close

ईभीका लागि देशभर सुपर फास्टसहित ५०० चार्जिङ स्टेसन राख्ने तयारीमा विद्युत् प्राधिकरण

टेकपाना टेकपाना

चैत १३, २०८० १३:२४

ईभीका लागि देशभर सुपर फास्टसहित ५०० चार्जिङ स्टेसन राख्ने तयारीमा विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभर ५०० ओटा चार्जिङ स्टेसन राख्ने तयारी थालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टेकपानासँगको सङ्क्षिप्त कुराकानीमा यसका लागि अध्ययन प्रतिवेदन समेत तयार भइसकेको जानकारी दिए । 

“देशभरका रुटमा राख्ने भनेका छौं, स्थान पनि पहिचन भइसकेका छन्,” उनले भने, “अहिलेसम्म लगानी कसरी जुटाउने भन्नेमा गृहकार्य भइरहेको छ । चार्जिङ स्टेसन राख्ने सन्दर्भमा सकेसम्म निजी क्षेत्रलाई नै प्रोत्साहन गरेर अगाडि जानुपर्छ भन्नेमा छौं । निजी क्षेत्रले बनाउने ठाउँमा प्राधिकरणले सकेसम्म आफ्ना चार्जिङ सेसन नराख्ने गरी अगाडि बढ्न खोजिएको छ ।”

५०० ओटा चार्जिङ स्टेसन राख्ने भनिए पनि त्यो प्रारम्भिक छलफलकै क्रममा रहेको घिसिङले बताए । “सकेसम्म यी चार्जिङ स्टेसन राख्नका लागि निजी क्षेत्र नै आओस् भन्ने चाहाना हो । प्राधिकरणले नै बनाउनु पर्ने सवालमा त्यसको स्रोत सुनिश्चितता कसरी गर्न सकिन्छ भन्नेमा पनि छलफलमै छौं । यस दौरान केही स्थानमा सुपर फास्ट चार्जर राख्ने कि भन्ने पनि छ । त्यो भनेको अहिले सञ्चालनमा आएका चार्जरभन्दा पनि फास्ट हुन्छ,” उनले भने । 

५०० ओटा चार्जिङ स्टेसनका लागि दुई अर्ब लगानी आवश्यक पर्ने बताइएको छ । यसका लागि चीन सरकारबाट अनुदान प्राप्त हुने सम्भावना रहेको सङ्केत समेत घिसिङले दिए । उनले भने, “अनुदान अहिलेसम्म आइसकेको छैन, भोलि के हुन्छ, हेरौं ।”

विद्युतीय सवारी साधन बिक्री गरिरहेका कम्पनीहरूलाई समेत चार्जिङ स्टेसन निर्माणका लागि मौखिक आग्रह गरिएको जानकारी कार्यकारी निर्देशक घिसिङले दिए । उनले अगाडि भने, “सँगसँगै अहिले हामी चार्जिङ स्टेसन निर्माण र सञ्चालनका लागि नीतिगत व्यवस्थाको तयारीमा समेत जुटेका छौं ।”

 

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १३:२४