काठमाडौं । एप्पल प्रयोगकर्तालाई लक्षित गर्दै साइबर अपराधीले फिशिङ आक्रमण तीव्र पारेका छन् । ब्ल्याक फ्राइडे, साइबर मन्डे जस्ता अनलाइन शपिङको समय नजिकिएसँगै नक्कली ईमेलमार्फत एप्पल डिभाइस ह्याक गर्ने तथा ठगी गर्ने गिरोह सक्रिय भएको हो ।
यस प्रकारको घटनामा साइबर अपराधीले प्रयोगकर्ताहरूको एप्पल आईडी सस्पेन्ड भएको भन्दै नक्कली ईमेल पठाउँछन् । ईमेलमा एप्पल आईडी भेरिफिकेसन गर्ने लिङ्क भएको दाबी गरिन्छ । अझ कतिपय ईमेलमा २४ घण्टाभित्र आफ्नो एप्पल आईडी भेरिफिकेसन नगरे स्थायी रूपमा अकाउन्ट बन्द हुने चेतावनी दिइन्छ ।
तर प्रयोगकर्ता त्यस्ता लिङ्कमा क्लिक गर्दा फिशिङ वेबसाइटमा पुग्छन्, जुन हेर्दा वास्तविक जस्तै देखिन्छ । त्यहाँ प्रयोगकर्ताले आफ्नो लगइन र टूएफए भेरिफिकेसन गर्नुपर्ने हुन्छ । तर त्यति गर्नासाथ अपराधीहरूले पीडितको डिजिटल वालेट र अन्य डेटामा तुरुन्तै पहुँच प्राप्त गर्छन् ।
हाल आईफोन, आईप्याड, म्याकबुक लगायत गरी विश्वभर दुई अर्ब बढी एप्पल प्रयोगकर्ता रहेका छन् । यसकारण यस प्रकारको ठगी विश्वभर नै हुन सक्छ । सम्भावित घटनाबाट जोगिन एप्पलले आफ्नो सपोर्टमा पेजमा जानकारी राखेको छ । जसअनुसार नक्कली (फिशिङ) ईमेल चिन्ने तरिका निम्न छन्:
एप्पलले कहिल्यै पनि ईमेलमार्फत पासवर्ड वा टूएफए भेरिफिकेसन कोड माग्दैन भन्ने कुरा सम्झनुहोस् ।
एप्पलको आधिकारिक मेलमा ईमेलको डोमेन @apple.com बाट अन्त्य भएको हुन्छ । एप्पलको नाममा आएका ईमेलमा यो कुरा ख्याल राख्नुहोस् ।
व्यक्तिगत जानकारी र सुरक्षा कोड कहिल्यै कसैलाई शेयर नगर्नुहोस् ।
शंकास्पद लिंकहरूमा कहिल्यै क्लिक नगर्नुहोस् ।
साइबर सुरक्षा जानकारहरूका अनुसार फिशिङ स्क्यामका घटना तीव्र रूपमा बढिरहेका छन् । धेरैजसो मानिसहरू अपराधीहरूको चतुर्याईँका कारण लोभिन्छन् । यदि कुनै शङ्कास्पद क्रियाकलाप देखिए आफ्नो अकाउन्ट तुरुन्त परिवर्तन गर्न र टूएफए भेरिफिकेसन अन गर्न एप्पलले सुझाव दिएको छ ।