काठमाडौं । गुगल प्ले स्टोरमा एकै पटक तीन ओटासम्म एप/गेम इन्स्टल तथा अपडेट गर्न सकिने भएको छ । केही समयअघिसम्म परीक्षणमै रहेको यो फिचर हालै प्रयोगकर्ताका लागि उपलब्ध भएको हो ।
यदि तपाईंसँग तीनभन्दा बढी पेन्डिङ अपडेटहरू छन् भने 'Update all' मा ट्याप गर्नुहोस् । यसपछि प्ले स्टोरले एकैपटक तीन ओटासम्म एप्स वा गेम्सका अपडेटहरू डाउनलोड तथा इन्स्टल गर्न सुरु गर्नेछ ।
एन्ड्रोइड पुलिसका अनुसार यो फिचर सन् २०१९ देखि गत मार्चसम्ममा नै परीक्षणमा थियो । गुगलले प्रयोगकर्ताहरूलाई एकैपटक धेरै एप अपडेट गर्न दिनुलाई सकारात्मक कदमका रूपमा लिइएको छ । यो फिचरले प्रयोगकर्ताको समय बचत हुने बताइएको छ ।
गुगलले भने यसबारे अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । यसका साथै यो फिचर कुनकुन मोडलका डिभाइसले सपोर्ट गर्छ भनेर पनि खुलाएको छैन । हाललाई यो फिचर तपाईंको डिभाइसमा सपोर्ट गर्छ, गर्दैन भनेर थाहा पाउन प्ले स्टोरमा आफैं परीक्षण गर्नुपर्ने हुन्छ ।