close

चिप्सको मूल्य बढेपछि एप्पलले आफ्ना उत्पादन महँगो बनाउने, आईफोन १८ पनि प्रभावित हुन सक्ने

टेकपाना टेकपाना

असार ४, २०८३ १०:६

चिप्सको मूल्य बढेपछि एप्पलले आफ्ना उत्पादन महँगो बनाउने, आईफोन १८ पनि प्रभावित हुन सक्ने

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको छ । एप्पलले प्रयोग गर्ने मेमोरी चिपहरूको मूल्य तीव्र रूपमा बढेपछि आफ्ना उत्पादनहरूको मूल्य पनि बढ्ने कम्पनीका प्रमुख टिम कुलले बताएका छन् । टिम कुकले 'द वाल स्ट्रिट जर्नल' लाई मेमोरी चिप्स वरपरको स्थिति धान्न नसकिने बनेकाले मूल्य वृद्धि अपरिहार्य भएको बताएका छन् ।

यद्यपि मूल्य कहिले वा कुन उत्पादनहरूमा वृद्धि हुन्छ भन्ने खुलाएका छैनन् । साथै, मूल्य वृद्धिले आगामी सेप्टेम्बरमा सार्वजनिक हुन लागेको आइफोन १८ लाई असर गर्छ कि गर्दैन भन्ने कुरा पनि स्पष्ट छैन । तर कतिपयले आईफोन १७ को तुलनामा आईफोड १८ करिब २०० डलरले महँगो बन्ने अनुमान गरेका छन् । मेमोरी चिपहरू मोबाइल फोन लगायत स्मार्ट उपकरणका अत्यावश्यक भाग हुन् । तर पछिल्ला महिनाहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीब्र वृद्धिले गर्दा मेमोरी चिप्सको मूल्य उल्लेखनीय रूपमा बढेको छ ।

मूल्य वृद्धिलाई कम गर्न र यसको असरबाट ग्राहकहरूलाई जोगाउन सम्भव प्रयास गरिरहेको भएपनि अब यो स्थिति धान्न नसकिने अवस्थामा पुगेको कुकले बताएका छन् । उपभोक्ताहरूले डिभाइसहरू खोजिरहेको समयमा चिप्सको आपूर्ति कम हुनुका साथै ठुलो मात्रामा मूल्य भोग्नु परेको कुकको भनाइ छ । उपभोक्ता उत्पादनहरूका लागि मेमोरीको मूल्य र आपूर्ति उचित स्तरमा फर्कन एकदमै आवश्यक भइसकेको उनले बताए ।

चिप निर्माण उद्योगमा रहेको दबाब अन्य प्रविधि दिग्गजहरूले पनि औँल्याएका छन् । गत महिना ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले मुद्रास्फीतिले आफ्नो लागत बढाएका कारण मूल्य वृद्धिको सम्भावनालाई नकार्न नसकिने बताएको थियो । टीएसएमसीले एप्पल, एनभिडिया र एएमडी जस्ता कम्पनीहरूद्वारा डिजाइन गरिएका सबैभन्दा उन्नत चिपहरू बनाउने गर्दछ ।

सामसङले पनि मेमोरी चिप आपूर्तिको अभावले इलेक्ट्रोनिक डिभाइसहरूको मूल्य वृद्धि हुने अपेक्षा रहेको बताएको थियो । सामान्यतया कम्प्युटरका सबैभन्दा सस्तो कम्पोनेन्टहरू मध्ये एक मानिने र्‍यामको मूल्य अक्टोबर २०२५ यता दोब्बरभन्दा बढी भइसकेको छ । एआईको बढ्दो मागका अतिरिक्त, इरानको युद्धले सेमिकन्डक्टर निर्माणमा महत्त्वपूर्ण मानिने हिलियम ग्यासको विश्वव्यापी आपूर्तिमा अवरोध पुर्‍याएका कारण पनि कम्प्युटर चिप्सको लागत थप बढेको छ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८३ १०:१५