सुन्नु हो ।” 

 

कम्पनीको लक्ष्य र उद्देश्य

कम्पनीका अनुसार शिक्षालाई पहुँचयोग्य तथा सर्वसुलभ बनाउनु एम्बिसन गुरुको लक्ष्य हो । यसका लागि आफूहरूले विभिन्न काम गरिरहेको र सक्दो कम मूल्यमा देशमा उपलब्ध मध्येकै सर्वोत्कृष्ट शिक्षा उपलब्ध गराइरहेको एम्बिसन गुरुको दाबी छ। 

देशका धेरै विद्यार्थीले राम्रा शिक्षकहरूसँग पढ्ने मौका पाइरहेका छैनन् । विद्यार्थीको सोही समस्या सम्बोधन गरी गुणस्तरीय शिक्षामा आम विद्यार्थीको पहुँच पुर्‍याउनुलाई नै कम्पनीले आफ्नो उद्देश्य बनाएको छ । राम्रा कलेजहरू महँगा हुने भएकाले गुणस्तरीय शिक्षाबाट कोही पनि बञ्चित नहुन् भनेर शिक्षालाई सर्वसुलभ बनाउन खोजिएको एम्बिसन गुरुले जनाएको छ । 

यसका लागि एम्बिसन गुरुले कोर्सका लागि निकै सस्तो मूल्य राखिएको र सो संसारकै सबैभन्दा कम भएको दाबी समेत गरेको छ । “थाहा भएको आधारमा भन्दा एम्बिसन गुरुले संसारको सबैभन्दा कम मूल्यमा यस्तो सेवा उपलब्ध गराइरहेको छ,” तामाङ भन्छिन्, “भारतमा सबैभन्दा सस्तो कोर्स नै चार हजार भारुबाट सुरु हुन्छ । हामीले त २५०० रुपैयाँमै उपलब्ध गराइरहेका छौं । त्यसमाथि विद्यार्थीले एक पटक शुल्क तिरेपछि परीक्षा नहुञ्जेलसम्म पढ्न पाउँछन् ।” 

अझ गत वर्ष १२ कक्षाका विज्ञान पढ्ने विद्यार्थीहरूलाई त झन् ५०० रुपैयाँमै पूर्ण कोर्स उपलब्ध गराएको उनले सुनाइन् । १२ कक्षाको पढाइ दशैं तिहारपछि मात्र राम्रो हुने भएकाले विद्यार्थीलाई पढ्न अप्ठ्यारो नहोस् भनेर त्यसो गरिएको उनको भनाइ  छ । त्यसबाट दुर्गम र ग्रामीण क्षेत्रकाका विद्यार्थीहरू बढी लाभान्वित भएको कम्पनीको बुझाई छ । 

 

उपलब्ध कोर्स

अहिले कम्पनीले विभिन्न तह र विषय गरी कूल १२ ओटा कोर्स सञ्चालन गरिरहेको छ । आगामी दिनमा स्नातकोत्तर तहसम्मका सम्पूर्ण कोर्स उपलब्ध गराउने योजना कम्पनीले बनाएको छ । अझ शिक्षा सम्बन्धी सम्पूर्ण विषय एपमा समेटिने बताइएको छ । 

एम्बिसन गुरुमा अहिले १०, ११ र १२ कक्षाको विज्ञान र व्यवस्थापन विषय तथा स्नातक तहको व्यवस्थापन संकायका कोर्स उपलब्ध छन् । नयाँ कोर्स थप्ने कार्यमा कम्पनीको भन्दा पनि विद्यार्थीको चाहनालाई प्राथमिकता दिने गरिएको उनले सुनाइन् ।

“गत वर्ष एमबीबीएस पढ्ने विद्यार्थीहरूले प्रवेश परीक्षाको कोर्स चाहिरहेका थिए । लोक सेवा आयोगको परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूले पनि सम्बन्धित विषयको कोर्स अपेक्षा गरेका थिए । हामीले ती दुवै कोर्स प्राथमिकताका साथ उपलब्ध गराएका थियौं,” तामाङ भन्छिन् ।

  • प्लस टु तहमा कक्षा ११ र १२ ।

  • स्नातक तहमा व्यवस्थापन विषय ।

  • लोकसेवाः सङ्घ र प्रदेश सबै तहका तयारी कक्षा ।

  • शिक्षक सेवा आयोग परीक्षाका लागि तयारी कक्षा ।

  • बैंक र संस्थानका लागि लिइने परीक्षाका तयारी कक्षा । 

  • नेपाली र अङ्ग्रेजी दुवै माध्यममा एसईई तयारी कक्षा । 

  • चिकित्सा शास्त्र । 

  • इन्जिनियरिङ ।

  • पारामेडिकल । 

  • नर्सिङ । 

  • आईएलटीएस, कोरियन र जापानी भाषा ।

 

विशेष प्राथमिकतामा शिक्षक 

राम्रा कलेजको सम्पत्ति भनेको भौतिक पूर्वाधारबाहेक फ्याकल्टी (शिक्षक समूह) नै हुन् । हाम्रो शिक्षा प्रणाली गुरुबाट निर्देशित हुने भएकाले निःसन्देह पढाउने कुराले निकै अर्थ राख्छ ।

तर राम्रा र दक्ष शिक्षकहरू काठमाडौं लगायतका सहरमा केन्द्रित छन् । त्यस्ता गुरुहरू मोफसलमा एकदम कम छन् । भए पनि कुनै बाध्यताले गर्दा मात्र गाउँमा बसेका छन् ।

यसको अर्थ जो विद्यार्थी सहर आएर पढिरहेका छन्, उनीहरूले गाउँको भन्दा राम्रो गुरु पाए, गुणस्तरीय शिक्षामा पहुँच पाए । एम्बिसन गुरुले त्यस्तो गुणस्तरीय शिक्षा प्रविधिको माध्यमबाट देशभर फैलाउन खोजेको हो ।

“गाउँको एउटा स्कुलदेखि काठमाडौंको सेन्ट जेभियर र अमेरिकाको हार्वर्ड विश्वविद्यालय सबैमा टेबल बेन्च नै हुन्छन् । शिक्षकले कक्षा कोठामा नै पढाउने गर्छन् । तर कसले कसरी पढाइरहेको छ र विद्यार्थीको पढाइप्रति शिक्षक कत्तिको गम्भीर छन् भन्ने कुरामा मात्रै यी शैक्षिक संस्थाबिच फरक छ,” उनी भन्छिन् ।  

“सरल भाषामा भन्ने हो भने हामीले हार्वर्डको कक्षामा पढाइरहेका शिक्षकलाई प्रविधि प्रयोग गरेर नेपाल ल्याउन खोजेका हौं । सेन्ट जेभियरका कक्षामा राष्ट्रव्यापी बनाउन चाहेका हौं । जम्मा १५० विद्यार्थीले पाइरहेको गुणस्तरीय शिक्षाको पहुँचलाई नेपालभर फैलाउन खोजेका हौं‍,” उनी भन्छिन् ।

यसका लागि कम्पनीले शिक्षकमा विशेष जोड दिने गरेको छ । शिक्षक उत्कृष्ट भएनन् भने प्रविधि राम्रो हुँदैमा पर्याप्त हुँदैन । त्यसैले प्लेटफर्ममार्फत अध्यापन गराउने शिक्षकलाई कम्पनीले विशेष महत्त्व दिएको छ । 

तपाईं चाहे जतिसुकै महँगो क्यामेराले फोटो खिच्नुहोस्, नायक राम्रो छैनन् भने फिल्म चल्दैन । स्क्रिप्ट राम्रो छैन भने  फिल्म चल्दैन । राम्रो चलचित्रका लागि प्रविधि भन्दा पनि स्क्रिप्ट र कलाकार महत्त्वपूर्ण भएजस्तै एम्बिसन गुरुले नेपालकै उत्कृष्ट शिक्षकहरूलाई साथमा लिएको छ । 

एम्बिसन गुरुमा आबद्ध एउटै शिक्षकले एउटा विषयका सबै पाठ एक्लैले पढाउन पाउँदैनन् । त्यस्तै पढाउनु अघि कम्पनी स्वयम्‌ले शिक्षकहरूलाई तालिमको व्यवस्था गरेको छ ।

“वर्षौंदेखि शिक्षण पेशामै आबद्ध भएपनि शिक्षकलाई क्यामेरा अघि कसरी पढाउने भनेर थाहा नहुन सक्छ । कक्षाकोठामा त विद्यार्थीको मनोभाव बुझेर शिक्षकले पढाइरहेको हुन्छन्,” उनी भन्छिन्, “तर क्यामेराले केही देखाउँदैन । यसकारण क्यामेरा अघि पनि कक्षाकोठामा जस्तै कसरी पढाउने भनेर हामी सिकाउँछौं ।”

 

पढाइको माध्यम 

एम्बिसन गुरुमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ । जसअन्तर्गत गणित, विज्ञान जस्ता विषय नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइन्छ । अङ्ग्रेजी विषय अङ्ग्रेजी भाषामै र सामाजिक शास्त्रको पढाइ नेपालीमा हुन्छ । 

यही तरिका स्नातक र स्नातकोत्तर तहमा समेत लागु हुने कम्पनीले जनाएको छ । अहिले एम्बिसन गुरुका लागि थप शैक्षिक सामग्री सिर्जनाको काम धमाधम चलिरहेको छ ।

जसले गर्दा अन्य कोर्स तथा शैक्षिक सामग्री आउन ‍केही समय कुर्नैपर्ने हुन्छ । “कन्टेन्ट क्रियसनको पाटो निकै खर्चिलो काम हो । राम्रो कन्टेन्ट बनाउन महिनौं लाग्न सक्छ । रेकर्ड गरेर मात्र भएन,” तामाङ भन्छिन् । 

 

एम्बिसन गुरु प्लेटफर्मका मुख्य विशेषता

सिकाइ प्रभावकारी होस् भनेर यो प्लेटफर्ममा ‘आस्क’ भन्ने फिचर दिइएको छ । जसको सहयोगमा विद्यार्थीले कुनै पनि शिक्षकलाई प्रश्न सोध्न सक्छन् । लाइभ कक्षा सुरु हुनुअघि र पछि दैनिक अभ्यास परीक्षा (डीपीपी) लिइन्छ । 

यस क्रममा एआई प्रविधिले विद्यार्थीलाई सम्बन्धित विषयको प्रश्न सोध्छ । यसबाहेक साप्ताहिक रूपमा विद्यार्थीको नियमित परीक्षा पनि हुने गर्छ । जसको परीक्षण एआईले नै गर्छ । त्यस अलावा विद्यार्थी स्वयम् आफैंले पनि आफ्नो परीक्षाको परीक्षण गर्न सक्छन् । 

यदि विद्यार्थीले गल्ती गरे अथवा कुनै विषयमा कमजोर देखिए एआईले सम्बन्धित पाठहरू पढ्न सुझाउँछ । प्लेटफर्मले प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई एउटा छुट्‌टै व्यक्तिगत शिक्षकले आफूलाई पढ्न सहयोग गरिरहेको जस्तो महसुस गराउँछ ।

किनभने प्लेटफर्ममा विद्यार्थीले पढ्न पाएका हुन्छन्, नबुझेका कुरा सोध्न पाएका हुन्छन्, गृहकार्य पाइरहेका हुन्छन् । उता गृहकार्य जाँच भइरहेको हुन्छ, सल्लाह सुझाव पनि आइरहेको हुन्छ । तर एम्बिसन गुरुका यस्ता ७० प्रतिशत काम प्रविधिको प्रयोगबाट ‍भइरहेका छन् । 

त्यस्तै लाइभ कक्षा समाप्त भएपछि उक्त कक्षा स्वत: रेकर्डेड भिडिओको रूपमा विद्यार्थीका लागि उपलब्ध हुन्छ । जसलाई अनलाइनको पहुँचमा भएको बखत डाउनलोड गरेर जुनसुकै बेला हेर्न मिल्छ ।

त्यसो हुँदा लाइभ कक्षामा सहभागी हुन नपाएका विद्यार्थी उक्त कक्षा लिनबाट बञ्चित हुँदैनन् । यसबाहेक लाइभ कक्षामा पढाएको विषय बुझिएन भने त्यस्ता विद्यार्थीलाई शिक्षकले थप समय पढाउने गर्छन् । 

प्लेटफर्ममा शिक्षकले तयार पारेका मात्र नभएर उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गरेका विद्यार्थीहरूका नोट समेत राखिएका छन् । जस्तै: गत वर्षको माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको नोट एम्बिसन गुरुमा छ ।

छोटकरीमा भन्नुपर्दा एउटा विद्यार्थीलाई पढ्न चाहिने हरेक स्रोत एम्बिसन गुरुमा राखिएका छन् । एम्बिसन गुरुको अर्को सकारात्मक पाटो भनेको जस्तो सुकै अवस्थामा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

 

गुणस्तरीय सिकाइ सामग्री

सुरुका दिनहरूमा गुणस्तरीय शैक्षिक सामग्रीका लागि एम्बिसन गुरुमा भिडिओहरू एनिमेसन गरिएका हुन्थे । तर अधिकांश विद्यार्थीले त्यस्ता सामग्री नरुचाएपछि उक्त योजनालाई कम्पनीले अहिले थाती राखेको छ । यसको कारण भनेको कम्पनीको सोच र विद्यार्थीले चाहनाबीच भिन्नता देखिनु हो । 

सुरुआती दिनमा एम्बिसन गुरुले हरेक भिडिओ लेक्चरलाई एनिमेसन गरेको थियो । आधा घण्टा लामो त्यस्तो भिडिओ बनाउन झन्डै एक लाख रुपैयाँ जति खर्च हुन्थ्यो ।

तर एनिमेसन गरिएका त्यस्ता पाठ उपलब्ध गराउँदा विद्यार्थीहरूले भने शिक्षकले कालो पाटीमा लेख्ने शैली नै खोजे । त्यसपछि अहिले विद्यार्थीको मागअनुसार नै कम्पनीले लाइभ तथा भिडिओ कक्षा तयार पारिरहेको छ । “यसरी हामी विद्यार्थीको कुरा सुनेर उनीहरूको माग र चाहना अनुरूप काम गरिरहेका छौं,” कम्पनीले भनेको छ । 

यद्यपि त्यसो गर्दा गुणस्तरमा भनै कुनै सम्झौता नगरिएको कम्पनीले स्पष्ट पारेको छ । गुणस्तर निश्चित गर्न कम्पनीले विषय विज्ञको छुट्‌टै टोली नै राखेको छ । सो समूहले कक्षामा पढाउने सामग्रीको गुणस्तर जाँच गर्ने काम गर्छ । त्यस्तै विषयभन्दा पनि कुन पाठमा शिक्षक ढुक्क छन्, त्यो मात्र पढाउन पाउने व्यवस्था कम्पनीले मिलाएको छ । 

 

विद्यार्थीको पढाइमा अभिभावक निगरानी

विद्यार्थी ८/९ कक्षामा (किशोरावस्था) पुगेपछि मात्र पढाइमा अलि गम्भीर हुन थाल्छन् । त्यसभन्दा तलका कक्षामा पढाइप्रति गम्भीर विद्यार्थी निकै कम हुने गर्छन् । त्यसो हुँदा अभिभावक नै गम्भीर हुनपर्ने र उनीहरूको संलग्नता आवश्यक पर्छ । 

त्यसैलाई मध्येनजर गर्दै एम्बिसन गुरुले अभिभावकका लागि पनि ठाउँ तयार पारेको छ । आफ्ना छोराछोरीको थोरै नम्बर आए के कारणले आयो र बढी आए के कारणले आयो भनेर अभिभावकले थाहा पाउनु पर्छ ।

त्यसका लागि एम्बिसन गुरुले विद्यार्थीको सबै रेकर्ड राख्ने गरेको छ । यदि विद्यार्थीले आफूसँग सम्बन्धित डेटा आफ्ना अभिभावकले पनि थाहा पाउन् भन्ने चाहन्छन् भने त्यस्तो सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

अभिभावकले पहुँच पाएपछि आफ्ना बालबालिकाले दिनमा कति घण्टा एप चलाए, कति गृहकार्य गरे, कति लाइभ कक्षामा सहभागी भए जस्ता विवरण एम्बिसन गुरुको मोबाइल एपबाटै हेर्न सक्छन् । कक्षामा कुन विद्यार्थी कति बजे प्रवेश गर्‍यो, कति मिनेटदेखि बसिरहेको छ, उसलाई सोधेका प्रश्नहरूको उत्तर कत्तिको दिइरहेको छ, लगायतका विवरण एपमा रेकर्ड भएर बस्छन् । 

 

एम्बिसन गुरुको प्रतिस्पर्धा 

एम्बिसन गुरुमा पढ्न र पढाउन सकिने भए पनि यो कुनै कलेज वा स्कुल भने होइन । त्यसैले कम्पनी आफूलाई कुनै कलेज वा विद्यालयको प्रतिस्पर्धी ठान्दैन । “विद्यार्थीहरू हामीसँग मात्र आएर हुनेवाला केही छैन ।

विद्यार्थी कुनै न कुनै कलेज वा स्कुलमा भर्ना हुनै पर्छ । यस हिसाले हामी कलेजको प्रतिस्पर्धी होइनौं,” प्रमुख सूचना अधिकारी तामाङ भन्छिन् । 

बरु एम्बिसन गुरु प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई खाली समयमा पढ्न प्रोत्साहित गरिरहने प्लेटफर्म भएको उनको भनाई छ । “विद्यार्थी करिब ५० प्रतिशत समय घरमा र त्यति नै समय कलेज वा स्कुलमा बसिरहेको हुन्छ । घरमा बस्ने ५० प्रतिशत समयमा पढ्न पुनः प्रेरित गरौं भन्ने हाम्रो आशय हो,” उनी अगाडि भन्छिन् ।

त्यस्तै कुनै पनि ट्युसन सेन्टरलाई पनि कम्पनी आफ्नो प्रतिस्पर्धी ठान्दैन । प्रतिस्पर्धी हुन उही प्रकारको व्यापार हुनुपर्ने तामाङको बुझाई छ । 

“एउटा विद्यार्थीले फरक फरक लेखकका किताब किनिरहेको हुन्छ । त्यसलाई ती लेखकबिचको प्रतिस्पर्धा भन्न  मिल्दैन,” उनी भन्छिन्, “हामीले सकेजति राम्रो गर्छौं । विद्यार्थीले मन पराए भने हामीसँग आउने हो । त्यो विद्यार्थीलाई छनौटको कुरा भयो । कलेज त उसको लागि अनिवार्य हुन्छ । हामी त परिपूरक मात्र हौं ।”

यद्यपि हरेक कलेजमा पढ्ने विद्यार्थीहरू एम्बिसन गुरुको सम्भावित ग्राहक हुन् । 

 

शिक्षामा सहकार्य

एम्बिसन गुरु विद्यालय, स्थानीय सरकार वा कुनै पनि सरकारी वा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्न समेत तयार छ । यद्यपि कम्पनी आफैं स्कुल-कलेजमा जाने योजनामा त छैन ।

तर कुनै शिक्षण संस्था सहकार्यका लागि आएको खण्डमा भने आफूहरू तयार रहेको कम्पनीले जनाएको छ । यस्तोमा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्रीको छुट्‌टै प्याकेज बनाएर उपलब्ध गराइनेछ । 

त्यस्तै स्थानीय तहहरूसँग पनि सहकार्य गर्न कम्पनी तयार छ । त्यसो गर्दा सम्बन्धित स्थानीय तहभित्र रहेका सम्पूर्ण विद्यार्थीहरूलाई एम्बिसन गुरुले नि:शुल्क पढाउने छ भने त्यसको भुक्तानी स्थानीय तहले गर्नेछ । एउटा स्थानीय तहमा ठूलो सङ्ख्यामा विद्यार्थी हुने भएकाले यो मोडालिटीमा जाँदा सबै पक्षलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ । ​

 

भावी योजना 

पछिल्लो समयमा विद्यार्थीले मोबाइल चलाउनु नै गलत हो भन्ने धारणा पनि व्याप्त हुँदै गइरहेको छ । परिणाम स्वरूप शिक्षाका लागि मोबाइल फोनले स्थान पाउन सक्ने अवस्था छैन । यो समस्याको समाधान गर्न भविष्यमा आफ्नै अपरेटिङ सिस्टम ल्याउने लक्ष्य समेत एम्बिसन गुरुले बनाएको छ । 

अहिलेको एन्ड्रोइड सिस्टममा कम्पनीले चाहेका कतिपय काम गर्न नमिलेको बताइएको छ । त्यसैले नै आफ्नो छुट्‌टै अपरेटिङ सिस्टम ल्याउनु जरुरी रहेको कम्पनीको भनाइ छ । त्यसपछि मोबाइलको साटो विद्यार्थीले ट्याब्लेटमा पढ्न पाउनेछन् । 

“भविष्यमा एउटा विद्यार्थीले २५ हजारमा एउटा ट्याब्लेट किन्नेछ । तीन वर्ष पढ्यो भने उसले त्यो ट्याब्लेटको पैसा उठाउँछ । तर त्यस ट्याब्लेटमा हाम्रो आफ्नै अपरेटिङ सिस्टम हुन्छ। ट्याब्लेट नियन्त्रण गर्ने पहुँच विद्यार्थीका अभिभावकसँग हुन्छ । अहिले त्यसको अभ्यास ‘प्यारेन्ट्स एप’बाट गर्न खोजिरहेका छौं,” उनी भन्छिन्

कम्पनीले एम्बिसन गुरुलाई पढ्ने र सिक्ने गन्तव्यको रूपमा स्थापित गर्न खोजेको छ । अझ सिक्ने र सिकाउने बीचको सेतुका रूपमा समेत काम गर्न चाहेको उनी सुनाउँछिन् । 

“अहिले हामी आफैंले मेहेनत गरेर शैक्षिक सामग्री बनाइरहेका छौं । भोलिको दिनमा यदि कोही सिकाउन चाहन्छन् भने उनीहरूलाई पनि हाम्रो प्लेटफर्ममा ठाउँ दिन चाहन्छौं,” उनी भन्छिन्, “युट्युबमा जसले पनि भिडिओ हाल्न सक्छन् । भविष्यमा हामी त्यही मोडलमा जान्छौं ।”

अहिले तत्कालै उक्त मोडेलमा जाँदा ‘कन्टेन्ट फिल्टर’ गर्न नसकिने र त्यसको असर ‘ब्रान्ड भ्यालु’मा पर्नसक्ने जोखिम छ ।  त्यसकारण भविष्यमा आवश्यक क्षमता तयार भएपछि युट्युबको जस्तो मोडालिटीमा जाने कम्पनीको योजना छ । यद्यपि एम्बिसनको पहिचान गुरु धेरै सामग्रीका लागि भन्दा पनि गुणस्तरीय सामग्रीका लागि हुने बताइएको छ । 

यति मात्र नभएर कम्पनीले एम्बिसन गुरुलाई विश्व बजारमा विस्तार गर्ने महत्त्वाकाङ्‌क्षा समेत राखेको छ । अहिलेका ई-लर्निङ प्लेटफर्टमा भएका समस्या र अभावलाई मेट्ने गरी एम्बिसन गुरुलाई विदेशी मुलुकमा फैलाउने कम्पनीले जनाएको छ ।

“भिडिओ, अडिओ, लाइभ कक्षा आदि सबै पाटो समेट्ने र कस्टमरको केयरसहित कोही आउन सकेको छैन । त्यसका पछाडि आआफ्नै समस्या छन्," तामाङ अगाडि भन्छिन् ।

“अमेरिकामा कस्टमर सपोर्टका लागि ४५ जना कर्मचारी राखेर एम्बिसन गुरु चलाएको भए हामीलाई नेपालको तुलनामा दश गुणा बढी आर्थिक भार पर्ने थियो । तर कम विकसित देशका कर्मचारी राख्दा आर्थिक भार निकै कम पर्न जान्छ । त्यो हाम्रो लागि एउटा अवसर पनि हो ।”

“रोबोटले पढाउँदैमा विद्यार्थीले सबै जान्दछ भन्ने हुँदैन । कोर्सेराको कोर्स किनेपछि नपढेसम्म काम छैन । यसकारण कोर्स लिनुको उद्देश्य के हो ? कोर्स अध्ययनपछि उद्देश्य पूरा भयो वा भएन ? भन्नेसम्म विद्यार्थीलाई सोध्ने गरी विश्वबजारमा जान खोजिरहेका छौं ।”

 

शब्द चित्रमा एम्बिसन गुरु 

कम्पनीको नामः एम्बिसन गुरु नेपाल प्रा.लि. 

स्थापना: १८ फाल्गुन २०७८ (March 2nd 2022)

सुरुवाती लगानी: ६ करोड 

हालसम्मको लगानी: १२ करोड

वार्षिक कारोबार: एक करोड ६० लाख ।

कम्पनीको मूल्यः अनुमानित ५० करोड

कर्मचारी सङ्ख्या: दुई सयभन्दा बढी

मुख्य उत्पादन: एम्बिसन गुरु मोबाइल र वेब एप 

ग्राहक सङ्ख्या: एक लाख २० हजार बढी

सम्पर्क: ०१-५९७०२९५

वेबसाइटः ambition.guru

मोबाइल एपः एन्ड्रोइडआईओएस

ईमेल: [email protected]

फेसबुक पेज:  Ambition Guru, Ambition Guru- Loksewa Tayari, Ambition Guru- Entrance preparation, Ambition Guru - EPS KOREA

पछिल्लो अध्यावधिक: फागुन ८, २०८० १३:२७