close

गुगलको जेमिनाईमा आधारित स्मार्ट चस्मा सार्वजनिक गर्ने तयारी, आईओएस फोनसँग पनि जोड्न मिल्ने

टेकपाना टेकपाना

जेठ १०, २०८३ १५:५६

गुगलको जेमिनाईमा आधारित स्मार्ट चस्मा सार्वजनिक गर्ने तयारी, आईओएस फोनसँग पनि जोड्न मिल्ने

काठमाडौँ । गुगलले आफ्नो ‘इन्टेलिजेन्ट आइवेयर’ अर्थात स्मार्ट चस्मा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीको गत साता सम्पन्न वार्षिक डेभलपर सम्मेलन 'गुगल आई/ओ २०२६' मा एन्ड्रोइड एक्सआर प्लेटफर्ममा आधारित स्मार्ट चस्मा आगामी सेप्टेम्बरदेखि डिसेम्बर महिनाभित्र लन्च गर्ने तयारी भएको गुगलले जानकारी गराएको हो ।

गुगलले आफ्नो स्मार्ट ग्लासको हार्डवेयर डिजाइनको लागि सामसङ, जेन्टल मनस्टर र वारबी पार्करसँग सहकार्य गरेको छ । स्मार्ट चस्मामा गुगलको जेमिनाई एआई प्रत्यक्ष रूपमा एकीकृत गरिएको छ । जसले प्रयोगकर्तालाई आवाज वा टचमार्फत तुरुन्त सहायता प्रदान गर्ने गुगलले जनाएको छ । स्मार्ट चस्माले प्रयोगकर्तालाई फोन ननिकाली नै दैनिक डिजिटल काम गर्न सहयोग गर्छ । कम्पनीले अडियो ग्लासेस र डिस्प्ले ग्लासेस गरी दुई प्रकारका स्मार्ट चस्मा विकास गरिरहेको जनाएको छ । 

गुगलका अनुसार अडियो ग्लासेस यस वर्षको शरद ऋतुमै पहिलो चरणमा बजारमा आउने छन् । अडियो ग्लासेसमा प्रयोगकर्तालाई कानमै आवाजमार्फत विभिन्न जानकारी दिने फिचरहरु रहेका छन् । प्रयोगकर्ताले “Hey Google” वा फ्रेमको साइडमा ट्याप गरेर तत्काल जेमिनाईलाई सक्रिय गर्न सक्नेछन् ।

यी चस्मामार्फत प्रयोगकर्ताहरूले आफू वरिपरिको वातावरणबारे जानकारी लिन सक्नेछन् । साथै, रेस्टुरेन्टको रिभ्यु हेर्न, नेभिगेसन निर्देशन पाउन, मेसेज पठाउन, कल व्यवस्थापन गर्न तथा संगीत सुन्न सक्नेछन् । साथै, यसमा लाइभ ट्रान्सलेसन सुविधा पनि उपलब्ध हुने र बोलिएको तथा लिखित सामग्रीलाई तत्काल अनुवाद गर्न सक्ने गुगलले जनाएको छ ।

गुगलले चस्माबाट फोटो तथा भिडियो खिच्ने सुविधा पनि दिएको छ, जसलाई एआईमार्फत सम्पादन पनि गर्न सकिनेछ । प्रयोगकर्ताले साधारण आदेशमै फोटो खिच्ने र अनावश्यक वस्तु हटाउने वा सिर्जनात्मक रूपमा परिवर्तन गर्नसक्ने सुविधा पाउनेछन् ।

यसका साथै जेमिनाईले प्रयोगकर्ताका लागि खाना अर्डर गर्ने, एपमार्फत राइड बुक गर्नेलगायत मल्टिस्टेप कामहरू सम्पन्न गर्न सक्नेछ । गुगलका अनुसार यी चस्माहरु एन्ड्रोइड मात्र नभई आईओएस (iOS) फोनसँग पनि जाेड्न सकिने छ । गुगलले स्मार्ट चस्मालाई भविष्यको ‘ह्यान्ड्स फ्री’ कम्प्युटिङ प्लेटफर्मका रूपमा विकास गर्दै स्मार्टफोनपछिको अर्को ठूलो प्रविधि बन्ने अपेक्षा गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८३ १६:१