close

फ्याक्टचेक: 'लाखौं कमाइ हुने प्लेटफर्म' भन्दै फैलाइएको विनोद चौधरीको भिडिओ नक्कली, प्रलोभनमा नपर्नुहोस्

हिक्मत आचार्य हिक्मत आचार्य

साउन ६, २०८३ ११:५३

फ्याक्टचेक: 'लाखौं कमाइ हुने प्लेटफर्म' भन्दै फैलाइएको विनोद चौधरीको भिडिओ नक्कली, प्रलोभनमा नपर्नुहोस्

काठमाडौं । पाओलो बटिस्टा नामको भेरिफाइड फेसबुक पेजले सोमबार एक भिडिओ सार्वजनिक गरेको छ । शुल्क तिरेर बुस्ट गरिएको सो भिडिओमा अर्वपति उद्यमी विनोद चौधरी र पोडकास्टर सञ्जय सिलवाल गुप्ता कुरा गरिरहेको देखिन्छ । सो भिडियोमा सरकारले यसअघि नै एउटा लगानी गर्ने प्लेटफर्म ल्याएको र त्यसमा लगानी गर्दा पाँच लाख ३५ हजार रुपैयाँ आम्दानी गर्न सकिने दाबी गरिएको छ । दर्ता गर्नका लागि लिङ्क पनि राखिएको छ ।

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको परीक्षणका क्रममा यो दाबी झुटो रहेको पुष्टि हुन्छ । यो भिडिओ वास्तविक पोडकास्टको भिडिओलाई तोडमोड गरी एआईको सहायताले पुनः तयार पारिएको पुष्टि भएको छ । त्यस्तै यसमा भएको लिङ्कमा द काठमाडौं पोस्टको क्लोन गरिएको समाचार देखिन्छ । त्यसमा काठमाडौं पोस्टले राखेको समाचार जस्तो देखिने नक्कली समाचार र लिङ्क राखिएको छ । लिङ्कमा क्लिक गर्दा संवेदनशील डेटा माग्ने गरेको देखिन्छ ।

यी  विभिन्न तथ्यबाट के पुष्टि हुन्छ भने यो भिडिओ आर्थिक प्रलोभन देखाएर संवेदनशील डेटा चोरी गर्ने उद्देश्यले प्रसारण भएको हो ।

अनुसन्धान

सोमबार, २० जुलाइई २०२६ दिउसो २ः५६ बजे ‘Paulo Battista’ नामको भेरिफाइड पेजले एक पडकास्टको क्लिप जस्तो देखिने भिडिओ राख्यो । नेपालको क्षेत्रलाई मात्र लक्षित गरी (जिओलोकेसन) मिलाएर राखिएको छ । भिडिओमा सञ्जय सिलवाल गुप्ता र अर्वपति उद्यमी विनोद चौधरी कुरा गरिरहेको देखिन्छ । यसको क्याप्सनमा लेखिएको छ, “This statement has shaken the country: here's how it will affect everyone.” (यो भनाइले देशलाई नै तरंगित बनाएको छ : यसले सबैलाई कसरी असर पार्छ?) 

उक्त भिडिओमा टेक्स्ट पनि राखिएको छ । “THE GOVERNMENT INVESTMENT PLATFORM GUARANTEES AN INCOME OF 535,500 NPR PER WEEK, INVEST 38,318 TODAY AND RECEIVE YOUR FIRST PAYMENT TO YOUR BANK ACCOUNT TOMORROW ।” (सरकारको लगानी प्लेटफर्मले प्रति हप्ता ५ लाख ३५ हजार ५०० रुपैयाँ आम्दानीको ग्यारेन्टी गरेको छ । आज ३८ हजार ३१८ रुपैयाँ लगानी गर्नुहोस् र भोलि नै आफ्नो बैंक खातामा पहिलो भुक्तानी प्राप्त गर्नुहोस्।)

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १७९ बढी रियाक्सन, १७ कमेन्ट आएका छन् । विशेष क्षेत्रलाई लक्षित गरिएकाले यो पोस्ट आर्काइभ गर्न सकिएन, सुरक्षा खतराका कारण ओरिजिनल लिङ्क पनि हामीले राखेका छैनौं । यद्यपि यहाँ स्क्रिनरेकर्ड भने समावेश गरिएको छ । 

अनुसन्धान

विज्ञापनका रूपमा फेसबुकको फिडमा यो भिडिओ आएपछि टेकपाना फ्याक्टचेक डेस्कले यसको विस्तृत विश्लेषण थाल्यो । सबैभन्दा पहिले यो भिडिओ पोस्ट गर्ने अकाउन्ट नै शंकास्पद देखियो । विदेशी नामको अकाउन्टले नेपाली पडकास्ट अथवा नेपाल सरकारले ल्याएको प्लेटफर्मको प्रचार त्यो पनि किन शुल्क तिरेर गर्नुपर्‍यो । 

त्यसपछि हामीले भिडिओ विश्लेषण गर्‍यौं । भिडिओमा आवाज चौधरी र सिलवालको जस्तो सुनिए पनि त्यसमा केही रोबोटिक्स टोन आएको फेला पर्‍यो । त्यसलाई हाइभ मोडरेसनमा जाँच गर्दा सो भिडिओ ९९.९ प्रतिशत एआई सिर्जित भएको पाइयो । हेर्नुहोस् स्क्रिनशट ।

हामीले वास्तविक भिडिओ खोज्ने क्रममा २० जुन २०२६ मा ‘Sanjay Silwal Gupta’ युट्युब च्यानलमा विनोद चौधरीसँगको १ घण्टा ५७ मिनेट लामो पडकास्ट फेला पार्‍यौं । हेर्नुहोस् पडकास्ट । यसमा कतै पनि विनोद चौधरीले त्यस्तो कुनै प्लेटफर्मको प्रचार गरेका छैनन् जहाँ लगानी गर्दा लाखौं कमाउन सकियोस् । 

यसपछि हामीले यो भिडिओमा प्रयोग गरिएको लिङ्क विश्लेषण गर्‍यौं । लिङ्कलाई सुरक्षित रूपमा स्यान्डबक्समा परीक्षण गर्दा ‘द काठमाडौं पोस्ट’को वेबसाइट जस्तो देखिने नक्कली फिशिङ वेबसाइट रहेको फेला पर्‍यो । काठमाडौं पोस्टका पत्रकार मात्रिका दाहाल र दुर्गा दुलालको जस्तो बाइलाइन देखिएको छ । अर्थात यो आर्टिकल काठमाडौं पोस्टका पत्रकारले लेखेको जस्तो देखाइएको छ । आर्टिकल २० जुलाई २०२६ मा प्रकाशित भएको जस्तो देखाइएको छ । हामीले त्यही शीर्षक राखेर समाचार खोज्यौं । तर, फेला परेन । 

 

यसमा ‘प्राइम औरा’ (Prime Aura) नामको प्लेटफर्म जसलाई नेपाल आयल निगमले समेत लगानी गरेको दाबी गरेको छ । जबकी नेपाल आयल निगमले लगानी गरेको कुनै पनि त्यस्तो प्लेटफर्म फेला परेन । अर्थात यो सबै झुक्याउनका लागि ‘द काठमाडौं पोस्ट’को लोगो र डिजाइन दुरुपयोग गरिएको थियो ।

 

यसमा भएका विभिन्न किसिमका लिङ्क विश्लेषण गर्दा के थाहा भयो भने यो प्रयोगकर्ताको संवेदनशील डेटा चोरी गर्नका लागि डिजाइन गरेको प्लेटफर्म थियो । 

‘हु इज लुकअप’मा यस प्लेटफर्मको विवरण यस्तो देखिन्छ । 

 

लिङ्क क्लिक गरेर वेबसाइटभित्र प्रवेश गर्ने प्रयोगकर्तालाई थप विश्वस्त बनाउन नक्कली कमेन्ट समेत राखेको पाइयो ।
 

 

सीजी ग्रुपले पनि एक विज्ञप्ति जारी गर्दै विनोद चौधरीको तस्बिर र आवाज प्रयोग गरी डिपफेक भिडिओमार्फत ठगी भइरहेको भन्दै सचेत बनाएको समाचार फेला परे । हेर्नुहोस् समाचार

यी विभिन्न तथ्यबाट विनोद चौधरीको भिडिओ र आवाज डिपफेकबाट तयार पारी हुँदै नभएको सरकारी प्लेटफर्मको प्रचार गरिएको पुष्टि हुन्छ । यस्ता लिङ्कमा क्लिक गरेर आफ्ना विवरण राख्दा साइबर आक्रमण समेत हुनसक्ने जोखिम छ ।

दाबी

  • नेपाल सरकारले ल्याएको एउटा लगानी प्लेटफर्म ('प्राइम औरा') मा आज ३८,३१८ रुपैयाँ लगानी गर्दा प्रति हप्ता ५ लाख ३५ हजार ५०० रुपैयाँ आम्दानीको ग्यारेन्टी हुने र पहिलो भुक्तानी भोलिपल्टै बैंक खातामा प्राप्त हुने ।

  • यस प्लेटफर्ममा नेपाल आयल निगमले समेत लगानी गरेको ।

  • उद्यमी विनोद चौधरीले पोडकास्टर सञ्जय सिलवाल गुप्तासँगको अन्तर्वार्तामा यस प्लेटफर्मबारे जानकारी दिएको।

 

दाबीकर्ता 

'Paulo Battista' नामको भेरिफाइड फेसबुक पेज (विज्ञापनका रूपमा बुस्ट गरिएको भिडिओमार्फत) ।

'द काठमाडौँ पोस्ट' को लोगो र पत्रकारहरूको नाम दुरुपयोग गरी बनाइएको नक्कली (फिसिङ) वेबसाइट।

तथ्य

डिपफेक भिडिओ: फेसबुकमा राखिएको भिडिओ वास्तविक नभई एआईको सहायताले तयार पारिएको हो । एआई पहिचान गर्ने टुल ‘हाइभ मोडरेसन’ को जाँच अनुसार यो भिडिओ ९९.९ प्रतिशत एआई सिर्जित भएको पुष्टि भएको छ ।

वास्तविक पडकास्ट: सञ्जय सिलवाल गुप्ताको युट्युब च्यानलमा रहेको विनोद चौधरीसँगको १ घण्टा ५७ मिनेट लामो वास्तविक पडकास्टमा यस्तो कुनै लगानी प्लेटफर्म वा आम्दानीका बारेमा कुराकानी भएको छैन ।

नक्कली वेबसाइट: भिडिओमा राखिएको लिङ्क 'द काठमाडौँ पोस्ट' को आधिकारिक वेबसाइट नभएर त्यसको स्वरूपमा बनाइएको नक्कली क्लोन वेबसाइट हो । यसमा पत्रकारको नक्कली बाइलाइन र नक्कली कमेन्ट राखेर भ्रम फैलाइएको छ ।

सरकारी निकायको संलग्नता: दाबी गरिएको 'प्राइम औरा' नामक प्लेटफर्म र त्यसमा नेपाल आयल निगमले लगानी गरेको भन्ने कुराको कुनै आधिकारिक प्रमाण छैन ।

आधिकारिक खण्डन: सीजी ग्रुपले पनि आधिकारिक विज्ञप्ति जारी गर्दै विनोद चौधरीको तस्बिर र आवाज दुरुपयोग गरी डिपफेक भिडिओमार्फत ठगी भइरहेको भन्दै सचेत गराएको छ ।

निष्कर्ष

सामाजिक सञ्जालमा प्रसारित उक्त भिडिओ र लगानी सम्बन्धी दाबी पूर्ण रूपमा झुटो हो ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८३ १२:५५