काठमाडौँ । देशका दुई ठुला डिजिटल वालेटबिच इन्टरअपरेबिलिटी अर्थात् अन्तर सञ्चालनको गृहकार्य चलिरहेको छ । नेपाल राष्ट्र बैँकले आइतबार सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार इसेवा र खल्ती बाई आईएमईले फोनपे पेमेन्ट सर्भिस लिमिटेडको स्विचमार्फत एक अर्को वालेटमा रकम पठाउन तथा भुक्तानी गर्न मिल्ने गरी अन्तर सञ्चालनको तयारी थालेका हुन् ।
खल्तीका एक अधिकारीका अनुसार फोनपेलाई बिचमा राखेर दुई वालेटबिच इन्टिग्रेसनको काम ‘मोर अर लेस’ यस अघि नै सकिएको हो । उनका अनुसार प्राविधिक रूपमा ‘इन्टिग्रेसन’ भएपनि त्यसलाई लाइभ गर्ने विषय भने बाँकी छ । “यो अहिलेको विषयभन्दा पनि खल्ती र आईएमई पे मर्जरमा जानु अघिकै हो,” ती अधिकारीले भने, “लाइभ जाने बेलामा वालेट मर्जरमा गएपछि भने कन्फ्युजन छ ।”
यद्यपि इसेवा र मर्जरपछि बनेको नयाँ खल्ती वालेटबिच अन्तर सञ्चालनमा जाने विषयमा पहल भने चलिरहेकै छ । “अन्तर सञ्चालनमा गइसकेपछि खल्ती र इसेवाका प्रयोगकर्ताले एक-अर्को वालेट प्रयोगकर्तालाई पैसा पठाउन तथा क्यूआर स्क्यान गर्न सकिने सुविधा उपलब्ध हुन्छ । त्यस क्रममा लाग्ने शुल्कको विषय भने लाइभ जाने निश्चित भएपछि नै निर्धारण हुने कुरा हो,” खल्तीका अधिकारीले भने ।
इसेवाको व्यवस्थापन पक्षले भने प्राविधिक रूपमा दुई वालेटबिच अन्तर सञ्चालनमा जान कुनै समस्या नरहेको बताएको छ । “फोनपे र इसेवाको सिस्टम पहिले देखि नै इन्टरअपरेबल हो । जुन हामीले विभिन्न बैँक तथा वित्तीय संस्थाहरूसँग आबद्ध गरेर प्रयोग ल्याइरहेकै छौँ,” इसेवाका अधिकारीले भने, “त्यसैले खल्तीसँग इन्टिग्रेसन गर्न प्राविधिक रूपमा कुनै अप्ठेरो विषय होइन । प्राविधिक भन्दा पनि दुई ओटा बिजिनेसले एक अर्कासँग काम गर्ने कि नगर्ने र व्यावसायिक रूपमा भोलिको दिनमा कस्तो असर पर्छ भन्ने पाटो सबैभन्दा महत्त्वपूर्ण हो ।”
उनका अनुसार विभिन्न चरणमा दुई वालेटबिच अन्तर सञ्चालनका लागि छलफल भए पनि रोलआउट गर्ने स्तरमा भने पुगिसकेको छैन । “हामीले बिजिनेस अपर्चुनिटीको रूपमा हेरिरहेका छौँ । खल्ती र आईएमई पेको मर्जरपछि वस्तुस्थिति परिवर्तन भएको छ । आईएमईले चलाएको केबुलकारमा इसेवाबाट किन तिर्न मिल्दैन ?,” उनले प्रश्न गर्दै भने, “एकले अर्कालाई कसरी सपोर्ट गर्छ वा सहअस्तित्व स्वीकार गर्छ कि गर्दैन भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । सँगै मिलेर काम गर्दा दुवै पक्षलाई फाइदा हुन्छ भने मात्रै इन्टिग्रेसनमा जाने हो । त्यसैले यो विषय प्राविधिक समस्या नभई बिजिनेसको कुरा हो ।”
एफवन सफ्ट ग्रुप अन्तर्गतको फोनपे नेटवर्कमा भने खल्ती यसअघि नै आबद्ध भइसकेको छ । जसअन्तर्गत फोनपे क्यूआरमा खल्ती एपबाट स्क्यान गरेर सजिलै भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: असोज २७, २०८२ १४:१७
