काठमाडौं । डोमेन नेम (डोमेनको नाम) इन्टरनेटमा वेब साइटको परिचय दिने एउटा विशिष्ट ठेगाना हो । यसले कुनै वेबसाइटलाई इन्टरनेटमा खोज्न र पहुँच गर्न सजिलो बनाउँछ । यो इन्टरनेटमा कुनै पनि वेबसाइटको ठेगाना अर्थात् एड्रेस हो, जसलाई प्रयोगकर्ता वेब ब्राउजरमा टाइप गरेर त्यस साइटमा पुग्न सक्छन् । उदाहरणका लागि; google.com, techpana.com जस्ता नामहरू डोमेन नेम हुन् ।
डोमेन नेम तपाईंको डिजिटल उपस्थितिको मेरुदण्ड हो । तपाईंको भौतिक ठेगाना वा फोन नम्बर जस्तै, डिजिटल संसारमा दुई समान डोमेन नेम हुन सक्दैनन् । डोमेन नेमलाई आईपी एड्रेसको पोइन्टर भनेर पनि बुझ्न सकिन्छ ।
तपाईंले आफ्नो ब्राउजरको एड्रेस बारमा सर्च गर्ने डोमेन नेम (जस्तै facebook.com) को आईपी एड्रेस (69.63.184.142) लाई ब्राउजर (क्रोम, एज, फायरफक्स आदि) ले पहिचान गर्छ र सम्बन्धित वेब पेजमा पुर्याउँछ ।
डोमेन नेम गोड्याडी (godaddy.com), ओहो डोमेन (Ohodomain.com) जस्ता अनलाइन मार्केटमा गएर किनबेच गर्न पनि सकिन्छ ।
डोमेन नेमका तीन भाग
कुनै पनि वेबपेज जस्तै ‘www.example.com’ मा ‘.com’ टप लेभल डोमेन, ‘example’ सेकेन्ड लेभल डोमेन र ‘www’ सब डोमेन हो । ‘टप लेभल डोमेन’लाई ‘एक्स्टेन्सन’ पनि भनिन्छ । केही धेरै प्रयोग हुने ‘टप लेभल डोमेन’ (TLD) यस्ता छन्:
१. ‘.com’
२. ‘.net’
३. ‘.org’
४. ‘.edu’
देश अनुसार टप लेभल डोमेन अर्थात् कन्ट्री कोड टप लेभल डोमेन (ccTLDs) फरक फरक हुन्छ । जस्तै;
१. ‘.au’ (अस्ट्रेलिया)
२. ‘.ca’ (क्यानडा)
३. ‘.de’ (जर्मनी)
४. ‘.np’ (नेपाल)
५. ‘.in’ (भारत)
‘सेकेन्ड लेभल डोमेन’ टप लेभल डोमेन (TLD) सँग जोडिने तपाईँको डोमेन नाम हो । जस्तै:
त्यस्तै ‘सब डोमेन’ ठूलो डोमेनको एउटा अंश मात्र हो, यो वैकल्पिक हुन्छ । तपाईंले जुन मुख्य डोमेन नेम लिनु भएको छ त्यसैको अघि आफूलाई उचित लाग्ने सबडोमेन नेम छान्न सक्नुहुन्छ । जस्तै www.example.com, blog.example.com, news.example.com आदि ।
नेपालमा कसरी लिने डोमेन नेम ?
डोमेन नेम किन्ने प्रक्रिया निकै सरल छ । नेपालबाट तपाईं अन्तर्राष्ट्रिय र नेपाली दुवै डोमेन रजिस्ट्रारहरूको प्रयोग गर्न सक्नुहुन्छ । नेपालमा तपाईंले मर्कन्टाइल कम्युनिकेसन्स प्रालिको वेबसाइट register.com.np बाट .np डोमेन नेम निःशुल्क दर्ता गर्न सक्नुहुन्छ ।
यदि टप लेभल डोमेन किन्न चाहनुहुन्छ भने नेपालमा त्यस्ता डोमेन नेम खरिद गरिदिने थुप्रै प्लेटफर्म आइसकेका छन् । यदि तपाईंसँग डलर कार्ड छ भने अन्तर्राष्ट्रिय डोमेन नेम प्रदायक जस्तै गोड्याडी (godaddy.com), नेमचिप (namecheap.com), डोमेन डटकम (domain.com), होस्टिन्जर (hostinger.com), ब्लुहोस्ट (bluehost.com) आदिबाट खरिद गर्न सक्नुहुन्छ ।
यिनै प्लेटफर्मबाट आफूलाई उपयुक्त लाग्ने डोमेन नेम सर्च गरेर अर्डर गर्नुहोस् । अर्डर कन्फर्म गर्दा तपाईंले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, ईमेल एड्रेस लगायतका विवरण उपलब्ध गराउनुपर्ने हुन्छ । सबै विवरण उपलब्ध गराइसकेपछि भुक्तानी गर्नुपर्ने हुन्छ ।
त्यसपछि ती प्लेटफर्ममा अकाउन्ट बनाएर त्यसैबाट आफ्नो डोमेन नेम प्रयोग गर्न सक्नुहुन्छ । नेम सर्भर परिवर्तन, डोमेन रिन्यु तथा अन्य व्यवस्थापनका काम गर्नका लागि उक्त अकाउन्ट महत्त्वपूर्ण हुन्छ ।
यदि तपाईं .np डोमेन लिन चाहनुहुन्छ भने केही कागजात आवश्यक पर्छ । व्यक्तिगत प्रयोगका लागि आफ्नो नामसँग मेल खाने डोमेनको लागि आफ्नो नागरिकता, पासपोर्ट वा अन्य पहिचान पत्र पेश गर्नुहोस् । त्यस्तै व्यवसायका लागि दर्ता प्रमाणपत्र र लोगो सहित आवेदन दिनुपर्छ ।
डोमेन खरिद गरिसकेपछि होस्टिङ खरिद गर्नुपर्ने हुन्छ । अधिकांश डोमेन प्रदायकले नै होस्टिङ उपलब्ध गराउने हुँदा आफूले डोमेन नेम लिएको प्रदायकबाट होस्टिङ सेवा लिन सक्नुहुन्छ ।
वेबसाइटका सबै सामग्रीहरू (फाइल, डेटावेस, तस्बिरहरू) का लागि इन्टरनेटमा एक सुरक्षित स्थान प्राप्त गर्नु नै होस्टिङ सेवा लिनु हो । यसले तपाईंको वेबसाइटलाई विश्वभरका प्रयोगकर्ताको पहुँचमा उपलब्ध गराउँछ ।
ब्लग, सामान्य जानकारी वा साना व्यवसायका लागि शेयर्ड होस्टिङ (Shared Hosting) उपयुक्त हुन्छ । त्यस्तै ईकमर्स साइट, उच्च ट्राफिक आउने वेबसाइटका लागि भीपीएस (Virtual Private Server) वा क्लाउड होस्टिङ उपयुक्त हुन्छ, जसमा उच्च गतिको सेवा र सुरक्षा पाइन्छ ।
होस्टिङ सेवा लिनुअघि यसको अवधि (१ महिना, १ वर्ष वा ३ वर्ष) र मूल्य हेरी आफ्नो बजेटमा मिल्ने योजना छनोट गर्नुहोस् । केही प्रदायकहरूले निःशुल्क डोमेन, ईमेल होस्टिङ, एसएसएल सर्टिफिकेटजस्ता सुविधा पनि प्रदान गर्छन्, जसले तपाईँको लागत घटाउन मद्दत गर्छ ।
नेपालका होस्टिङ प्रदायकहरूले ईसेवा, खल्ती, बैंक ट्रान्सफर लगायतका भुक्तानी विकल्पहरू उपलब्ध गराउँछन् भने अन्तर्राष्ट्रिय होस्टिङ प्रदायकहरूमा क्रेडिट कार्ड वा PayPal जस्ता विकल्पहरू उपलब्ध हुन्छन् ।
आफ्नो योजना चयन गरी, आवश्यक जानकारी (जस्तै, डोमेन नाम, ईमेल ठेगाना) भरि भुक्तानी प्रक्रिया पूरा गर्नुहोस् । नेपालका होस्टिङ प्रदायकहरूले ईसेवा, खल्ती, बैंक ट्रान्सफर लगायतका भुक्तानी विकल्पहरू उपलब्ध गराउँछन् भने अन्तर्राष्ट्रिय होस्टिङ प्रदायकहरूमा क्रेडिट कार्ड वा पेपल जस्ता विकल्पहरू उपलब्ध हुन्छन् ।
होस्टिङ सेवा खरिद गरेपछि तपाईंले आफ्नो वेबसाइट सेटअप गर्न सीप्यानल (cPanel) वा अन्य होस्टिङ व्यवस्थापन प्लेटफर्ममार्फत काम सुरु गर्न सक्नुहुन्छ । यहाँ तपाईंले वेबसाइटको सामग्री अपलोड, सीएमएस (जस्तै वर्डप्रेस) इन्स्टल गर्ने सुविधा प्राप्त गर्नुहुन्छ ।
यसरी, आफ्नो आवश्यकताअनुसार होस्टिङ सेवा छनोट गरेर सजिलै आफ्नो वेबसाइटलाई अनलाइनमा उपलब्ध गराउन सकिन्छ । राम्रो सेवा प्रदायक चयन गर्दा ग्राहक सेवा, अपटाइम ग्यारेन्टी, सुरक्षा सुविधा लगायतमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।