close

अनलाइन प्रणालीमार्फत ४ अर्बभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता

Techpana Techpana

साउन ४, २०८२ ७:३०

अनलाइन प्रणालीमार्फत ४ अर्बभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता

काठमाडौँ । गत वैशाखदेखि उद्योग विभागले सुरु गरेको अनलाइनमा आधारित स्वचालित प्रणालीमार्फत चार अर्ब बढी लगानीको वैदेशिक प्रतिबद्धता प्राप्त भएको छ । विभागको तथ्याङ्क अनुसार अनलाइन सेवा सुरु भएदेखि हालसम्म उक्त प्रणालीबाट चार अर्ब ६१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको ।

आर्थिक वर्ष २०८१/८२ मा ८४० वटा परियोजनामार्फत करिब ६४ अर्ब ९६ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन अर्ब रुपैयाँ बढी हो। आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपैयाँ र २०७९/८० मा ३८ अर्ब ४० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ । 

उक्त समाचारका अनुसार ४८ प्रतिशत (३० अर्ब ९० करोड) सेवा क्षेत्रमा, ४१ प्रतिशत (२६ अर्ब ८२ करोड) पर्यटन क्षेत्रमा, छ प्रतिशत (तीन अर्ब) उत्पादनमूलक क्षेत्रमा, तीन प्रतिशत (एक अर्ब ८४ करोड) सूचना तथा प्रविधि क्षेत्रमा, र दुई प्रतिशत (एक अर्ब ४६ करोड) कृषि क्षेत्रमा लगानीको प्रतिबद्धता आएको छ । 

विभागले ५० करोड रुपैयाँसम्म कुल पुँजी हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृति यसै प्रणालीमार्फत हुने व्यवस्था मिलाएको छ । 

 

 

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ ७:३१