काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको मोबाइल एप एक लाखभन्दा बढी पटक डाउनलोड भएको छ । ग्राहकलाई आफ्नो सेवा व्यवस्थापन र भुक्तानीमा सहजता प्रदान गर्न ल्याइएको यो एपले महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको कम्पनीले जनाएको छ ।
यसैबिच, कम्पनीले प्रयोगकर्ताको अनुभवलाई अझ सुधार्न एपको नयाँ संस्करण (भर्सन २.०) ल्याउने तयारी गरेको छ ।
हाल सञ्चालनमा रहेको एपमार्फत सुबिसुका ग्राहकले इन्टरनेट तथा क्लियर टिभी सेवा व्यवस्थापन, अनलाइन बिल भुक्तानी, नयाँ अफर तथा प्याकेजहरूको जानकारी र प्राविधिक सहायताका लागि अनुरोध गर्ने जस्ता सुविधा प्रयोग गर्दै आएका छन् । ०७९ साउनदेखि सञ्चालनमा आएको यो एपबाट राउटर नियन्त्रण गर्ने र पासवर्ड परिवर्तन गर्ने जस्ता काम पनि गर्न सकिन्छ ।
चाँडै सार्वजनिक गरिने नयाँ संस्करणले एपको प्रयोगलाई अझ सहज, सरल र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ । ग्राहकको बढ्दो सहभागिता र विश्वासले आफूहरूलाई नयाँ संस्करणमा थप सुविधाहरू समावेश गर्न प्रेरित गरेको सुबिसुको भनाइ छ ।
विगत २४ वर्षदेखि सञ्चालनमा रहेको सुबिसुले घरायसी तथा व्यावसायिक ग्राहकहरूलाई फाइबर इन्टरनेट, क्लियर टिभी, डेटा सेन्टर, क्लाउड सेवा जस्ता विभिन्न प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८२ १८:४
