क्रिप्टोमा संलग्न २१ वर्षीय युवक पक्राउ, देखियो ७८ लाख रुपैयाँ बढीको कारोबार
साउन १९, २०८२ १८:२३
काठमाडौँ । नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर कौशलटार बस्दै आएका मकवानपुर चिसापानीका २१ वर्षीय सुशान्त दाहाल रहेका छन् ।
कलंकीमा क्रिप्टो कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा आरोपी दाहालले अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को प्रयोग गरी ७८ लाख ३० हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको परिसरले जनाएको छ ।
पक्राउ परेका दाहालमाथि अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
पछिल्लो अध्यावधिक: साउन १९, २०८२ १८:२३
