व्यावसायिक संस्थाका लागि आकाशटेलको ‘सर्भे मोड्युल’, एक कलमै हजारौँ ग्राहकको प्रतिक्रिया लिन सकिने
जेठ १, २०८३ १८:५५
काठमाडौँ । डिजिटल सञ्चार सेवा प्रदायक कम्पनी आकाशटेलले व्यावसायिक संस्थाहरूलाई लक्षित गर्दै नयाँ ‘सर्भे मोड्युल’ सार्वजनिक गरेको छ । यस मोड्युलमार्फत व्यवसायीहरूले आफ्ना ग्राहकका फिडब्याक (प्रतिक्रिया), राय तथा आवश्यक जानकारीहरू सहज र स्वचालित रूपमा संकलन गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो प्रणालीले एकै पटक ठुलो संख्यामा ग्राहकलाई स्वचालित रूपमा फोन गरी उनीहरूको प्रतिक्रिया लिन, सेवाको गुणस्तर मापन गर्न र आवश्यक फलोअप गर्न मद्दत गर्नेछ । यसमा एजेन्ट (कर्मचारी), आईभीआर (इन्टरयाक्टिभ भ्वाइस रेस्पोन्स) वा दुवैको सम्मिश्रण (हाइब्रिड) प्रयोग गरी सर्भे सञ्चालन गर्न सकिने सुविधा छ ।
नेपालमा अझै पनि धेरै संस्था ग्राहकको फिडब्याक लिन म्यानुअल कल र स्प्रेडसिट प्रणालीमा निर्भर रहेको कम्पनीका उपाध्यक्ष राजन कोइराला बताउँछन् । “यस्तो परम्परागत विधिले समय र स्रोत दुवै बढी खर्च भइरहेको छ,” कोइराला भन्छन्, “आकाशटेलको यो नयाँ सिस्टमले सबै प्रक्रियालाई अटोमेट गरेर व्यवसायीलाई आफ्ना ग्राहकसँग निरन्तर र प्रभावकारी रूपमा जोडिन सहयोग पुर्याउनेछ ।”
यसले ग्राहक सन्तुष्टि बढाउनुका साथै तथ्याङ्कमा आधारित भएर आगामी व्यावसायिक योजना बनाउन समेत मद्दत गर्ने उनको दाबी छ ।
कम्पनीले बजारको माग र आवश्यकतालाई ध्यानमा राख्दै तीन फरक प्रकारका सर्भे मोड्युल उपलब्ध गराएको छ:
१. पोस्ट कल सर्भे: यो प्रणालीमा ग्राहक र एजेन्टबिचको कुराकानी सकिएपछि तुरुन्तै फिडब्याक संकलन गरिन्छ । यसले सेवाको गुणस्तर, डेलिभरी पुष्टि वा एजेन्टको कार्यसम्पादन मूल्याङ्कन गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ ।
२. पावर डाइलर मोड्युल: धेरै सङ्ख्यामा आउटबाउन्ड कल गर्नुपर्ने व्यवसायका लागि यो उपयुक्त छ । यसले एआईमार्फत ग्राहकको सूचीबाट स्वचालित रूपमा कल असाइन गरी एजेन्टको कार्यदक्षता बढाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
३. स्मार्ट सर्भे डाइलर: ग्राहकसँग प्रत्यक्ष संवाद गर्दै ‘लाइभ’ रूपमा जानकारी संकलन गर्न यस प्रणालीले सघाउँछ । यसमा एजेन्टले कुराकानीकै क्रममा ग्राहकको प्रतिक्रिया दर्ता गर्न सक्छन् वा ग्राहकले आईभीआरमार्फत आफैँ उत्तर दिन सक्छन् । यो प्रणाली विशेषगरी बैंकिङ प्रमाणीकरण, बीमा पुष्टि, टेलिमार्केटिङ र फिल्ड भेरिफिकेसनका लागि उपयोगी हुने बताइएको छ ।
आकाशटेलको यो मोड्युलमा अटोमेटेड बल्क कलिङ, लचिलो सर्भे विधि, क्याम्पेन असाइनमेन्ट, सर्भे टेम्प्लेट, कल टाइमर, ग्याप कन्ट्रोल, कल रेकर्डिङ र ‘रिट्राइ एटेम्प्ट म्यानेजमेन्ट’ जस्ता सुविधा छन् । यी फिचरले एकै पटक हजारौँ ग्राहकमा कुनै पनि अभियान सञ्चालन गर्न, विभाग वा एजेन्टअनुसार काम बाँड्न र आवश्यकताअनुसार सर्भे फारमहरू पुनः प्रयोग गर्न सहज बनाउने उपाध्यक्ष राजन कोइराला बताउँछन् ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८३ १९:१४
