देशव्यापी कोडफेस्ट २०२६ आयोजना हुँदै, ३ लाख प्राइज पुल भएको ह्याकाथनमा यसरी बन्नुहोस् सहभागी
साउन ३, २०८३ १९:५३
काठमाडौं । कोड फर चेन्जले माध्यमिक तह (प्लस टु) र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि ‘कोडफेस्ट २०२६’ नामक ह्याकाथन घोषणा गरेको छ । सातै प्रदेशका विद्यार्थीलाई एकै ठाउँमा ल्याएर प्रविधिको माध्यमबाट वास्तविक समस्या समाधान खोज्ने उद्देश्यले यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो ।
संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेका दिगो विकास लक्ष्यहरूलाई पुरा गर्ने किसिमका समाधान निर्माणमा ‘कोडफेस्ट २०२६’ केन्द्रित रहने आयोजकले जनाएको छ । जसमा राम्रो स्वास्थ्य र कल्याण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, उद्योग, नवीनता र पूर्वाधार, दिगो सहर र समुदाय, जलवायु कार्य, शान्ति, न्याय र बलियो संस्था गरेर सात वटा थिम रहेका छन् । जसमध्ये ६ वटा प्रदेशमा सबै थिम र कोशी प्रदेशमा ‘राम्रो स्वास्थ्य र कल्याण’ थिममा केन्द्रित भएर प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
कहिले हुँदैछ प्रतिस्पर्धा ?
आयोजकका अनुसार पोखरामा ७ देखि ९ साउनसम्म पोखरा इन्जिनियरिङ कलेजमा ह्याकाथन आयोजना हुनेछ । यसमा सहभागिताका लागि समयसीमा भने सकिएको छ । यस्तै काठमाडौं र दाङमा १५ देखि १७ साउनसम्म कार्यक्रम आयोजना हुनेछन् । यी स्थानमा आवेदनको लागि ११ साउनसम्मको समयसीमा तोकिएको छ । रूपन्देहीमा पनि १६ देखि १७ साउनमा हुन लागेको यस प्रतिस्पर्धाका लागि ११ साउनसम्म आवेदन दिन सकिनेछ ।
कोशी प्रदेशमा २१ देखि २३ साउन, चितवनमा २९ देखि ३१ साउन, सुदूरपश्चिममा ३० साउन र वीरगन्जमा ५ देखि ६ भदौसम्म प्रतिस्पर्धा आयोजना हुनेछ । जसका लागि आवेदनको समयसीमा क्रमश: १७ साउन, २५ साउन, २६ साउन र १६ साउनमा तोकिएको छ ।
सातै प्रदेशका प्रादेशिक विजेताहरूले काठमाडौंमा आयोजना हुने राष्ट्रिय ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । फिनालेमा प्रविधि विज्ञ, स्टार्टअप विज्ञ, व्यवसायी र सरकारी प्रतिनिधि सहितको ५ सदस्यीय निर्णायक मण्डलले विजेता छनौट गर्ने बताइएको छ । काठमाडौंमा हुने प्रतिस्पर्धाका लागि भने मिति र स्थान तोक्न बाँकी रहेको आयोजकले जनाएको छ ।
प्रतिस्पर्धामा हाल माध्यमिक तह (+२) मा अध्ययनरत वा नतिजा कुरेर बसेका विद्यार्थीहरू सहभागी हुन पाउनेछन् । यस्तै, प्रविधिसँग सम्बन्धित विषयमा स्नातक गरिरहेका विद्यार्थीहरू पनि यसमा भाग लिन सक्नेछन् । प्रतिस्पर्धामा सहभागीता जनाउन प्रत्येक टोलीमा २ देखि ४ जना सदस्य हुनुपर्ने प्रावधान छ ।
सहभागी हुनका लागि प्लस टु तहका टोलीले १५०० रुपैयाँ र स्नातक तहका टोलीले २५०० रुपैयाँ दर्ता शुल्क तिर्नु पर्नेछ । ग्रान्ड फिनालेको कूल पुरस्कार राशि तीन लाख रुपैयाँ तोकिएको छ । जसमा प्लस टु तहका विजेताले ५० हजार, रनरअपले ३० हजार र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै स्नातक तहतर्फका लागि विजेताले एक लाख रुपैयाँ, रनरअपले ५० हजार, सेकेन्ड रनर अपले २५ हजार र दुई विधामा विजेता हुनेले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतिस्पर्धामा सहभागीता जनाउन चाहने विद्यार्थीले यहाँ क्लिक गरेर आवेदन दिन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८३ १९:५३
