नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजबाट ‘स्पाम’ फैलाउने अकाउन्टलाई ‘फलो’ !
माघ ३, २०८२ १६:३१
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजले शङ्कास्पद र स्पाम फैलाउने नक्कली अकाउन्टलाई ‘फलो गरेको’ पाइएको छ । साढे तीन लाख हाराहारी फलोअर रहेको पार्टीको भेरिफाइड फेसबुक पेजले जम्मा दुई ओटा अकाउन्टलाई मात्र फलो गरेको छ, जसमध्ये एउटा ‘नक्कली’ देखिएको हो ।
कांग्रेसको आधिकारिक पेजले फलो गरेका दुई अकाउन्टमध्ये एउटा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक पेज हो भने अर्को भियतनामबाट सञ्चालित ‘हिस्टोरिया मुन्डायल’ (Historia Mundial) नामक पेज रहेको छ ।
यस पेजको पृष्ठभूमि निकै शङ्कास्पद देखिन्छ । सन् २०२३ मा ‘फातिमा एरियास’ को नामबाट खोलिएको यो पेजपछि ‘फातिमा एरियास फ्यान्स’ बनाइएको थियो । यसको अर्थ पहिले कुनै सेलिब्रिटीको नाम राखेर फलोअर बटुलेको यस पेजले पछि नाम फेरेको स्पष्ट हुन्छ ।
त्यसपछि सन् २०२४ मा आएर यसको नाम परिवर्तन गरी ‘हिस्टोरिया मुन्डायल’ राखिएको हो । यसको गतिविधि र नाम परिवर्तनको शृङ्खला हेर्दा यो पेज ह्याक भएको वा कसैले खरिद गरेर चलाएको हुनसक्ने अनुमान गरिएको छ ।
उक्त पेजले एआईबाट बनाइएका तस्बिर प्रयोग गर्दै ‘chainitai[.]com’ नामक डोमेनका लिङ्क शेयर गरिरहेको छ । यसको मुख्य उद्देश्य क्लिकबेटमार्फत प्रयोगकर्तालाई झुक्याएर आफ्नो वेबसाइटमा लैजानु देखिन्छ । यस पेजले शेयर गर्ने कतिपय लिङ्कहरूमा अश्लीलजन्य तस्बिर र सामग्री समेत प्रयोग गरी प्रयोगकर्तालाई आकर्षित गर्न खोजिएको पाइएको छ ।
देशको ठुलो लोकतान्त्रिक पार्टीको आधिकारिक सञ्जालबाट यस्ता स्पाम फैलाउने र विवादास्पद पेजलाई फलो गरिनुले कांग्रेसको सोसल मिडिया व्यवस्थापनमा गम्भीर लापरवाही भइरहेको विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: माघ ३, २०८२ १६:३८
