close

धितोपत्र बोर्डको मार्गचित्र : एआईबाट शेयर बजार निगरानीदेखि 'डिजिटल क्यापिटल मार्केट २.०' सम्म

टेकपाना टेकपाना

साउन ४, २०८३ ९:४२

धितोपत्र बोर्डको मार्गचित्र : एआईबाट शेयर बजार निगरानीदेखि 'डिजिटल क्यापिटल मार्केट २.०' सम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारको नियमन, अनुसन्धान र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापक प्रयोग गर्ने योजना अघि सारेको छ । बोर्डले हालै सार्वजनिक गरेको 'नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३' मा शेयर बजार सुधारका कार्यसूची प्रस्तुत गर्दै बजार निगरनी, धोखाधडी नियन्त्रण, तथा जोखिम विश्लेषण स्वचालित बनाउन एआईको प्रयोग गर्न सकिने क्षेत्रहरूको पहिचान गरेको छ ।

बोर्डले विश्वका प्रमुख धितोपत्र नियामक संस्थाको अभ्यासलाई पछ्याउँदै बजार नियमनका विभिन्न क्षेत्रहरू एआईमार्फत स्वचालित बनाउने लक्ष्य लिएको हो । मार्गचित्रअनुसार एआईको प्रयोग गरी अस्वाभाविक कारोबार (Unusual Trading Patterns), इनसाइडर ट्रेडिङ तथा बजार चलखेल (Market Manipulation) पहिचान गर्न सक्ने मार्केट सर्भेलेन्स प्रणाली विकास रहेको उल्लेख गरेको छ ।

यस्तै, नियामकीय विश्लेषण (Regulatory Analytics) अन्तर्गत जोखिम मूल्याङ्कन (Risk Assessment), अनुपालन अनुगमन (Compliance Monitoring), पूर्व सूचना प्रणाली (Early Warning System) तथा शंकास्पद कारोबार (Suspicious Transaction) पहिचान गर्ने प्रणाली विकास गरिने योजना छ ।

लगानीकर्तालाई सेवा प्रवाह गर्न एआई च्याटबट सञ्चालन गरी गुनासो सम्बोधन, नियमसम्बन्धी जानकारी, प्राथमिक निष्कासन (आईपीओ) तथा दोस्रो बजारसम्बन्धी मार्गदर्शन र वित्तीय साक्षरतासम्बन्धी जानकारी उपलब्ध गराइने पनि मार्गदर्शनमा उल्लेख छ ।

बजार अनुसन्धानका लागि पनि एआई र मेसिन लर्निङ प्रयोग गरी बजार प्रवृत्ति (Market Trend Analysis), क्षेत्रगत प्रदर्शन (Sectoral Performance), लगानीकर्ताको व्यवहार (Investor Behaviour Analysis) तथा प्रणालीगत जोखिम (Systemic Risk Monitoring) विश्लेषण गरिने मार्गचित्रमा उल्लेख छ ।

नेपालको पुँजी बजारलाई केवल शेयर कारोबार गर्ने माध्यमका रूपमा मात्र नभई राष्ट्रिय आर्थिक रूपान्तरणको रणनीतिक साधनका रूपमा विकास गर्न आवश्यक निष्कर्ष निकाल्दै धितोपत्र बाेर्डले यो मार्गचित्र सार्वजनिक गरेको हो । 

डिजिटल क्यापिटल मार्केट २.० को लक्ष्य

शेयर बजारको डिजिटल रूपान्तरणका लागि धितोपत्र बोर्डले 'डिजिटल पुँजी बजार २.० (Digital Capital Market 2.0)' को विकास ग​र्ने रणनीति अपनाएको छ । मार्गचित्रमा सन् २०३६ सम्म नेपालको सम्पूर्ण पुँजी बजारलाई पेपरलेस, कन्ट्याक्टलेस, रियल-टाइम तथा एकीकृत डिजिटल पुँजी बजार (Integrated Digital Capital Market) मा रूपान्तरण गर्ने लक्ष्य निर्धारण गर्नुपर्ने उल्लेख छ ।

यसअन्तर्गत आईपीओ प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइने, डिजिटल प्रोस्पेक्टस (विवरणपत्र) र ई-डिस्क्लोजर प्लेटफर्म सञ्चालनमा ल्याइने तथा ई-केवाईसी प्रणालीलाई राष्ट्रिय परिचयपत्र र अन्य सरकारी प्रणालीसँग एकीकृत गरिने योजना छ ।

त्यस्तै, मोबाइलमार्फत सम्पूर्ण लगानी सेवा उपलब्ध गराइने, एकीकृत ‘क्यापिटल मार्केट मोबाइल सुपर एप’ विकास गरिने, एपीआईमा आधारित पुँजी बजार सेवा विस्तार गरिने तथा सेबोनका आन्तरिक कार्यसम्पादनलाई समेत पूर्ण रूपमा डिजिटाइज गरिने लक्ष्य बोर्डले लिएको छ ।

मार्गचित्रले डिजिटल प्रविधि र एआईको प्रयोगमार्फत पुँजी बजारलाई अझ पारदर्शी, सुरक्षित, प्रभावकारी र लगानीकर्तामैत्री बनाउने दीर्घकालीन रणनीति अघि सारेको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ४, २०८३ ९:५३