काठमाडौं । गुगल डेभलपर ग्रुप काठमाडौंले ‘डेभफेस्ट काठमाडौं २०२४’ सम्पन्न गरेको छ । सेन्ट जेभियर्स कलेजको सहकार्यमा गत डिसेम्बरमा भएको कार्यक्रममा ५०० भन्दा बढी प्रविधिप्रेमी, डेभलपर तथा प्रोफेसनलहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न देशका २० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूले प्रविधि र नवप्रवर्तनबारे प्रस्तुति दिएका थिए । त्यस्तै कार्यक्रममा सहभागीलाई व्यहारिक ज्ञान प्रदान गर्न तीन ओटा कार्यशाला सञ्चालन गरिएको थियो भने स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवा प्रदर्शन गरेका थिए ।
डेभफेस्ट काठमाडौं २०२४ को कान्छो सहभागीका रूपमा १० वर्षीय आयुष बस्तोला उपस्थित थिए । एआई र यसको प्रयोगबारे सिकेको अनुभव सुनाउँदै उनले भविष्यमा यस्ता कार्यक्रममा निरन्तर सहभागी हुने इच्छा व्यक्त गरे ।
सहभागीहरूले कुबर्नेट्स जर्नी, रेस्पोन्सिबल एआई तथा एआई प्रविधिका नवीनतम विकासबारे विषयविज्ञबाट व्यावहारिक ज्ञान प्राप्त गरेको आयोजकले जनाएको छ ।
त्यस्तै गुगल क्लाउडमा जेनएआई एप्लिकेसन डेभलपमेन्ट, ओपनसोर्स प्रोजेक्टमा योगदान गर्ने उपाय र एआई एजेन्टहरूको परिचयबारे विभिन्न उपयोगी सत्र सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कूल सहभागीमध्ये २०० भन्दा बढी महिला सहभागी थिए । यसका लागि वुमन लिडर्स इन टेक्नोलोजी, वुमन टेकमेकर र नेपाली वुमन इन कम्प्युटिङजस्ता संस्थाहरूले महिला सहभागिता जुटाउन सहयोग गरेका थिए ।
कार्यक्रमलाई गुगल डेभलपर्स ग्रुप (जीडीजी) र गुगल डेभलपर एक्सपर्टस (जीडीई) ले सहयोग गरेका थिए ।