काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तालाई अनिवार्य एसएमएस पठाउनुपर्ने माग सहित दायर रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ । कानूनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले सोमबार नेपाल विद्युत् प्राधिकरण समेतको नाममा यस्तो आदेश दिएको हो ।
चौधरीले आइतबार रिट निवेदनमा विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यमबाट पूर्वसूचना दिन अनिवार्य बनाउन माग गरिएको थियो । रिट निवेदनमा भनिएको थियो छ, "सेवा प्रवाहको पारदर्शिता, उपभोक्ताको विश्वास र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि विद्युत् सेवा अवरुद्ध हुनु पूर्व वा तत्काल पश्चात् उपभोक्तालाई स्पष्ट जानकारी दिन आवश्यक छ ।"
चौधरीले निवेदनमा संविधानको धारा १४४ बमोजिम परमादेश आदेश जारी गरी एसएमएस प्रणालीमार्फत समयमै सूचना प्रवाह सुनिश्चित गराउन माग गरेका छन् । अदालतले माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण वा प्रमाण भए सो सबुद प्रमाण सहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्राधिकरणलाई आदेश दिएको हो ।