काठमाडौं । भर्चुअल असिस्टेन्ट सिरीले प्रयोगकर्ताका व्यक्तिगत कुराकानी सुनेको आरोपमा एप्पलले साढे नौ करोड डलर (१३ अर्ब रुपैयाँ बढी) तिर्ने सहमति जनाएको छ । गत मङ्गलबार क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतमा दायर गरिएको प्रस्तावित सम्झौतापछि एप्पल सो रकम तिर्न तयार भएको हो ।
यो एप्पल विरुद्धको पाँच वर्ष पुरानो मुद्दा हो । सिरीलाई गुप्त रूपमा सक्रिय गरेर आईफोन र अन्य एप्पल डिभाइसबाट मानिसको कुराकानी रेकर्ड गरिएको आरोप एप्पललाई लागेको थियो । कम्पनीले यसरी एक दशकसम्म सिरीलाई जासुसी टुलका रूपमा प्रयोग गरेको बताइएको छ ।
प्रयोगकर्ताले ‘हे सिरी’ भनेपछि उक्त भर्चुअल असिस्टेन्ट एक्टिभ हुन्छ । एप्पललाई लागेको आरोप अनुसार यसरी एक्टिभ भएको बेला एप्पलले गोप्य रूपमा अडिओ रेकर्ड गर्थ्यो । र, रेकर्ड गरिएका केही कुराकानी विज्ञापनदातालाई बेच्ने प्रयास प्रयास भएको थियो ।
ग्राहकहरूको गोपनीयता संरक्षणको प्रतिबद्धता दिने एप्पलका लागि सिरीले जासुसी गरेको आरोप ठाडै विरोधाभास थियो । एप्पलका सीईओ टिम कुकले बारम्बार यो प्रतिबद्धतालाई ‘आधारभूत मानव अधिकारको रक्षा गर्न गरिएको लडाइँ’ भनेर चित्रण गर्दै आएका छन् ।
मुद्दा मिलाउनका लागि रकम तिर्न तयार भए पनि एप्पलले आफ्नो गल्ती स्वीकार गरेको छैन । अमेरिकी जिल्ला न्यायाधीश जेफ्री ह्वाइटद्वारा स्वीकृत भएपछि यो सहमति अगाडि बढ्नेछ । मुद्दाका वकिलहरूले १४ फेब्रुअरीमा ओकल्यान्डमा अदालती सुनुवाइ गर्न प्रस्ताव गरेका छन् । त्यहाँ सहमतिका सर्तहरूको समीक्षा हुने बताइएको छ ।
यदि सहमति स्वीकृत भयो भने १७ सेप्टेम्बर २०१४ देखि २०२४ को अन्त्यसम्म आईफोन र अन्य एप्पल डिभाइस प्रयोग गरेका करोडौं उपभोक्ताले दाबी पेश गर्न सक्नेछन् । प्रत्येक उपभोक्ताले सहमतिमा समेटिएका सिरीयुक्त डिभाइसका लागि २० डलरसम्म पाउन सक्नेछन् ।
बाहिरिएका विभिन्न रिपोर्ट अनुसार योग्य उपभोक्ताको केवल तीनदेखि पाँच प्रतिशतले मात्र दाबी पेश गर्ने अनुमान छ । योग्य उपभोक्ताले अधिकतम पाँच डिभाइसको क्षतिपूर्ति दाबी गर्ने बताइएको छ ।