close

च्याटजीपीटीमा तपाईँले खोजे जस्तो उत्तर आएन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ २२, २०८१ १९:८

च्याटजीपीटीमा तपाईँले खोजे जस्तो उत्तर आएन ? यसो गर्नुहोस्

काठमाडौं । विश्वभर तहल्का मच्चाउनेगरी सार्वजनिक भएको एआई टुल हो, च्याटजीपीटी । यस टुलले धेरैलाई धेरै काम गर्न सरल र सजिलो बनाएको छ । यसबाट कुनै पनि लेखको सारांश निकाल्न, कुनै योजनाको खाका बनाउने, कविता/कथा लेख्न, चित्र बनाउन जस्ता काम गर्न सकिन्छ । तर अझै पनि तपाईंले सोचेजस्तो उत्तर आइरहेको छैन भने तलका तरिका अपनाउन सक्नुहुन्छ:

एआईलाई व्यक्ति मानेर कुराकानी गर्नुहोस्

च्याटजीपीटीसँग काम गर्न तपाईंले प्रोग्राम गर्नुपर्दैन । सामान्यत: अरूसँग कुरा गरेजस्तो यससँग पनि कुरा गर्नुहोस् । यसको नाम तपाईं आफैंले राख्न सक्नुहुन्छ । साथी, सहकर्मी मानेर कुरा गर्न सक्नुहुन्छ । यसरी कुरा गर्दा तपाईंलाई अप्ठ्यारो पनि हुनेछैन । अनि एआईसँग होइन कि कुनै जान्ने साथीसँग कुरा गरिरहेको जस्तो तपाईंलाई लाग्न सक्छ ।

यसो गर्दा सुरुमै एआईले तपाईंको कुरा नबुझ्न सक्छ । तपाईंले थप जानकारी दिनुपर्ने हुन्छ । त्यसपछि भने तपाईंले दिएको जानकारी र एआईले दिएको उत्तरका आधारमा जटिल प्रश्न पनि सोध्न सक्नुहुन्छ ।

यस खालको कुराकानीलाई ‘इन्टरएक्टिभ प्रोम्प्टिङ’ पनि भनिन्छ । यसमा एआईलाई धेरै चरणमा प्रश्न सोध्न हिच्किचाउनुहुन्न । लगातार उही विषयमा थुप्रै पटक प्रश्न गर्दा तपाईंको सोचेको नतिजा आउन सक्छ ।

सन्दर्भ बनाएर पर्याप्त विवरण दिनु

च्याटजीपीटीलाई दिइने निर्देशन (प्रम्प्ट) केवल एक वाक्यको मात्र हुन्छ भनेर सोच्नु हुँदैन। तपाईंले सन्दर्भ बनाएर जति धेरै जानकारी र विवरण दिनुहुन्छ, त्यति नै राम्रो उत्तर पाउन सक्नुहुन्छ ।

यसो गर्दा धेरै वाक्यहरू लेखेर एकैपटकमा प्रश्न सोध्नुहोस् । किनकि तपाईंले सोचेको सन्दर्भ अर्कै हुन सक्छ, एआईले सोचेको अर्कै हुन सक्छ । तर तपाईंले सोचिरहेको सन्दर्भ उल्लेख गरेर सम्बन्धित प्रश्न सोध्नुभयो भने पक्कै चाहेजस्तो उत्तर पाउन सक्नुहुन्छ ।

एआईलाई व्यक्तित्व दिनुहोस्

हामीले माथिल्ला अनुच्छेदहरूमा एआईलाई नाम दिने र पर्याप्त सन्दर्भ/जानकारी दिने बारे कुरा गर्यौं । अब एआईलाई कुनै व्यक्तित्व (Personality) दिनुहोस् । यसले कुनै पनि व्यक्ति अथवा पेशाको नजरबाट लेख्न सक्छ । उदाहरणका लागि, च्याटजीपीटीलाई डाक्टर बनाउँदा यसले डाक्टरको नजरबाट लेख्न सक्छ । कहिलेकाहीँ तपाईंले लेख्ने प्रम्प्टमा सामान्य परिमार्जन गर्दा पनि एआईले दिने नतिजामा ठूलो फरक आउन सक्छ ।

एआईलाई ट्रयाकमा राख्नु

जवाफ दिने क्रममा च्याटजीपीटीले कहिल्यै विषयभन्दा बाहिरको कुरा गर्न सक्छ । त्यस्तो अवस्थामा तपाईंले पूरक प्रश्न गरेर एआईलाई विषयमा फर्काउन सक्नुहुन्छ । मानौं, तपाईंले चाहेको जवाफ अर्कै थियो । तर एआईले केही गलत उत्तर दियो भने तपाईंले ‘तिमीलाई किन यस्तो लाग्छ ?’ वा ‘यही हो र ?’ जस्ता प्रश्न गर्न सक्नुहुन्छ ।

सम्झनुहोस् के भने तपाईं र साथी छलफलमा हुँदा पनि केही अघिको कुराभन्दा बाहिर जान सकिन्छ । अनि कोही एकले ‘अघिल्लो कुरा के थियो?’ भनेर भन्न सक्छ । त्यस्तै एआईलाई पनि विषयमा फर्काउनु पर्छ । अथवा तपाईंले प्रम्प्ट पुन: पढ्न भनिदिन सक्नुहुन्छ ।

यहाँ तल छोटकरीमा प्रम्प्टबारे थप टिप्स दिइएका छन्:

  • फेरि प्रश्न सोध्न नछोड्नुहोस् । किनकि प्रायः हरेक पटक सोध्दा एआईले फरक जवाफ दिन सक्छ ।

  • अझ राम्रो उत्तर पाउन आफ्नो प्रश्नमा साना परिवर्तनहरू गर्नुहोस् ।

  • कुराकानीको पेज खुला रहुञ्जेल च्याटजीपीटीले पहिलेका कुराकानी सम्झने गर्छ । तर त्यो पेज छोड्दा ती सबै कुराकानी पनि एआईले बिर्सन्छ । कहिलेकाहीं च्याटजीपीटीले कुराकानीको थ्रेड्स त्यतिकै छाड्न सक्छ ।

  • कतिपय अवस्थामा ५०० शब्दभन्दा लामो उत्तर दिँदा एआई अलमलिन सक्छ । त्यसैले आफूलाई कति लामो उत्तर चाहिन्छ, त्यो निश्चित गर्नुहोस् ।

  • एआईले दिएको उत्तर गलत लागेमा तपाईंले त्यसलाई स्पष्ट गर्न र सुधार गर्न सक्नुहुन्छ ।

  • यदि च्याटजीपीटीले तपाईंको प्रश्नको जवाफ दिन चाहेन भने पुन: सोध्नुहोस् । (कम्युनिटी गाइडलाइन्स अनुसारका प्रश्नहरू मात्र)

  • यदि तपाईंले आफ्नो लेखमा स्रोतहरू उद्धृत गर्न चाहनु भएको छ भने च्याटजीपीटीलाई जवाफलाई प्रमाणित गर्न लगाउनुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ २२, २०८१ १९:८