काठमाडौं । नेपाली आईटी तथा फिनटेक सेवाप्रदायक टेकरिडा इन्क (Techrida Inc.) ले सिङ्गापुरमा आधारित वित्तीय अपराध रोकथाम (एएमएल/सीएफटी) मा विशेषज्ञता राख्ने जेफोर्थ सोलुसन (JFourth Solutions)सँग साझेदारी गरेको छ । नेपालमा फिनटेक क्षेत्रको वित्तीय अपराध कम गर्न हालै यी कम्पनीबीच साझेदारी भएको हो ।
साझेदारी अनुसार नेपालको फिनटेक क्षेत्रमा मनी लाउन्ड्रिङ, आतंकवादको वित्त पोषणजस्ता अपराधलाई रोक्न वित्तीय संस्थाहरूलाई आवश्यक उपकरण र तालिम प्रदान गरिने छ ।
नेपालको फिनटेक उद्योगमा दिगोपन र स्थिरता सुनिश्चित गर्न यो सहकार्य महत्त्वपूर्ण कदमका रूपमा स्थापित हुने टेकरिडाका संस्थापक राजेन्द्र श्रेष्ठले बताए । गत वर्षमात्रै काठमाडौं उपत्यकामा ५,३१२ बैंकिङ ठगी र वित्तीय अपराधका घटना रिपोर्ट भएका कारण फिनटेक क्षेत्रलाई थप सुरक्षित बनाउन यस्तो कदम अपरिहार्य रहेको उनले उल्लेख गरे ।
त्यस्तै जेफोर्थका प्रमुख परामर्शदाता जुलिया चिनले एसिया र ओसिनियाका वित्तीय संस्थाहरूलाई जोखिम न्यूनीकरणमा मद्दत गर्ने योजना अन्तर्गत नेपाली कम्पनी टेकरिडासँग सहकार्य गरिएको बताए ।
यस साझेदारी अन्तर्गत टेकरिडाले नेपालका वित्तीय संस्थाहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न अत्याधुनिक प्रविधि विकास गर्नेछ । त्यस्तै, जेफोर्थले वित्तीय संस्थाहरूलाई जोखिम व्यवस्थापन र नियमनको पालना गर्न तालिम कार्यक्रमहरू उपलब्ध गराउनेछ ।