close

फोटोकै भरमा भिडियो बनाइदिने माइक्रोसफ्टको नयाँ एआई टूल

टेकपाना टेकपाना

बैशाख १०, २०८१ १७:३८

फोटोकै भरमा भिडियो बनाइदिने माइक्रोसफ्टको नयाँ एआई टूल

 

काठमाडौं । माइक्रोसफ्टले फोटोका आधारमा वास्तविक जस्तै देखिने गरी भिडियो बनाइदिने  एआई टुल सार्वजनिक गरेको छ । माइक्रोसफ्ट रिसर्च एसियाले फोटोको भरमा भिडिओ बनाउन सक्ने भासा वान (VASA-1) नामक एआई टूल सार्वजनिक गरेको हो ।

यो टूलले कुनै पनि व्यक्तिको फोटो/चित्र र अडिओ फाइलका आधारमा भिडिओ बनाउन सक्छ । त्यसरी बन्ने भिडिओमा उपलब्ध गराइएको अडिओको आधारमा विभिन्न खालका भावहरू समेत देखाउन सक्छ । 

माइक्रोसफ्टका अनुसन्धानकर्ताले उक्त एआई टूलले बनाएका विभिन्न भिडिओहरू आफ्नो परियोजनाको वेबसाइटमा राखेका छन्, जहाँ हामीले टुलको नतिजा देख्न सक्छौं । यो टुलले फोटोको आधारमा बनाएका केही भिडियो हेर्दा यो वास्तविक रुपमा खिचेको भिडियो जस्तै देखिन्छ । 

एआईले बनाउने भिडिओमा ओठ र टाउकोको चाल भने अझैं पनि मजाले मिलेको देखिँदैन । यसका साथै कतिपय अवस्थामा अडिओसँग सिन्क नभएको पनि देखिन्छ । 

यस टूललाई गलत प्रयोजनका लागि प्रयोग हुन सक्ने भएकाले खतरा पनि उत्तिकै छ । 

यसैकारण यस टुलको अनलाइन डेमो, एपीआई, प्रोडक्ट केही पनि सार्वजनिक रूपमा उपलब्ध नगराउने माइक्रोसफ्टले जनाएको छ । यदि टूल उपलब्ध गराउन परे केही मापदण्ड अथवा सुरक्षा विषयलाई ध्यान दिएर मात्र सार्वजनिक गर्ने बताइएको छ ।

दुरुपयोगको सम्भावना बाहेक यस टूल निकै उपयोगी हुने अनुसन्धानकर्ताको भनाइ छ । यस टूलबाट शैक्षिक गतिविधि गर्न मिल्ने तथा सञ्चारका लागि उपयोगी हुने उनीहरूले बताएका छन् । युट्युबबाट निकालिएका ६ हजार ११२ सेलिब्रेटी सम्बन्धी दश लाख बढी भिडिओ सामग्रीको आधारमा यो टूल विकास गरिएको हो । 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १७:३८