close

अब क्यामेरा होइन, वाईफाई सिग्नलबाटै व्यक्ति पहिचान, यस्तो छ ‘हुफाई’ प्रविधि

टेकपाना टेकपाना

साउन ८, २०८२ २१:२०

अब क्यामेरा होइन, वाईफाई सिग्नलबाटै व्यक्ति पहिचान, यस्तो छ ‘हुफाई’ प्रविधि

काठमाडौँ । अब तपाईँको घर वा अफिसको वाईफाईले तपाईँलाई क्यामेरा वा अन्य कुनै डिभाइस बिना नै चिन्न सक्ने भएको छ । तपाईंको हिँडाइ र शरीरको चालको आधारमा वाईफाई सिग्नलले तपाईँको पहिचान गर्न सक्ने प्रविधि विकास भएको छ ।

इटालीको रोमस्थित ला सेपिएन्जा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले वाईफाई सिग्नलमा मानिसको शरीरले पार्ने प्रभावको विश्लेषण गरेर व्यक्ति पहिचान गर्ने नयाँ तरिका विकास गरेका हुन् ।

‘हुफाई’  (WhoFi) नाम दिइएको यो प्रणालीले काम गर्न क्यामेरा, माइक्रोफोन वा व्यक्तिले कुनै यन्त्र बोक्नु पर्दैन छ । यसले व्यक्तिको शरीरको आकार, बनावट र चाल अनुसार वाईफाई सिग्नलमा आउने सूक्ष्म परिवर्तनलाई पत्ता लगाउँछ । 

यसले कसरी काम गर्छ ?

वाईफाई सिग्नलहरू कुनै पनि स्थानमा फैलिँदा त्यहाँ भएका वस्तुसँग ठोक्किने वा सोसिने गर्छन् । यसमा मानिसहरू पनि पर्छन् । प्रत्येक व्यक्तिको शरीरले यी सिग्नलहरूसँग अलि फरक तरिकाले अन्तरक्रिया गर्छ । WhoFi प्रणालीले सिग्नलको एम्प्लिच्युड र फेज जस्ता विवरणहरू मापन गरेर यिनै स-साना परिवर्तनहरूलाई रेकर्ड गर्छ । 

त्यसपछि यो प्रणालीले न्युरल नेटवर्कको प्रयोग गरी हरेक व्यक्तिको भिन्न सिग्नल प्याटर्नलाई चिन्छ । अनुसन्धानकर्ताहरूले यस प्रणालीलाई एउटै व्यक्ति विभिन्न कोठा वा स्थानमा जाँदा पनि चिन्न सक्ने गरी तालिम दिएका छन् । एनटीयू-फाई  (NTU-Fi) नामक डेटासेटमा परीक्षण गर्दा यो विधिले मानिसहरूलाई पुनः पहिचान गर्न ९५.५ प्रतिशतसम्मको सत्यता (accuracy) देखाएको छ । 

क्यामेरा र माइक्रोफोनको विपरीत, वाईफाईमा आधारित सेन्सिङले तस्बिर वा ध्वनि रेकर्ड गर्दैन । यसले स्पष्ट व्यक्तिगत डेटा सङ्कलन नगर्ने भएकाले गोपनीयताका लागि राम्रो मान्न सकिन्छ छ । तर, यसका केही गोपनीयतासम्बन्धी जटिलता पनि छन् ।

यो प्रविधिमार्फत् मानिसहरूलाई उनीहरूको जानकारी बिना नै ट्र्याक वा निगरानी गर्न सकिन्छ । अनुसन्धानकर्ताहरूले WhoFi ले सिधै बायोमेट्रिक वा व्यक्तिगत जानकारी सङ्कलन नगर्ने बताएका छन्। यद्यपि, स्पष्ट सुरक्षा उपायहरू बिना प्रयोग गरिएमा यो प्रविधिले घर, कार्यस्थल वा सार्वजनिक क्षेत्रहरूमा गोप्य ट्रयाकिङ हुन सक्ने जोखिम निम्त्याउने चेतावनी पनि उनीहरूले दिएका छन् । 

यो प्रविधिको प्रयोग के हुन सक्छ ?

हाल, यो प्रविधि अनुसन्धान प्रयोगशालाहरूमा मात्र सीमित छ र व्यावसायिक वा सरकारीस्तरमा प्रयोगमा आएको छैन । तर घर र शहरहरूमा वाईफाई नेटवर्कहरू थप व्यापक हुँदै जाँदा यस्ता प्रणालीमार्फत् व्यक्तिको पहिचान गर्ने अभ्यास सामान्य बन्दै जान सक्छ । 

क्यामेरा बिना नै व्यक्तिहरूलाई चिन्ने सुरक्षा प्रणाली, चाल र व्यवहार ट्र्याक गर्ने स्वास्थ्य निगरानी, वा कुन स्थानमा उपस्थित छ भन्ने जस्ता कामको लागि यसको प्रयोग हुन सक्छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८२ ७:३३