विन्डोज ११ को एउटै फाइलले ५०० जीबीसम्म स्टोरेज खाइदिने, तपाईंको कम्प्युटरमा पनि यस्तै त छैन ?
असार २४, २०८३ १७:४०
काठमाडौं । तपाईंको विन्डोज ११ कम्प्युटरमा धेरै फाइल वा एप नहुँदा पनि स्टोरेज सकिएको मेसेज देखिएको छ ? यदि छ भने यसको कारण माइक्रोसफ्टको एउटा बगसँग सम्बन्धित हुन सक्छ ।
माइक्रोसफ्टका अनुसार विन्डोज ११ मा देखा परेको एउटा ‘सिस्टम बग’ अर्थात सिस्टममा भएको कमजोरीका कारण प्रयोगकर्ताले यो समस्या भोगिरहेका छन् । यो समस्या विन्डोजको ‘एप पर्मिसन’सँग सम्बन्धित ‘क्यापाबिलिटी एक्सेस म्यानेजर’ नामको सेवासँग जोडिएको छ । यसले मुख्य रूपमा क्यामेरा, माइक्रोफोन, लोकेसन र स्क्रिन क्याप्चर जस्ता फिचरको गोपनीयता र ‘लग रेकर्ड’ राख्ने काम गर्छ ।
सामान्यतया केही एमबी मात्र हुनुपर्ने
‘CapabilityAccessManager.db-wal’ नामक फाइल यो बगका कारण कतिपय कम्प्युटरमा अत्यधिक ठुलो भई सयौँ जीबीसम्म पुग्ने गरेको पाइएको छ । केही अवस्थामा यसले कम्प्युटरको सम्पूर्ण ड्राइभ नै भर्ने र यसले गर्दा कम्प्युटर स्लो हुने गरेको प्रयोगकर्ताको गुनासो छ ।

अपरेटिङ सिस्टमले ‘एक्सेस रिक्वेस्ट’ वा अन्य ‘प्राइभेसी कन्ट्रोल’का लागि बारम्बार एउटै विवरण रेकर्ड गरिरहने भएकाले यो फाइलको आकार अनियन्त्रित रूपमा बढेको साइबर न्युजले उल्लेख गरेको छ । सामाजिक सञ्जाल रेडिटमा एक प्रयोगकर्ताले आफ्नो कम्प्युटरको ‘सी ड्राइभ’मा अचानक स्पेस सकिएको र ‘ट्रीसाइज’ नामक डिस्क स्पेस ट्र्याकर प्रयोग गरेर हेर्दा उक्त फाइलले ५०० जीबीसम्म ओगटेको फेला पारेको उल्लेख गरेका छन् ।
‘विन्डोज लेटेस्ट’का अनुसार सुरक्षित तरिकाले यसको समाधान चाहने प्रयोगकर्ताले जुलाई २०२६ को ‘प्याच ट्युस्डे’ अपडेट पर्खिन सक्छन् । यस अपडेटले स्वचालित रूपमा यो समस्या समाधान गरिदिने बताइएको छ । माइक्रोसफ्टले भने यसबारे धेरै प्रचार नगरी काम अघि बढाएको छ ।
तपाईंको पनि कम्प्युटरमा विन्डोज ११ छ र अप्रत्याशित रूपमा स्टोरेज भरिएको छ भने यो बगले हो वा होइन भन्ने जाँच्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले सेटिङ्समा जानुहोस् । अनि, त्यहाँ देखिएको सिस्टमको अप्सनबाट स्टोरेजमा जानुहोस् । यदि त्यसमा सिस्टम एन्ड रिजर्भ्डको अपसनमा देखिएको छ र त्यसले बढी स्टोरेज खपत गरेको देखाएको छ भने उक्त बग हुन सक्छ । खासगरी यस्तो फाइल ७० जीबी, ११० जीबी, २०० जीबी वा ५१२ जीबीको छ भने यसको कारण त्यही बग हो भन्ने बुझ्नुपर्छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८३ १७:४०
