close

२ लाख लिङ्क बन्द गर्दा पनि रोकिएन बेटिङ धन्दा, उल्टै एआई सिर्जित प्रहरीको भिडिओमार्फत विज्ञापन प्रचार

टेकपाना टेकपाना

असार २७, २०८३ १५:३९

२ लाख लिङ्क बन्द गर्दा पनि रोकिएन बेटिङ धन्दा, उल्टै एआई सिर्जित प्रहरीको भिडिओमार्फत विज्ञापन प्रचार

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नेपाल प्रहरीको पोसाक र लोगो दुरुपयोग गरी अनलाइन सट्टेबाजी (बेटिङ) को भ्रामक प्रचार भइरहेको पाइएको छ । नेपालमा अनलाइन सट्टेबाजी पूर्णतः गैरकानुनी रहेको अवस्थामा कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीकै नाम र पहिचान प्रयोग गरेर अवैध कार्यको विज्ञापन भएको हो ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी निर्माण गरिएको करिब ३० सेकेन्डको उक्त भिडिओ विज्ञापनमा प्रहरीको पोसाक लगाएका एक व्यक्तिले सर्वसाधारणलाई चेतावनी दिइरहेको देखिन्छ । भिडिओको सुरुमा ती व्यक्तिले भन्छन्, ‘तपाईंहरू सबैलाई पक्राउ गर्नुपर्छ, किनभने तपाईंहरू नक्कली प्लेटफर्म प्रयोग गर्दै हुनुहुन्छ ।’

त्यसपछि अन्य बेटिङ साइटको आलोचना गर्दै उनले एउटा निश्चित प्लेटफर्मको नाम लिएर त्यसलाई भरपर्दो र वास्तविक भनी दाबी गर्छन् । विज्ञापनमा ती पात्रले आफूले पनि सोही प्लेटफर्म प्रयोग गरेर प्रशस्त आम्दानी गरिरहेको र यो नेपालमा कानुनी रूपमा वैध रहेको भ्रामक जानकारी दिन्छन् । जबकि, नेपालको कानुनले कुनै पनि प्रकारका अनलाइन जुवा वा बेटिङ प्लेटफर्मलाई अनुमति दिएको छैन ।

यो भिडिओलाई हालसम्म लाखौं प्रयोगकर्ताले हेरिसकेका छन् भने १६ हजारभन्दा बढीले रियाक्सन दिएका छन् । भिडिओमा ७५० भन्दा बढी कमेन्ट आएका छन् । केही सचेत प्रयोगकर्ताले यो एआई सिर्जित नक्कली भिडिओ (डिपफेक) भएको पहिचान गरे पनि अधिकांशले यसलाई सत्य मानेर विश्वास गरेको देखिन्छ ।

उक्त प्लेटफर्मले आफूलाई नेपालको आधिकारिक गेम साइटका रूपमा चिनाउँदै नेपाली भाषामै विभिन्न सामग्रीहरू पोस्ट गरिरहेको छ । हाल फिफा विश्वकप २०२६ को छनोट चरणका खेलहरू भइरहेको सन्दर्भमा नेपाली युवाहरूलाई जुवाको लतमा फसाउन र प्रभावित पार्न प्रहरीको लोगो र पोसाकको सहारा लिइएको देखिन्छ ।

वर्तमान सरकारले आफ्नो १०० दिने कार्ययोजनामा बेटिङ प्लेटफर्महरूलाई २४ घण्टाभित्र प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सोही अनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूसँगको समन्वयमा बेटिङ साइटहरू धमाधम ब्लक गरिरहेको छ । सरकारले हालसम्म दुई लाखभन्दा बढी यस्ता लिङ्कहरू बन्द गराएको दाबी गरे पनि यस्ता भ्रामक विज्ञापन र केही प्लेटफर्महरू भने अझै निर्वाध चलिरहेका छन् ।
 

पछिल्लो अध्यावधिक: असार २७, २०८३ १६:१२