फ्याक्टचेक: ओलीले लिपुलेक विषयमा चिनियाँ राष्ट्रपतिसँग आपत्ति जनाए भन्दै भाइरल भिडिओ नक्कली
भदौ १४, २०८२ ३:२५
काठमाडौँ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेको र सो भेटमा उनले लिपुलेकको विषयमा भारत-चीन सम्झौताप्रति नेपालको आपत्तिलाई दृढतापूर्वक उठाएको भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ । ‘केपी ओलीको साहस: उनले Xi Jingping कै अगाडि भारत चीनबीच लिपुलेकमा भएको सम्झाैता हामी मान्दैनाैँ भनेर स्पष्ट भने’ भन्दै भिडिओमै टेक्स्ट राखिएको देखिन्छ । सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको यो भिडिओ टेकपानाको तथ्यजाँचले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिबाट बनाएको पत्ता लगाएको छ । साथै सर्वसाधारणलाई भ्रम छर्नका लागि यस्तो सामग्री बनाएको निष्कर्ष निकालेको छ ।
दाबी
फेसबुकमा ‘समिक बडाल’ नामका प्रयोगकर्ताले शनिबार साँझ ७:४८ मा #KPOliForNepal #जनताको_अवाज_Oli #NepalFirst_Oli #KP_Oli_Leadership #OliWithPeople क्याप्सन सहित ४० सेकेन्डको भिडिओ राखेका छन् । नेकपा एमालेकाे भातृ संगठन अनेरास्ववियुका निवर्तमान अध्यक्ष समेत रहेका उनले फेसबुकमा पोस्ट गरेपछि केही समयमै यो भिडिओ भाइरल भयो । भिडिओमा माथिल्लो भागमा समाचार वाचन गरेको र तल्लो भागमा प्रधानमन्त्री ओलीले चिनफिङलाई भेट गरेको तथा प्रतिनिधिमण्डलबिच दुई पक्षीय वार्ता भएको दृश्य देख्न सकिन्छ ।
वाचिकाले यही भेट सम्बन्धी समाचार पढेको जस्तो देखिन्छ । जसमा अंग्रेजीमा भनिएको छ- “Prime Minister KP Sharma Oli has once again demonstrated his strong commitment to protecting Nepal's sovereignty. In his meeting with President Xi Jinping, he firmly raised Nepal's objection to the India-China agreement on Lipulekh, making it clear that this territory belongs to Nepal under the historic Sugauli Treaty. His clear stance reflects his courage as a leader and his determination to defend Nepal's national interest, while also expressing confidence in China's role as a supportive and trusted partner. This shows Oli's ability to balance diplomacy with firmness, strengthening Nepal's voice on the global stage.”
यसको नेपाली अनुवाद हुन्छ- “प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ताको रक्षाका लागि आफ्नो दृढ प्रतिबद्धता पुनः एकपटक प्रदर्शन गर्नुभएको छ । राष्ट्रपति सी चिनफिङसँगको भेटमा उहाँले लिपुलेकको विषयमा भारत-चीन सम्झौताप्रति नेपालको आपत्तिलाई दृढतापूर्वक उठाउनुभयो । यो क्षेत्र ऐतिहासिक सुगौली सन्धि अन्तर्गत नेपालको हो भनी स्पष्ट पार्नुभयो । उहाँको स्पष्ट अडानले नेताको रूपमा उहाँको साहस र नेपालको राष्ट्रिय हितको रक्षा गर्ने उहाँको संकल्पलाई झल्काउँछ । साथै चीनलाई सहयोगी र विश्वसनीय साझेदारको रूपमा विश्वास व्यक्त गर्दछ । यसले ओलीको कूटनीति र दृढतालाई सन्तुलनमा राख्ने क्षमता देखाउँछ, जसले विश्व मञ्चमा नेपालको आवाजलाई बलियो बनाउँछ ।”
यो सामग्री तयार पार्दासम्म समिक बडालले अपलोड गरेको भिडिओमा १ लाख ९८ हजार ९ सय ९० भन्दा बढी भ्युज, १५०० भन्दा बढी रियाक्सन, २४७ भन्दा बढी कमेन्ट र २ हजार भन्दा बढी शेयर भएका छन् । हेर्नुहोस् भिडिओको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।

विशेषगरी नेकपा एमालेकै नेता कार्यकर्ताहरुले यो भिडिओ विभिन्न क्याप्सन राख्दै शेयर गरिरहेका छन् । शेयर गर्नेहरुको नाम र प्रोफाइल हेर्दा एमालेबाट मन्त्री, सांसद बनेकादेखि एमालेका विभिन्न तहका नेता कार्यकर्ता बढी रहेको देख्न सकिन्छ ।
हेरौं केही स्क्रिनशट:





अनुसन्धान
सामाजिक सञ्जालमा व्यापक रूपमा यो भिडिओ भाइरल भइरहेको पाइएपछि टेकपाना तथ्यजाँच टिमले अनुसन्धान थाल्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेको तथ्य आधिकारिक निकायबाट आएका फोटो-भिडिओले पुष्टि गरेकै छन् । यसै सन्दर्भमा नेपालमा भाइरल भइरहेको भिडिओमा चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले भारत-चीन सम्झौताप्रति दृढतापूर्वक आपत्ति जनाएको र लिपुलेक ऐतिहासिक सुगौली सन्धि अन्तर्गत नेपालको हो भनी स्पष्ट पारेको दाबी गरिएको छ । टेकपानाले यो भिडिओको मूल स्रोत र सत्यता पत्ता लगाउन गुगल रिभर्स इमेज सर्च लगायतका विधि प्रयोग गर्यो । तर समाचार वाचिकाको अनुहारसँग मिल्ने कुनै रिजल्ट आएन । विभिन्न अनलाइन स्रोत विश्लेषण गर्दा पनि यही अनुहार र ब्यहोरा सहित भिडिओ प्रसारण गरेको भेटिएन ।
भिडिओमा प्रस्तुतकर्ताको स्थिर क्यामेरा एङ्गल, हेड-शट, अनुहारका सूक्ष्म चालहरू, ओठको तालमेल, कपाल/छालाको बनावटमा शंका गर्ने धेरै ठाउँ छ । यसै सन्दर्भमा एआई भिडिओ डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ मार्फत उक्त भिडिओ एआई निर्मित हो वा होइन भनेर जाँच गर्दा ९९.२% समग्र स्कोरका साथ एआईद्वारा निर्मित रहेको देखायो, जसमा अडियो ९९% एआई-जेनरेटेड रहेको स्पष्ट उल्लेख छ ।

त्यस्तै इनभिड नामक टुलमा उक्त भिडिओ अपलोड गरी गरी की फ्रेम निकाल्यौं । र, त्यसलाई वाज इट एआई नामक एआई टुलमा राखेर हेर्यौं । उक्त टुलले पनि यो फोटो एआईले तयार पारेको पत्ता लगायो ।

भिडिओमा देखाइएको दृश्य सामग्री, प्रस्तुतकर्ताको आवाज र उनको हाउभाउबिचको तालमेल केही असामान्य छ । भिडिओको भिजुअल, साउन्ड र समाचार वाचिकाको प्रस्तुतिबिचको संयोजन यस्तो प्राकृतिक लाग्छ कि भिडिओ तयार पार्नेले आधुनिक एआई प्रविधि प्रयोग गरेका छन् ।
दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको विषयमा भारत-चीन सम्झौताप्रति नेपालको आपत्तिलाई दृढतापूर्वक उठाएको भन्दै भिडिओ सार्वजनिक ।
दाबीकर्ता
‘समिक बडाल’ नामक फेसबुक अकाउन्ट लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको विषयमा भारत-चीन सम्झौताप्रति नेपालको आपत्तिलाई दृढतापूर्वक उठाएको भन्दै भाइरल भइरहेको भिडिओ एआई निर्मित हो ।
निष्कर्ष
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको विषयमा भारत-चीन सम्झौताप्रति नेपालको आपत्तिलाई दृढतापूर्वक उठाएको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ वास्तविक नभई एआई निर्मित हो । भिडिओमा प्रस्तुत गरिएको दाबी चिनियाँ वा नेपाली कुनै पनि आधिकारिक सञ्चारमाध्यममा पुष्टि हुन सकेन । भिडिओको बनावट, क्यामेरा एङ्गल र प्रस्तुतकर्ताको चालढालमा असामान्यपन देखिन्छ । साथै, एआई भिडिओ डिटेक्सन टुल 'हाइभ मोडेरेसन'को परीक्षणमा समेत सो भिडिओ ९९.२% एआई निर्मित रहेको देखिएको छ । यो भिडिओ सर्वसाधारणलाई भ्रममा पार्न बनाइएको हो ।

प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: भदौ १५, २०८२ ९:२३
