close

प्रतिबन्ध लाग्दा पनि नेपालमा कसरी फैलिँदै छ वनएक्स बेटको जालो ?

हिक्मत आचार्य हिक्मत आचार्य

चैत १३, २०८० १८:५२

प्रतिबन्ध लाग्दा पनि नेपालमा कसरी फैलिँदै छ वनएक्स बेटको जालो ?

काठमाडौं । नेपालमा प्रतिबन्धित अवैध सट्टेबाजी प्लेटफर्म वनएक्स बेट भित्रभित्रै सञ्चालनमा रहेको पाइएको छ । कानूनी छिद्रको आडमा वनएक्स बेटले प्रचार गर्नेदेखि अवैध रूपमा कारोबार गरिरहेको पाइएको हो । 

यसो त नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गएकाे वर्ष नेपालमा बेटिङ साइटमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको थियो । त्यसयता प्रमुख मानिएका बेटिङ साइट नेपालमा ब्लक छन् । अर्थात् सामान्य ब्राउजरबाट वनएक्स बेटको आधिकारिक साइट खोल्न सकिंदैन ।

त्यसको विकल्पमा प्रयोगकर्ताले डीएनएस (डोमेन नेम सिस्टम) मोडिफाई गरेर तथा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर यो प्लेटफर्म प्रयोग गरिरहेका छन् । यी तरिकाबारे थाहा नभएका प्रयोगकर्ताका लागि कम्पनीले छुट्टै डोमेन नेम पनि तयार पारेको छ । 

वनएक्स बेटले नेपालमा गैरकानूनी रूपमा आफ्नो धन्धा चलाउन विभिन्न प्रपञ्च गरिरहेको छ ।

वनएक्स बेट र वनएक्स ब्याट 

वनएक्स बेट (1xBet) र वनएक्स ब्याट (1xBat) को भिन्नता खोज्ने हो भने शब्दमा अङ्ग्रेजी अक्षर ‘ए’ र ‘ई’को मात्र भिन्नता छ । वनएक्स बेटले कहीँ पनि आफूलाई वनएक्स बेटको कम्पनी भएको खुलाएको छैन ।

त्यसको सट्टा कम्पनीले वनएक्स बेटलाई खेलकूद सम्बन्धी सूचना दिने समाचार माध्यम भनेको छ । तर, वनएक्स ब्याट वनएक्स बेटकै सहायक कम्पनी भएको र प्रतिबन्धित देशमा कम्पनीले सेरोगेट एड्भर्टाइजिङ गरिरहेको पुष्टि हुने थुप्रै प्रमाण छन् ।

 

गुगलमा वनएक्स ब्याट (1xBat) सर्च गर्ने हो भने अहिले पनि सुरुमा न्युज पोर्टलको लिङ्क देखिन्छ । त्यसपछि भने अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटकै लिङ्कहरू देखिन्छन् ।

त्यस्तै वनएक्स बेट स्पोर्टिङकै साइटमा जाने हो भने त्यहाँ वनएक्स बेटको ब्यानर राखिएको छ । त्यस ब्यानरबाट सहजै बेटिङ साइटमा पुग्न सकिन्छ । हेर्नुहोस् आर्काइभ लिङ्क

यद्यपि कम्पनीले ब्यानर भने समय समयमा परिवर्तन गरिरहेको हुन्छ । 

 



प्रचारमा नेपाली युट्युबर

यसअघि अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म ‘वनएक्स बेट’को प्रचार गरेको आरोपमा गत ३१ जेठमा आठ जना युट्युबर पक्राउ परेका थिए । सट्टेबाजी गर्न वा गराउन नहुने कसूरमा पक्राउ परेका ती युट्युबर झन्डै एक महिनापछि धरौतीमा छुटेका थिए ।

त्यतिबेला कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु पौडेल) तथा बेगम नेपाली (भट्भटे माइला) , युट्युबर पवन खतिवडा (म्याकुरी), एलिश राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेंडु बुढो) र भ्लगर राजकुमार थापा मगर छुटेका थिए । उनीहरूबाहेक अवैध अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार गर्ने केही युट्युबर भने फरार थिए । 

अहिले पनि पवल खतिवडा, जलन घर्तीमगर, कुशल पोखरेल, प्रिदेव जोशी, राज कुमार थापा मगर लगायतका युट्युबरले उक्त प्लेटफर्मको प्रचार गरेका छन् । 

वनएक्स ब्याटको प्रचार भएको टेलिसिरियल राष्ट्रिय टेलिभिजनमा प्रसारित 

वनएक्स बेटको प्रचार गरिएको टेलिसिरियल राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजनमा प्रसारित हुँदै आएको छ । भिडिओको बीचमा ‘नेपालमा भइरहेको अथवा पहिले भएको विभिन्न स्पोर्ट्स म्याच जस्तै टी-२० लगायतका अन्य म्याचहरू र विभिन्न अन्तर्राष्ट्रिय म्याचहरूमा वनएक्स ब्याट प्रमुख स्पोन्सरका रूपमा रहेको छ,” भनिएको छ ।

डिस्क्रिप्सनमा रहेको लिङ्क र प्रोमोकोड प्रयोग गरी प्रयोगकर्ताले विभिन्न गिफ्ट पाउन सकिने भनिएको छ । उक्त प्रोमोकोड अन्त कहीँ नभई वनएक्स बेटको अकाउन्ट बनाउने क्रममा काम लाग्छ । 

नेपालमा सञ्चालन गर्न छुट्टै डोमेन नेम !

वनएक्स बेटको प्रमुख साइटमाथि प्रतिबन्ध लागेको भए पनि कम्पनीले अनलाइन सट्टेबाजीका लागि (1xbetnp.com) नामको नोमेन नेम उपलब्ध गराएको छ । सो वेबसाइटभित्र सामाजिक सञ्जालका लिङ्क पनि राखिएका छन् । जहाँ नेपालका लागि खोलिएको फेसबुक पेजइन्स्टाग्राम अकाउन्टको लिङ्क राखिएको छ । 

 उक्त फेसबुक पेज र इन्स्टाग्राम अकाउन्टमा विभिन्न देशमा भइरहेका खेलहरूको जानकारी राखिएको छ । त्यस्तै ती पोस्टबाट भनिएको समयमा सट्टेबाजीमा रकम राख्न सुझाव दिइएको छ ।

रकम जम्मा गर्न ईसेवा, खल्ती र कनेक्ट आईपीएस समावेश

वनएक्स बेटमा रकम जम्मा गर्नका लागि कम्पनीले विभिन्न माध्यमहरू उपलब्ध गराएको छ । डिपोजिट सेक्सनमा वालेट, डिजिटल वालेट र इजी ट्रान्सफर नाम राखेर ईसेवा, खल्ती र कनेक्ट आईपीएसको आइकन राखिएको छ ।

अहिलेलाई खल्तीको विकल्प बन्द गरिएको छ । त्यहाँ उपलब्ध गराइएका मध्ये कुनै एक माध्यममा क्लिक गर्दा कसरी रकम जम्मा गर्ने भन्ने सिकाइएको छ । त्यसमा डिजिटल वालेट प्रयोगकर्ताको नाम र उसको नम्बर राखिएको हुन्छ । 

प्रयोगकर्ताले उक्त नम्बर कपी गरेर ईसेवामार्फत रकम पठाएर पुनः त्यही पेजमा आई ट्रान्जेक्सन कोड राख्नुपर्ने हुन्छ । त्यसरी कोड राखिसकेपछि रकम डिपोजिट हुने भनिएको छ । वालेटमा कम्पनीले एक हजारभन्दा बढी डिपोजिट गर्न सुझाव दिएको छ । डिपोजिट गर्न सिकाउने छुट्टै भिडिओ पनि राखिएको छ । 

२० लाख बढी भिजिटर छन् वनएक्स बेटको नेपाली साइटमा 

सिमिलर साइटका अनुसार वनएक्स बेटको नेपाली साइट (1xbetnp.com) साइट मासिक २० लाख बढी प्रयोगकर्ताले भिजिट गरेका छन् ।

जसमा प्रयोगकर्ताले औसत दुई ओटाभन्दा बढी पेज भिजिट गर्ने गरेका छन् भने दुई मिनेट ४९ सेकेन्ड बिताउने गरेका छन् ।

 

 

विश्वव्यापी रूपमा ३५ हजार ९२७ नम्बरमा रहेको याे वेबसाइट नेपालमा भने शीर्ष २६औं स्थानमा छ । सिमिलर साइट्समा ९९.५२ प्रतिशत ट्राफिक नेपालबाट आउने र बाँकी बेलायत, भियतनाम, अमेरिका र म्यानमारबाट आउने देखाइएको छ । अर्थात् २० लाख बढी ट्राफिक नै यो साइटमा नेपालका रहेका छन् । 


 

ग्राहक सेवा

वनएक्स बेटमा नेपाली प्रयोगकर्ताका लागि नेपाली ग्राहक प्रतिनिधि नै राखिएको छ । त्यसका लागि कम्पनीले भीओआईपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) माध्यम प्रयोग गरेको छ । यसमा कम्पनीले डिजिटल रूपमा उपलब्ध हुने फोन नम्बर खरिद गर्छ र त्यही नम्बरको प्रयोग गरी नेपाली ग्राहकसँग सम्पर्क गर्छ ।

यस्तो हुँदा उक्त फोन नम्बर कसले खरिद गरेको छ भन्ने पहिचान गर्न सकिँदैन । यदि वनएक्स बेटबाट आफूले ग्राहक प्रतिनिधिसँग कुरा गर्ने भन्ने अप्सन छानियो भने उनीहरूसँग सहजै सम्पर्क गरेर कुराकानी गर्न सकिन्छ । 

अवैध प्लेटफर्ममा नेपाली युवा 

आकर्षक ढङ्गले गरिएका विज्ञापनले युवाहरूलाई यस प्लेटफर्मतर्फ लम्काएको देखिन्छ । युट्युबरले बारम्बार आफूले गरेको विज्ञापन वनएक्स बेट होइन ब्याट हो भन्नुले पनि सर्वसाधारण प्रयोगकर्तालाई त्यसबारे उत्सुक बनाएको बुझ्न सकिन्छ । त्यसबाहेक थर्ड पार्टी एड्समार्फत पनि कम्पनीले नेपाली क्षेत्रमा आफ्नो व्यापक प्रचार बढाएको छ ।

विशेषगरी अश्लील साइट, ब्लगिङ प्लेटफर्म आदिमा कम्पनीले आफ्नो प्रचार गरेको छ । कतिपय फेसबुक पेज सञ्चालकले वेबसाइट बनाउने र त्यसमा बढी रिच ल्याउने उद्देश्यले भ्रामक तथा तोडमोड गरिएका शीर्षक राखेर पाठकलाई भ्रममा पार्छन् । पाठकले ती सामग्री पढ्न खोज्दा त्यसमा देखिने विज्ञापनले प्रयोगकर्तालाई यस्ता अवैध सट्टेबाजी प्लेटफर्ममा पुर्‍याउँछ । 

यसरी भिजिटर ल्याउन सक्ने भएपछि कम्पनीले नेपालका लागि छुट्टै डोमेन दर्ता गरेर सञ्चालन गरेको देखिन्छ । 

के भन्छ प्रहरी ?

यसअघि प्रचार गर्ने युट्युबरलाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सट्टावाजी गर्न वा गराउन नहुने कसुरमा अनुसन्धान अगाडि बढाएको थियो । झन्डै २८ दिन कारागारमा बसेपछि उनीहरूलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले धरौटीमा छोड्ने आदेश दिएको थियो । 

‍पक्राउ परेका अधिकांश युट्युबर नै नयाँ ढङ्गले वनएक्स बेटको प्रचारमा संलग्न छन् । “हामी यस विषयमा पहिले अनुसन्धान गर्छौं र दोषी देखिए कानूनी दायरामा ल्याउँछौं,” एसएसपी सोमेन्द्र राठौरले बताए ।

कानूनी व्यवस्था

नेपालमा जुवा प्रतिबन्धित छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐनका अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ । 

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ, “कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।” 

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । 

त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ । 

तर, कानूनी छिद्रको फाइदा उठाउँदै प्रतिबन्धित सट्टेबाजीको ‘सरोगेट एडभर्टाइजिङ’ भइरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८० १३:३५