close

रङ नम्बरमा कल गर्दा झर्केर बोलेको भन्दै ट्रु कलरमा खोजेर गालीगलौज, पक्राउ गरी साइबरको मुद्दा

टेकपाना टेकपाना

साउन १०, २०८३ १२:४८

रङ नम्बरमा कल गर्दा झर्केर बोलेको भन्दै ट्रु कलरमा खोजेर गालीगलौज, पक्राउ गरी साइबरको मुद्दा

काठमाडौं । रङ नम्बर (गलत नम्बर) मा फोन गर्दा उताबाट झर्केर बोलेको झोंकमा ट्रु कलर एपबाट नाम पत्ता लगाई ह्वाट्सएप मार्फत अश्लील गालीगलौज र मानसिक यातना दिएको आरोपमा एक युवकविरुद्ध मुद्दा दायर भएको छ । सप्तरीको सप्तकोशी-४, तुलसी चोक बस्ने २९ वर्षीय तुलस खत्रीविरुद्ध सुनसरी जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको हो ।

प्रहरीको साइबर ब्युरोमा परेको जाहेरीका आधारमा सरकारी वकिलकव कार्यालयले दायर गरेको अभियोग पत्रमा प्रतिवादी खत्रीले पीडित महिलालाई गम्भीर मानसिक यातना दिनुका साथै सामाजिक प्रतिष्ठामा आँच पुऱ्याएको दाबी गरिएको छ । पीडितको गोपनीयता संरक्षणका लागि प्रहरीले उनलाई ‘साइबर ब्युरो ८५ (२०८२/०८३)’ को साङ्केतिक नाम दिएको छ ।

यो विवादको सुरुवात एउटा आकस्मिक फोन कलबाट भएको थियो । प्रतिवादी तुलस खत्रीले दिएको बयान अनुसार उनले आफ्नो मोबाइलबाट पीडितको मोबाइल नम्बरमा पहिलो पटक फोन गरेका थिए । पीडितले फोन उठाएर 'हेलो' भनेपछि तुलसले 'को बोल्नुभएको हो ?' भनेर सोधे । अपरिचित नम्बरबाट फोन आएका कारण महिलाले 'को बोल्नुभएको हो ? किन फोन गर्नु भएको ? नचिनेको मान्छेलाई फोन गरेर किन डिस्टर्ब गर्नु भएको ?' भन्दै फोन काटिदिइन् ।

आफूसँग झर्केर बोलेको र फोन काटेको झोंकमा तुलसले तत्कालै उक्त नम्बर ट्रु कलर एपमा सर्च गरेर ती महिलाको वास्तविक नाम र थर पत्ता लगाए । त्यसपछि उनले ह्वाट्सएपमा 'Hi' लेखेर मेसेज पठाए । महिलाले ह्वाट्सएप कल गरेर 'को हो ? किन कल गरेको ?' भनेर सोधिन् । जवाफमा तुलसले 'मैले कल गर्दा के भो त ?' भन्दै प्रतिवाद गरे । महिलाले पुनः रुखो स्वरमा 'मलाई हैरानी नगर' भन्दै फोन राखिन् ।

त्यसपछि आक्रोशित बनेका तुलसले महिलाको ह्वाट्सएपमा निकै अमर्यादित, अश्लील र धम्कीपूर्ण मेसेजहरू पठाउन सुरु गरे । यस क्रममा उनले अत्यन्त तल्लो स्तरका गालीगलौज पूर्ण मेसेज पठाएको अभियोग पत्रमा उल्लेख छ ।

ब्लक गरेपछि अन्य नम्बरबाट हैरानी

पीडितले तुलसको नम्बर ब्लक गरेपछि पनि यो क्रम रोकिएन । तुलसले अन्य विभिन्न नेपाली तथा विदेशी नम्बरहरूबाट पीडितको ह्वाट्सएपमा निरन्तर अश्लील सन्देशहरू पठाएर मानसिक यातना दिने र चरित्र हत्या गर्ने कार्य जारी राखे । त्यसपछि पीडितले आफ्नो सुरक्षा र प्रतिष्ठामा गम्भीर आँच पुगेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिइन् ।

ेकप्रहरी हिरासतमा रहेका प्रतिवादी तुलस खत्रीले बयानका क्रममा आफूले ट्रु कलर मार्फत नाम पत्ता लगाएको र ह्वाट्सएपमा गालीगलौज गरेको स्वीकारेका छन् । तर, उनले यसमा एउटा नयाँ प्रसङ्ग पनि थपेका छन् ।

तुलसको बयान अनुसार, पीडितले आफ्नो नम्बर ब्लक गरेपछि उनलाई अर्को अपरिचित मोबाइल नम्बर ९८४०४०७६६६ बाट बबिन भण्डारी नाम गरेका पुरुषले फोन गरी 'तँ को होस् ? किन अरूलाई फोन गरेर हैरान गर्छस् ?' भन्दै धम्क्याएका थिए । त्यसपछि उनीहरूबिच ह्वाट्सएपमा 'ओई' भन्दै भनाभन र गालीगलौज भएको थियो ।

तुलसले दाबी गरेका छन्, "जाहेरवालाले जाहेरी साथ पेस गरेका कतिपय अश्लील स्क्रिनशट वास्तवमा बबिन भण्डारीसँगको संवादका हुन्, मैले सिधै जाहेरवाला महिलालाई ती शब्द प्रयोग गरेको थिइनँ । तर बबिनसँगको विवादको क्रममा आवेशमा आई मैले अश्लील शब्दहरू प्रयोग गरेको हुँ, मबाट गल्ती भयो ।"

यद्यपि, अनुसन्धान र अभियोग पत्रले तुलसले ती अश्लील मेसेज पीडित महिलालाई नै लक्षित गरी पठाएको र उनको सामाजिक प्रतिष्ठामा धक्का पुर्‍याएको ठहर गरेको छ ।

प्रहरीले अभियुक्त तुलस खत्रीलाई गएको १९ असारका दिन इनरुवा बसपार्कबाट नियन्त्रणमा लिएको थियो । उनको साथबाट अपराधमा प्रयोग भएका सिम कार्डसहितको एउटा कालो रङ्गको रेड्मी मोबाइल फोन बरामद गरिएको छ ।

बरामद गरिएको उक्त मोबाइल र सिम कार्डहरू थप प्राविधिक पुस्ट्याइँका लागि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गतको डिजिटल फरेन्सिक ल्याब पठाइएको छ । अनुसन्धानका क्रममा लिइएको कल डिटेल रेकर्ड र आई-टु एनालिस्ट चार्टलाई पनि बलियो प्राविधिक सबुतका रूपमा अदालतमा पेस गरिएको छ ।

के होला कारबाही ?

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमको हस्ताक्षरमा दायर अभियोग पत्रमा प्रतिवादी तुलस खत्रीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुर प्रमाणित भएको उल्लेख छ । सरकारी पक्षले अदालत समक्ष कसुरदारलाई १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरेको छ ।

अपराधमा प्रयोग भएको रेड्मी मोबाइल र दुईवटा सिम कार्डहरू ऐनको दफा ५६ बमोजिम जफत गर्न र पीडितलाई उचित क्षतिपूर्ति दिलाउन समेत मागदाबी गरिएको छ ।

अब अदालतमा प्रतिवादीको थुनछेक बहस सुरु हुनेछ । डिजिटल फरेन्सिक ल्याबबाट आउने विस्तृत रिपोर्टलाई पनि थप प्रमाणको रूपमा अदालतमा पेस गरिनेछ ।

यद्यपि यो घटनाले प्रविधिको दुरुपयोग गरी कसरी एउटा सामान्य विवादलाई पनि गम्भीर साइबर अपराधमा परिणत गर्न सकिन्छ भन्ने कुरा सतहमा ल्याइदिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८३ १२:४८