डिजिटल संसारमा ‘सर्भाइभरशिप बायस’: के हामी एल्गोरिदम र भाइरल सफलताको भ्रममा छौं ?
पुस २१, २०८२ १९:२४
काठमाडौँ । आजको डिजिटल युगमा हामी सामाजिक सञ्जाल खोल्ने बित्तिकै ‘सफल’ मानिसका कथा, करोडौँ कमाउने युनिकर्न स्टार्टअप र रातारात भाइरल भएका भिडिओ देख्छौँ । तर के तपाईँले कहिल्यै सोच्नुभएको छ, हामीले नदेखेका ती लाखौँ मानिसहरू कहाँ छन्, जो असफल भए ?
यसलाई ‘सर्भाइभरशिप बायस’ (Survivorship Bias) भनिन्छ । तर्कमा हुने यो एउटा यस्तो त्रुटि हो, जहाँ हामी कुनै समूहको नतिजा निकाल्दा केवल ‘बाँचेका’ वा ‘सफल भएका’ हरूको तथ्याङ्कलाई मात्र हेर्छौँ र असफल भएकाहरूको ठुलो हिस्सालाई पूर्णतः बेवास्ता गर्छौँ । यसको सबैभन्दा चर्चित उदाहरण दोस्रो विश्वयुद्धमा तथ्याङ्क शास्त्री अब्राहम वाल्डले प्रस्तुत गरेका थिए ।
उनले युद्धबाट फर्केर आएका विमानहरूको अध्ययन गर्दा गोली नलागेका ठाउँमा थप सुरक्षा (आर्मर) राख्न सुझाव दिए । किनकि गोली लागेर पनि फर्किन सफल भएका विमानहरूभन्दा इन्जिनमा गोली लागेर फर्कनै नसकेका विमानहरूको तथ्याङ्क गायब थियो । अहिलेको डिजिटल प्रविधिको संसारमा यो बायस अझ खतरनाक रूपमा देखा परिरहेको छ ।
हामी स्टिभ जब्स, मार्क जुकरबर्ग वा बिल गेट्स जस्ता बिचैमा कलेज छोडेर सफल भएका उद्यमीहरूको कथा सुनेर दङ्ग पर्छौँ । तर ९० प्रतिशत स्टार्टअपहरू असफल हुन्छन् । हामी सफल भएका ती १० प्रतिशतलाई मात्र देख्छौँ र बाँकी ९० प्रतिशत असफल भएकाहरूको कथा अदृश्य हुने भएकाले हामीलाई लाग्छ कि कलेज छोडेर एउटा सानो आइडिया हुनासाथ सफल भइन्छ ।
सामाजिक सञ्जालका एल्गोरिदमहरूले पनि वास्तविकतालाई होइन, बरु भाइरल हुने सामग्रीलाई मात्र प्राथमिकता दिन्छन् । एल्गोरिदमले त्यस्ता सामग्री मात्र देखाउँछ, जसले बढी इङ्गेजमेन्ट पैदा गर्छ र प्लेटफर्मका लागि पैसा कमाइदिन्छ ।
यसले गर्दा सामाजिक सञ्जालका एल्गोरिदमहरू तटस्थ हुँदैनन् । तिनीहरू हाम्रो ध्यानाकर्षण गर्नका लागि (इङ्गेजमेन्ट बढाउन) डिजाइन गरिएका हुन्छन् र सामान्य कुराले भन्दा विवाद, आक्रोश र अतिवादले छिटो इङ्गेजमेन्ट बटुलिरहेको हुन्छ ।
सामाजिक सञ्जालले हामीलाई सधैँ विपरीत विचार राख्नेहरूको सबैभन्दा ‘अतिवादी’ रूप मात्र देखाउँछ । फलस्वरूप हामी अरू मानिसहरूलाई वास्तविकता भन्दा धेरै खराब वा कट्टर ठान्ने गर्छौँ । उदाहरणका लागि यदि तपाईँलाई धरानका मेयर हर्क साम्पाङ मन पर्दैन भने तपाईँ सामाजिक सञ्जालमा उनका एकदमै नकारात्मक वा विवादित भनाइ मात्रै तपाईँले देख्नु हुन्छ । अथवा भनौँ कसैलाई गायिका ज्योती मगरका राजनीतिक विचारले आक्रोशित तुल्याउँछ भने त्यस्ता प्रयोगकर्तालाई उनका सकारात्मकभन्दा नकारात्मक अभिव्यक्तिहरू बढी देखिने गर्छन् ।
यसरी हामीले स्क्रिनमा देखेको त्यो विकृत चित्रलाई नै सत्य मान्दा समाजमा तीव्र रूपमा ध्रुवीकरण बढिरहेको छ । यसले गर्दा हामी एउटा यस्तो रिप्रिजेन्टेड रियालिटी (कृत्रिम वास्तविकता) देख्छौं, जहाँ केवल अतिवादी विचारधारा वा असाधारण सफलता मात्र देखिन्छ । तर ती लाखौँ पोस्टहरू जो कसैको नजरमा परेनन्, ती ‘साइलेन्ट एभिडेन्स’ (मौन प्रमाण) बनेर हराउँछन् ।
च्याटजीपीटी जस्ता एआई मोडेलहरू पनि सर्भाइभरशिप बायसबाट मुक्त छैनन् । यी मोडेलहरूलाई जुन डेटा बढी उपलब्ध छ, त्यही अनुसार तालिम दिइन्छ । यदि इन्टरनेटमा कुनै निश्चित क्षेत्र वा भाषाको मात्र बढी उपस्थिति छ भने एआईले त्यसैलाई मात्र सत्य मान्न थाल्छ ।
उदाहरणका लागि यदि कुनै निश्चित शब्द वा शैली इन्टरनेटमा बढी प्रयोग भएको छ भने एआईले त्यसैलाई दोहोर्याइरहन्छ र बिस्तारै मानिसहरू पनि एआईकै शैलीमा बोल्न र सोच्न थाल्छन् । जसले गर्दा वास्तविक विविधता हराउँदै जान्छ ।
उदाहरणको रूपमा च्याटजीपीटी सार्वजनिक भएयता लिखित पाठहरूमा अङ्ग्रेजी शब्द Delve (गहिराइमा जानु वा खोज्नु) को प्रयोग ह्वात्तै बढेको छ । यसको कारण के हो भने ओपन एआईले आफ्नो मोडेललाई तालिम दिन नाइजेरियाका कामदारहरूलाई प्रयोग गरेको थियो । जहाँको औपचारिक अङ्ग्रेजीमा यो शब्द धेरै प्रयोग हुन्छ । त्यसैले एआईले यो शब्द बारम्बार प्रयोग गर्छ । तर डरलाग्दो कुरा के छ भने अब मानिसहरूले आफ्नो दैनिक बोलीचालीमा पनि Delve शब्दको प्रयोग बढाउन थालेका छन् ।
यो परिघटना भाषामा मात्र सीमित छैन, हाम्रो संस्कृतिमा पनि फैलिएको छ । यसको उदाहरणको रूपमा हाइपरपप (Hyperpop) सङ्गीतलाई लिन सकिन्छ । स्पोटिफाईको एल्गोरिदमले केही प्रयोगकर्ताहरूले एकै प्रकारको अनौठो सङ्गीत सुनिरहेको देख्यो । त्यसलाई एउटा विधाको रूपमा चिनाउन स्पोटिफाईले हाइपरपप नामको प्लेलिस्ट बनायो । जब यो नाम र प्लेलिस्ट बन्यो, कलाकारहरूले पनि त्यही प्लेलिस्टमा पर्नका लागि जानाजान त्यस्तै म्युजिक बनाउन थाले । यहाँ एल्गोरिदमले पहिले भइरहेको कुरालाई चिनेको मात्र होइन, नयाँ विधा नै सिर्जना गरिदियो ।
त्यस्तै टिकटकका ट्रेन्डहरू (जस्तै: लाबुबु डल) मानिसको वास्तविक चाहनाभन्दा पनि भिडिओमा राम्रो देखिने र बिकाउ हुने आधारमा भाइरल हुन्छन् । एल्गोरिदमले जटिल र गहिरा मानवीय चाहनालाई बेवास्ता गर्दै केवल भड्किलो कुरालाई बढावा दिन्छ र हामी त्यसैलाई 'ट्रेन्ड' ठानेर पछि लाग्छौँ ।
प्रविधिको यो जालबाट बच्न हामीले केही प्रश्नहरू आफैलाई सोध्नु जरुरी छ । केवल सफल स्टार्टअपको मात्र होइन, असफल भएकाहरूको कारण पनि खोज्नुहोस् । एल्गोरिदमले मलाई यो सामग्री नै किन देखाउँदैछ ? के यो वास्तविक सत्य हो कि मेरो ध्यान खिचेर पैसा कमाउने माध्यम मात्र हो त ? कि यो कृत्रिम वास्तविकता मात्र हो भन्ने जस्ता प्रश्नको उत्तर खोज्नुहोस् ।
कुनै पनि सफलतामा कडा मिहिनेतसँगै समय, भाग्य र पहुँचको पनि ठुलो हात हुन्छ भन्ने कुरा नबिर्सनुहोस् । यदि हामीले एल्गोरिदमले फिल्टर गरेको वास्तविकतालाई मात्र सत्य मान्दै गयौँ भने हामी 'सर्भाइभरशिप बायस' को सिकार भइरहनेछौँ । डिजिटल संसारको चमकभन्दा बाहिर रहेका 'असफल' र 'अदृश्य' तथ्यहरूलाई बुझ्नु नै वास्तविकतालाई स्विकार गर्नु वा बुझ्न सक्नु हो ।
पछिल्लो अध्यावधिक: पुस २१, २०८२ १९:२४
