सुकुना माविका छात्राहरूलाई गृहमन्त्री गुरुङको आश्वासन: ‘नडराउनुहोस्, सरकार तपाईंहरूको साथमा छ’
साउन ५, २०८३ १५:८
काठमाडौं । कक्षा ११ र १२ मा पढ्ने छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा मोरङको सुकुना माविका तीन जना कर्मचारी पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले सरकार विद्यार्थीहरूको साथमा रहेको बताएका छन् । फेसबुक र इन्स्टाग्राममा स्टोरी राख्दै उनले अन्य विद्यार्थी पीडित भएको भए आवाज उठाउन आग्रह समेत गरेका छन् ।
उनले उक्त विद्यालयमा अन्य विद्यार्थी समेत पीडित भएमा नजिकैको प्रहरी चौकीमा जान सुझाव गरेका हुन् । विद्यार्थीहरूको साथमा सरकार रहेको भन्दै उनले आफूमाथि भएको दुर्व्यवहारका घटना बाहिर ल्याउन भनेका हुन् ।
उनले लेखेका छन्, “सुकुना विद्यालयका कर्मचारी प्रदीप भट्टराई, किशोरलाल गच्छदार र अविरल मास्के पक्राउ परिसकेका छन् । यदि तपाईंपनि यस विद्यालयको पीडित हुनुहुन्छ भने कृपया प्रमाणसहित नजिकको प्रहरी चौकीमा जानुहोस् । नडराउनुहोस्, तपाईंको सरकार तपाईंको साथमा छ ।”
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं १० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले आइतबारदेखि सामाजिक सञ्जालमा आफूहरूमाथि दुर्व्यवहार गर्ने शिक्षकहरूलाई एक्स्पोज गर्ने ‘ट्रेन्ड’ सुरु गरेका थिए । विद्यालयमा पढेका छात्रामाथि भएको दुर्व्यवहारको बारेमा ‘S/K/N Confession & Meme’ नामको पेजबाट ‘हिडन भोइस’ नामको सिरिज चलाएर शिक्षकहरूको दुर्व्यवहार एक्स्पोज भइरहेका हो ।
पेजले शिक्षकहरूलाई एक्स्पोज गर्न थालेपछि आरोपी शिक्षकहरू मध्ये अविरल मास्के र किशोरलाल गच्छदार र विद्यालयका बस चालक प्रदीप भट्टराई पक्राउ परेका छन् । यता, सुकुना माविले लेखा अधिकृत तथा शिक्षक मास्के, बस चालक भट्टराई र अर्का शिक्षक भीमप्रसाद नेपाललाई निलम्बन गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ १५:९
