close

समाजमा भ्रम फैलाउन डिपफेक प्रविधिको प्रयोग बढ्दै, सचेत रहन प्रहरीको आग्रह

टेकपाना टेकपाना

भदौ २, २०८१ १८:५९

समाजमा भ्रम फैलाउन डिपफेक प्रविधिको प्रयोग बढ्दै, सचेत रहन प्रहरीको आग्रह

काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिपफेक प्रविधिमार्फत हुने दुरुपयोगका घटना बढ्न थालेका छन् । समाजमा गलत सूचना दिन तथा कसैको चरित्रहत्या गर्न यस्ता प्रविधिको दुरुपयोग भइरहेको हो ।

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार डिपफेकको प्रयोगबाट कपोकल्पित र भ्रामक विषयमा अडियो-भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेको छ । प्रविधिको दुरुपयोग र यसबाट सिर्जित घटनाहरूको बारेमा ब्युरोमा उजुरी बढी आउने गरेको भन्दै उनले अनलाइन प्रयोगमा सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको डिपफेक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको घटनाले यो समस्या झनै गम्भीर भएको देखाउँछ ।

टिकटकर, सेलिब्रेटी लगायतका व्यक्तिहरू यस्ता घटनाबाट अझ बढी पीडित छन् । टिकटकबाट चिनिएकी अनु परियार यसबाट लामो समयदेखि पीडित छन् ।

डिपफेकमार्फत अनुको अनुहार अन्य व्यक्तिको शरीरमा जोडी अश्लील हाउभाउका भिडिओ बनेको देखिन्छ । यसका लागि उनकै नाममा फेक अकाउन्ट बनाई डिपफेक भिडिओ अपलोड हुने गरेका छन् ।

अनुले एक पोस्टमार्फत आफ्नो नाम र अनुहार दुरुपयोग गरी सामग्री बनेको भन्दै यसबाट नझुक्किन आग्रह समेत गरेकी छन् ।

समाजमा चर्चित व्यक्तिहरूका अनुहार अन्य व्यक्तिहरूसँग जोडी भिडिओ बन्दा धेरै प्रयोगकर्ता भ्रमित समेत बन्ने गरेका छन् । त्यस्ता सामग्रीमा हत्तपत्त विश्वास गरी प्रयोगकर्ताले अपमानजनक कमेन्ट गर्दा पीडित थप मर्कामा परेका छन् ।

यस किसिमको प्रवृत्तिलाई नियन्त्रण गर्न सचेतना अभियानहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको प्रहरी उपरीक्षक अवस्थीले बताए । साथै, प्रविधि दुरुपयोग गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीमार्फत नियन्त्रणमा लिन ब्युरो सजग रहेको समेत उनले सुनाए ।

यसैबीच, एक विज्ञप्ति जारी गर्दै ब्युरोले भ्रामक सामग्री निर्माण नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा भ्रामक सामग्री प्रसारण गर्दा सामाजिक, पारिवारिक तथा राजनीतिक चरित्र हत्या हुने भन्दै यस प्रकारका गतिविधि नगर्न/नगराउन ब्युरोले अनुरोध गरेको छ । यस्ता काम गरेको पाइएमा त्यसको जवाफदेही स्वयम् आफैँ हुनुपर्ने भन्दै कानुनी झन्झटमा पर्नबाट जोगिन ब्युरोले सुझाव दिएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ६, २०८१ १२:४९