अर्जेन्टिना र इजिप्ट बिचको खेलको भीएआर विवादमा अन्तर्राष्ट्रिय मिडियाले के लेखे ?
असार २४, २०८३ १४:५७
काठमाडौं । २०२६ फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत एटलान्टामा भएको अर्जेन्टिना र इजिप्ट बिचको खेल मैदानभित्रको रोमाञ्चकताका लागि मात्र होइन, मैदान बाहिर उत्पन्न भएको एउटा ठुलो विवादका कारण इतिहासमा लेखिने निश्चित भएको छ ।
साविक विजेता अर्जेन्टिनाले २-० को स्थितिबाट पुनरागमन गर्दै ३-२ को जित त निकाल्यो, तर भिडिओ असिस्टेन्ट रेफ्री (VAR) को हस्तक्षेप र रेफ्री फ्रान्कोइस लेटेक्सियरका कतिपय निर्णयहरूले विश्वभरका सञ्चारमाध्यममा एउटा नयाँ बहस सुरु गरिदिएका छन् ।
के यो खेल अर्जेन्टिना र लियोनेल मेस्सीलाई अगाडि बढाउन निश्चित (Fixed) गरिएको थियो ? वा यो फुटबलमा हुने सामान्य प्राविधिक गल्ती मात्र थियो ? विश्वका प्रमुख सञ्चारमाध्यमहरूले आफ्नै शैली र दृष्टिकोणमा यसको विश्लेषण गरेका छन् ।
फुटबलको जननी मानिने बेलायतका सञ्चारमाध्यमहरू यस विवादमा सबैभन्दा बढी मुखर देखिएका छन् । बीबीसी स्पोर्टले खेलको गहिरो विश्लेषण गर्दै इजिप्टको पीडालाई 'अन्याय' को संज्ञा दिएको छ । बीबीसीका फुटबल विश्लेषक डेल जोन्सनले रेफ्रीको निर्णयमा एकरूपता नभएको तर्क गरेका छन् ।
उनले लेखेका छन्, “यस प्रतियोगितामा रेफ्रीहरूलाई खेलको गति बढाउन सामान्य शारीरिक सम्पर्क (यौन सम्पर्क होइन) लाई अनुमति दिन भनिएको थियो । तर इजिप्टका मुस्ताफा जिकोको गोल रद्द गर्दा निकै पहिले भएको सानो सम्पर्कलाई आधार मानियो, जुन यो विश्वकपको रेफ्रीङ मापदण्डभन्दा बिल्कुल फरक थियो ।” बीबीसीले यसलाई ‘एउटा सपनाको अन्त्य र भीएआरको कालो छाया’ भनेर टिप्पणी गरेको छ ।
त्यस्तै, बेलायतको अर्को प्रतिष्ठित पत्रिका द गार्डियनका संवाददाता एड आरोन्सले एटलान्टा स्टेडियमबाट रिपोर्टिङ गर्दै अर्जेन्टिनाको पुनरागमनलाई 'महान् बचाउ' भने पनि इजिप्टमाथि भएको 'अन्याय' लाई लुकाउन नसकिने बताएका छन् ।
गार्डियनले लेखेको छ, "जब इजिप्ट २-० को अग्रता लिन सफल भएको थियो, तब भीएआरले खेलको ३० सेकेन्ड अघिको घटनालाई खोजेर गोल रद्द गरिदियो । यो हस्तक्षेपले खेलको आत्मा नै मारेको देखिन्थ्यो ।"
फक्स स्पोर्ट्सले विश्लेषक रब ग्रिनलाई उद्धृत गर्दै भीएआरको अधिकार क्षेत्रमाथि नै प्रश्न उठाएको छ । ग्रिनले फक्स स्पोर्ट्समा भनेका छन्, "पिचको अर्को छेउमा, गोल हुनुभन्दा १०० यार्ड टाढा भएको सामान्य फाउल हेर्नका लागि भीएआर ल्याइएको होइन । यो प्रविधिको शक्तिको दुरुपयोग हो ।" फक्स स्पोर्ट्सले आफ्नो समाचारमा 'के यो कप अर्जेन्टिनाका लागि मात्रै हो ?' भन्ने प्रश्नसमेत उठाएको छ ।
लोकप्रिय बेलायती अखबार द सन र डेली मिररले भने समर्थकहरूको आक्रोशलाई प्राथमिकता दिएका छन् । द सनले लेखेको छ, "इजिप्टका प्रशिक्षक होसाम हस्सान र खेलाडीहरूले यो खेल 'फिक्स्ड' भएको दाबी गरेका छन् । भीएआरले इजिप्टको गोल रद्द गर्नु र अन्तिम समयमा इजिप्टले पाउनुपर्ने पेनाल्टी नदिनुले अर्जेन्टिनालाई काखा र अरूलाई पाखा गरिएको स्पष्ट देखिन्छ ।"
डेली मिररले सामाजिक सञ्जाल एक्समा आएका हजारौं प्रतिक्रियाहरूलाई समेट्दै लेखेको छ, "फ्यानहरू आक्रोशित छन्, उनीहरू भन्छन्-फिफाले मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न यो सबै नाटक गरेको हो ।"
आयोजक राष्ट्र अमेरिकाका मिडियाहरूले पनि यस विवादलाई निकै महत्त्वका साथ कभर गरेका छन् । फक्स स्पोर्ट्सले आफ्ना नियम विश्लेषक र पूर्व फिफा रेफ्री मार्क क्ल्याटनबर्गको भनाइलाई प्रमुखताका साथ छापेको छ ।
क्ल्याटनबर्गले भनेका छन्, "मेरो विचारमा त्यो फाउल नै थिएन । भीएआरले इजिप्टको गोल रद्द गर्नका लागि जबरजस्ती गल्ती खोजेको देखियो । अर्जेन्टिनाले यसबाट विल्कुलै अनुचित फाइदा उठाएको छ ।"
अर्कोतर्फ, याहु स्पोर्ट्सले अर्जेन्टिनाको जितलाई 'विवादास्पद पुनरागमन' भन्दै लेखेको छ, "फुटबलमा प्रविधि न्यायका लागि ल्याइएको थियो, तर मङ्गलबारको खेलमा यो विवादको मुख्य कारक बन्यो । अर्जेन्टिनाले खेल जित्यो, तर इजिप्टले विश्वभरको सहानुभूति र सम्मान जित्यो ।"
यूएसए टुडेले इजिप्टका प्रशिक्षक हस्सानको भनाइ उद्धृत गर्दै फुटबलमा 'नैतिकता र निष्पक्षता' को खडेरी परेको टिप्पणी गरेको छ ।
भारतको चर्चित सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले यस घटनालाई कतार विश्वकप २०२२ सँग जोडेर विश्लेषण गरेको छ । उसले 'मेस्सीको अर्जेन्टिनाका लागि एउटा नियम र बाँकीका लागि अर्को नियम ?' शीर्षकमा लामो लेख प्रकाशित गरेको छ ।
हिन्दुस्तान टाइम्सले लेखेको छ, "भीएआरको प्रयोगमा अर्जेन्टिना सधैं भाग्यमानी देखिँदै आएको छ । कतारमा पनि यस्तै भएको थियो र अहिले अमेरिकामा पनि त्यही दोहोरिएको छ । इजिप्टका मरुवान अतियाले गरेको फाउल र अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले गरेको फाउलमा रेफ्रीले दोहोरो मापदण्ड अपनाए ।"
द टाइम्स अफ इन्डियाले भने फिफा अध्यक्ष जियानी इन्फान्टिनोको एउटा भाइरल फोटोको बारेमा चर्चा गरेको छ, जसमा उनी अर्जेन्टिना पछि पर्दा चिन्तित देखिएको दाबी गरिएको थियो । टाइम्स अफ इन्डियाले लेखेको छ, "मैदानमा भएका निर्णयहरूले फिफा र अर्जेन्टिना बिचको सम्बन्धका बारेमा नयाँ षड्यन्त्रका कथाहरू जन्माइदिएका छन् ।"
इन्डोनेसियाको टेम्पोले भीएआर प्रोटोकलको व्याख्या गर्दै लेखेको छ कि नियम अनुसार रेफ्रीले गोल हुनुअघिको आक्रमणकारी टोलीको गल्ती हेर्न त पाउँछन्, तर यो कति टाढासम्मको हेर्ने भन्नेमा विवाद छ ।
कतार स्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यस खेललाई विश्वकपको 'वैधता' माथि उठेको प्रश्नको रूपमा व्याख्या गरेको छ । अल जजिराले खेलकुद विज्ञ साइमन च्याडविकलाई उद्धृत गर्दै लेखेको छ, "राजनीति र खेलकुद अब अलग रहेनन् । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेई र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबिचको सम्बन्धदेखि लिएर इजिप्टका प्रशिक्षकले प्यालेस्टाइनका लागि गरेको समर्थनसम्मका कुराले कतै न कतै रेफ्रीको मनोविज्ञानमा प्रभाव पारेको हुन सक्छ ।"
नाइजेरियाको लेजिट न्युज र अफ्रिका सकरले अफ्रिकी महादेशको तर्फबाट इजिप्टमाथि भएको अन्यायको विरुद्धमा आवाज उठाएका छन् । लेजिट न्युजले इजिप्ट फुटबल सङ्घले फिफामा औपचारिक उजुरी गरेको उल्लेख गरेको छ । अफ्रिकी फुटबल महासङ्घ (CAF) ले इजिप्टको प्रदर्शनको तारिफ गरे पनि रेफ्रीको निर्णयले पुरै अफ्रिकालाई स्तब्ध बनाएको खबरमा लेखिएको छ ।
…………..
अर्जेन्टिना र इजिप्टबीचको खेल विवादमा परेपछि खेल जगतका हस्तीहरूले पनि प्रतिक्रिया दिएका छन् । उनीहरुका टिप्पणीले पनि सामाजिक सञ्जालमा बहस तात्तिएका छन् ।
चेस लेजेन्ड ग्यारी कास्पारोभले एक्समा लेखेका छन्, "इजिप्टको गोल रद्द भयो तर त्यस्तै अवस्थामा अर्जेन्टिनालाई फाइदा पुग्यो । फिफा एउटा भ्रष्ट मजाक जस्तो देखिन थालेको छ, जहाँ केवल स्टारहरूको पक्षपोषण गरिन्छ ।"
इंग्ल्याण्डका पूर्व कप्तान तथा प्रिमियर लिग इतिहासकै सर्वाधिक सफल स्ट्राइकर एलन सियररले पनि भीएआरको एकरूपतामाथि प्रश्न उठाउँदै लेखेका छन्, "कि त दुवै फाउल हुनुपर्थ्यो, कि दुवै हुनुहुँदैन थ्यो । भीएआरले खेललाई पुन: रेफ्रिङ गर्न खोज्नु गलत हो ।"
लिभरपुलका पूर्व खेलाडी जेमी क्याराघेरले पनि इजिप्टलाई 'लुटिएको' बताएका छन् ।
क्रिकेट स्टार कार्लोस ब्राथवेटले त यसलाई डकैती भनेका छन् । उनको भनाई छ, "यो त प्रत्यक्ष डकैती हो, म आउने पुस्तालाई यो कसरी बुझाउँ ?"
यसै विषयमा सामाजिक सञ्चालमा RiggedWorldCup र JusticeForEgypt जस्ता ह्याशट्यागहरू ट्रेन्डिङमा रहेका छन् । धेरै प्रयोगकर्ताहरूले मेस्सीको सफलताका लागि फिफाले 'स्क्रिप्ट' लेखेको आरोप लगाएका छन् ।यदि इजिप्टको ठाउँमा अर्जेन्टिना भएको भए त्यो गोल कहिल्यै रद्द हुने थिएन भन्ने पनि उल्लेख गरेका छन् ।
अर्का प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, "भीएआर अझै पछाडि गएको भए राजा तुतानखामुनको समयको फाउल पनि भेट्टाउने थियो होला ।"
अन्तर्राष्ट्रिय मिडियाको कभरेजलाई हेर्दा के प्रस्ट हुन्छ भने अर्जेन्टिनाले क्वाटरफाइनलको टिकट त काट्यो, तर उसले आफ्नो जितको नैतिक आधार भने गुमाएको छ । अधिकांश मिडियाको निष्कर्ष यो छ कि भीएआर प्रविधि फुटबलमा स्पष्टता ल्याउन बनाइएको भए पनि यसको प्रयोग अहिले सेलेक्टिभ (छनोटपूर्ण) र विवादास्पद बन्दै गएको छ ।
इजिप्टका लागि यो हार केवल एउटा खेलको अन्त्य मात्र थिएन, बरु अन्तर्राष्ट्रिय फुटबल प्रणालीमा साना टोलीहरूले भोग्नुपर्ने भेदभावको एउटा ज्वलन्त उदाहरण बनेको छ । अर्जेन्टिना अब स्विट्जरल्याण्डसँगको खेलका लागि अगाडि बढ्दै गर्दा, यो विवादको छायाले उसलाई प्रतियोगिताको अन्त्यसम्म पछ्याइरहने निश्चित छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८३ १६:३५
