काठमाडौं । शनिबार विश्वभरका फेसबुक प्रयोगकर्ताले एकाएक लोगो परिवर्तन भएको देखे । वर्षौंदेखि कायम भएको फेसबुकको नीलो लोगो परिवर्तन भएर कालो देखियो । यसअघि नीलो ब्याकग्राउन्डमा सेतो ‘एफ’ अक्षर रहेकोमा शनिबार उक्त लोगो परिवर्तन भएर कालो ब्याकग्राउन्डमा निलो ‘एफ’को आइकन देखियो ।
एकाएक लोगो परिवर्तन भएपछि कतिपयले फेसबुक रिब्रान्डिङमा जान लागेको आँकलन गरे । मेटासँग यस विषयमा कुरा गर्दा रिब्रान्डिङभन्दा पनि उक्त प्लेटफर्ममा आएको ग्लिच (समस्या) हो भन्ने पुष्टि भएको बिजनेस इन्साइडरले जनाएकाे छ ।
“यो प्राविधिक कारणले गर्दा देखिएको समस्या हो । अहिले समस्या समाधान भइसक्यो । नयाँ अपडेटमा यो समस्या समाधान भएको देख्न सकिन्छ,” मेटाका प्रवक्ताले बिजनेस इन्साइडरलाई भने ।
सबै प्रयोगकर्ताले कालो लोगो भने देख्न पाएनन् । केही समयमै समस्या समाधान भएकाले पछि पुरानै लोगो आइकनका रूपमा देखिन थाल्यो । यदि तपाईंकोमा पनि कालो लोगो देखिएको छ भने एप अपडेट गरेर पुरानै लोगो राख्न सक्नुहुन्छ ।