close

डलरमा ३ करोड ८ लाख बराबर घुस लिने टेलिकमका पूर्मएमडी पौडेललाई ८.५ वर्ष कैद, १.५ करोड जरिबाना

टेकपाना टेकपाना

असार ३२, २०८३ १६:४०

डलरमा ३ करोड ८ लाख बराबर घुस लिने टेलिकमका पूर्मएमडी पौडेललाई ८.५ वर्ष कैद, १.५ करोड जरिबाना

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का पूर्वकार्यकारी निर्देशक एवम् नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई परामर्श शुल्कका नाममा घुस लिएको अभियोगमा साढे आठ वर्ष कैद र एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै पौडेललाई उक्त कैद र जरिवाना तोकेको हो ।

सोही रिसवत लेनदेनमा संलग्न एफ-५ (F5) का नेपाल प्रतिनिधि दीपक आनन्द सिंहलाई समेत आठ वर्ष कैद र पौडेललाई सरह एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

अदालतको फैसलाअनुसार एनआईटीसीको ‘सेक्युरिटी एप्लिकेसन र नेटवर्क इक्विपमेन्ट’ खरिद गर्ने ठेक्का प्रक्रियामा पौडेल र सिंहबिच दुई लाख ८० हजार अमेरिकी डलर (तत्कालीन विनियम दरअनुसार नेपाली तीन करोड आठ लाख ५० हजार ४०० रुपैयाँ) रिसवत लेनदेन गर्ने सहमति भएको पुष्टि भएको छ ।

पौडेलबाट बरामद भएको आईफोनको ब्याकअप रहेको ल्यापटपको फरेन्सिक परीक्षण गर्दा भेटिएको च्याट कन्भर्सेसनका आधारमा उनीहरूबिच ठेक्काको दरभाउ र घुसको रकमबारे सौदाबाजी भएको देखिएको थियो ।

अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम पौडेललाई आठ वर्ष कैद र सार्वजनिक पदमा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेकाले दफा २४ बमोजिम थप ६ महिना गरी कुल साढे आठ वर्ष कैद हुने ठहर गरेको हो ।

साथै, दुवै कसुरदारबाट जनही ६ लाख १७ हजार आठ रुपैयाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम कुन बैंक वा स्थानमा राखिएको छ भन्ने ठोस प्रमाण जुटाउन नसकेकाले बिगो जफतको मागदाबी भने नपुग्ने फैसलामा उल्लेख छ ।

नेसनल पेमेन्ट गेटवे र अकुत सम्पत्ति आर्जनका अन्य मुद्दाहरूमा यसअघि नै दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका पौडेलमाथि यो अर्को कानुनी कारबाही हो ।​

यो पनि: सरकारी कर्मचारी सुनिल पौडेलले विदेशी कम्पनीसँग डलरमा ३ करोड ८ लाख बराबर घुस लिएको प्रमाणित

पछिल्लो अध्यावधिक: असार ३२, २०८३ १७:२४