भोलिदेखि नयाँ लाइसेन्स प्रणाली: अनलाइनबाटै राजस्व तिर्न सकिने, नागरिक एपबाट विवरण ‘अटोफिल’ हुने
असार ३२, २०८३ १९:३५
काठमाडौं । यातायात व्यवस्था विभागले १ साउन (भोलि) देखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने भएको छ । नयाँ व्यवस्था लागु भएसँगै सेवाग्राहीले फारम भर्न र बैंक धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने विभागले जनाएको छ ।
नयाँ प्रणालीअनुसार अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरणहरू स्वतः भर्न (अटोफिल) सक्नेछन् । यसले गर्दा विवरण टाइप गर्दा हुने त्रुटि हट्ने र समयको बचत हुनेछ । यसका साथै, लाइसेन्सको दस्तुर वा राजस्व पनि अनलाइन माध्यमबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।
विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले नयाँ प्रणालीका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार सुरुवाती केही समय स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।
“यो प्रणालीलाई पूर्ण रूपमा परिमार्जन गर्न केही दिन लाग्न सक्छ, त्यसपछि स्वास्थ्य जाँचको प्रतिवेदनलाई समेत अनलाइनमै आबद्ध गर्ने योजना छ,” खतिवडाले भने ।
राष्ट्रिय परिचयपत्र वा नागरिक एप नभएका सेवाग्राहीको हकमा भने साविककै प्रक्रियाअनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत् राखिएको छ । अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टलहरू निर्धारण गरेको छ ।
प्रदेशअनुसार आवेदन दिने पोर्टलहरू:
-
कोशी प्रदेश: edlvrs.koshi.gov.np
-
मधेस प्रदेश: edlvrs.madhesh.gov.np
-
बागमती प्रदेश: edlvrs.bagamati.gov.np
-
गण्डकी प्रदेश: edlvrs.gandaki.gov.np
-
लुम्बिनी प्रदेश: edlvrs.lumbini.gov.np
-
कर्णाली प्रदेश: edlvrs.karnali.gov.np
-
सुदूरपश्चिम प्रदेश: edlvrs.sudurpashchim.gov.np
सेवा प्रवाहका क्रममा आउने प्राविधिक समस्या वा गुनासो सम्बोधनका लागि विभागले केन्द्र र प्रदेश स्तरमा सम्पर्क व्यक्ति र विवरण समेत सार्वजनिक गरेको छ । केन्द्रमा विभागको ईमेल [email protected] र सम्पर्क व्यक्ति युकेश चौधरी (९८४८९०६५२८), रेणु आचार्य (९८६१५४९८६८) तथा कार्यालयको टेलिफोन ४५७४९२१ र ४५७४९२२ तोकिएको छ।
त्यस्तै, सातै प्रदेशका लागि पनि छुट्टाछुट्टै सम्पर्क ईमेल र नम्बरहरू उपलब्ध गराइएको छ । यसअन्तर्गत कोशीका लागि [email protected] (९८४४०१८२५५), मधेशका लागि [email protected] (९८१९७७२१९९), बागमतीका लागि [email protected] (०५७-५२६१५८), गण्डकीका लागि [email protected] (९८४४०१८२५५), लुम्बिनीका लागि [email protected] (९८५७०४७७५८), कर्णालीका लागि [email protected] (९८४३५०९७११) र सुदूरपश्चिमका लागि [email protected] (९८५८४८०२१२) मार्फत सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।
जसका माध्यमबाट सेवाग्राहीले आफ्नो प्रदेशसँग सम्बन्धित समस्याको समाधान खोज्न सक्नेछन् । भोलिदेखि सुरु हुने यो प्रविधिमैत्री व्यवस्थाले यातायात क्षेत्रको सेवा प्रवाहलाई थप पारदर्शी र झन्झटमुक्त बनाउने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८३ १९:३६
