विश्वकै चर्चित राइड-हेलिङ प्लेटफर्म ‘उबर’ नेपाल आउने सङ्केत, चालक र यात्रुको दर्ता सुरु
जेठ १, २०८३ १५:२८
काठमाडौँ । विश्वको सबैभन्दा ठुलो राइड-हेलिङ प्लेटफर्म ‘उबर’ ले नेपाली बजारमा सेवा विस्तार गर्ने तयारी थालेको छ । कम्पनीले नेपालमा आधिकारिक रूपमा सेवा सञ्चालन गर्नुअघि चालक र यात्रुलाई आफ्नो प्रणालीमा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको छ ।
गुगल प्ले स्टोरमा १० करोड बढी पटक डाउनलोड भइसकेको उबरको एपमार्फत अहिले नेपाली चालक तथा यात्रुले आफ्नो विवरण दर्ता गराउन सक्ने सुविधा खुला गरिएको छ । विशेषगरी, एपमा दर्ता प्रक्रियाका लागि आवश्यक पर्ने सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी धनीपुर्जा (ब्लुबुक) को नमुना (स्याम्पल डकुमेन्ट) नेपाली भाषा र नेपाली स्वरूपमै राखिएको छ ।

कम्पनीले तोकेका सबै प्रक्रिया पूरा गरेर नेपाली चालकले आफ्नो सवारी उबरमा दर्ता गर्न सक्नेछन् ।

त्यसैगरी उबरको आधिकारिक वेबसाइटमा नेपालका लागि छुट्टै नयाँ पेज क्रियट भएको छ, जहाँ हाललाई लोकेसनको नाम ‘मुस्ताङ’ सेट गरिएको छ । उबरको यात्रुले प्रयोग गर्ने एप पनि नेपालमा डाउनलोड गरी आफ्नो विवरण र लोकेसन राख्न सकिने छ ।

यात्रुको सन्दर्भमा भने इन्बक्समा छुट रकम समेतको व्यवस्था गरिएको छ । ३० रुपैयाँ र १५ रुपैयाँको छुट दिने उल्लेख गरिएको छ ।

यी सम्पूर्ण गतिविधिले उबर छिट्टै नेपालमा आउने सङ्केत गरेको देखिन्छ ।
उबर अमेरिकी बहुराष्ट्रिय राइड-हेलिङ प्लेटफर्म हो । कम्पनीले स्वतन्त्र रूपमा काम गर्न चाहने चालक (कार, मोटरसाइकल धनी) र सवारी साधन खोजिरहेका यात्रुलाई प्रविधिको माध्यमबाट जोड्छ र त्यसबापत निश्चित कमिसन लिन्छ ।
सन् २००९ मा ट्राभिस कलानिक र ग्यारेट क्याम्पले उबर स्थापना गरेका थिए । यस कम्पनीले सन् २०१० जुलाईमा सान फ्रान्सिस्कोमा पहिलो राइड गरेको थियो । सन् २०११ डिसेम्बरदेखि उबर अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको थियो ।
उबरले हाल विश्वका ७० भन्दा बढी देशका १० हजार बढी सहरमा आफ्नो सेवा विस्तार गरिसकेको छ । राइड-हेलिङ बाहेक उबरले खाना डेलिभरी गर्ने ‘उबर इट्स’, भाडामा गाडी उपलब्ध गराउने, सामान ढुवानी गर्ने ‘उबर फ्रेट’ र कर्पोरेट क्षेत्रका लागि ‘उबर फर बिजनेस’ जस्ता सेवा पनि सञ्चालन गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८३ १५:४८
