बेटिङमा संलग्न १ जना चितवनबाट पक्राउ, मोबक्याश र बाइनान्समार्फत करिब ९० लाख रुपैयाँको कारोबार
साउन ३, २०८३ १९:२५
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित अनलाइन सट्टेबाजी (बेटिङ) र अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा भरतपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन, कालिका-६ खोले सिमल बस्ने ४४ वर्षीय नारायण श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार श्रेष्ठले गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी खेलाउने तथा क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने गरेको भन्ने विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई २ साउनमा भरतपुरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले दुईवटा स्मार्टफोन बरामद गरेको छ । जसमा एउटा रेड्मी कम्पनीको र अर्को एप्पल कम्पनीको मोबाइल रहेको छ ।
बरामद गरिएको रेड्मी मोबाइलको चेकजाँच गर्दा त्यसमा अनलाइन सट्टेबाजीका एपमा रकम लोड र अनलोड गर्न प्रयोग गरिने मोबक्याश (Mobcash) नामक मोबाइल एप्लिकेसन फेला परेको छ । उक्त मोबक्याश खातामा करिब २ लाख ८० हजार ईपोस लिमिट (EPOS Limit) रहेको र १३ लाख ८२ हजार रुपैयाँ ब्यालेन्स रहेको उल्लेख छ । त्यसबाट उनले पछिल्लो ३ महिनामा ३८ लाख ९५ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठको साथबाट बरामद अर्को एप्पल कम्पनीको आईफोन चेकजाँच गर्दा त्यसमा विश्वको प्रसिद्ध क्रिप्टो एक्स्चेन्ज एप्लिकेसन बाइनान्स फेला परेको छ । उक्त बाइनान्स खाताको कूल कारोबार रकम ३३ हजार १५०.३३ अमेरिकी डलर (५० लाख ९८ हजार रुपैयाँभन्दा) बढी रहेको छ ।
मोबक्याश खाताबाट भएको ३ महिनाको कारोबार र बाइनान्स खाताबाट भएको कूल कारोबार जोड्दा अभियुक्त श्रेष्ठले कूल ८९ लाख ९३ हजार रुपैयाँभन्दा बढीको अवैध डिजिटल कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चितवन प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठमाथि अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजी (बेटिङ) सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ । नेपालमा अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी दुवैलाई गैरकानुनी मानिन्छ । पछिल्लो समय प्रविधिको दुरुपयोग गरी यस्ता वित्तीय अपराधका गतिविधिहरू बढ्दै गएपछि प्रहरीले यस प्रकारका कारोबारमा संलग्न सञ्जालमाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८३ १९:२५
