काठमाडौँ । डिजिटल प्रणालीले राहदानी वितरण प्रक्रिया सहज भएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । शनिबार राहदानी विभागले धनगढीमा आयोजना गरेको ‘राहदानी प्रणाली र यसको कार्यदिशा’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री राणाले सरकारले डिजिटल प्रविधिको प्रयोगमार्फत राहदानी सेवा झन् सहज र सुलभ बनाउने दिशामा कार्य अघि बढाएको पनि जानकारी दिइन् ।
“पहिला राहदानी बनाउन धेरै गाह्रो थियो,” उनले भनिन्, “अहिले भने अनलाइनबाट ई–पासपोर्ट सजिलै बनाउन सकिने अवस्था बनिसकेको छ । प्रविधिको अधिकतम प्रयोग गरेर प्रणालीलाई अझ प्रभावकारी बनाउने सोचमा छौँ ।”
मन्त्री राणाले राहदानी प्राप्त गर्नु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएको भन्दै यस प्रक्रियामा कुनै प्रकारको अवरोध हुनु नहुने पनि स्पष्ट गरेकी छन् । साथै राहदानी वितरण प्रणालीमा देखिएका समस्याको समाधान गर्न आवश्यक नीति तथा प्राविधिक संरचना निर्माणका लागि सम्बन्धित निकायहरूसँग छलफल भइरहेको जानकारी दिइन् ।