नेपालको पहिलो ओटीटी एप नेटटिभीले पायो आधिकारिक लाइसेन्स, मुभी, वेब सिरिज र लाइभ टिभी उपलब्ध
असार १५, २०८३ १९:३९
काठमाडौं । नेपालकै पहिलो ओटीटी एप नेटटिभीले सरकारबाट ओभर-द-टप (ओटीटी) प्रसारण सेवा सञ्चालनको आधिकारिक लाइसेन्स प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले कम्पनीलाई यो इजाजतपत्र प्रदान गरेको हो ।
नेपालकै पहिलो आईपीटिभी सेवा प्रदायकका रूपमा रहेको नेटटिभीले सन् २०१७ मै आफ्नो ओटीटी एप सार्वजनिक गरेको थियो । लामो समयदेखि नेपाली दर्शकलाई इन्टरनेटमार्फत डिजिटल कन्टेन्ट पस्किँदै आएको कम्पनीले अब भने औपचारिक रूपमै सरकारी मापदण्ड पुरा गरी ओटीटी सञ्चालनको आधिकारिक लाइसेन्स हात पारेको हो ।
सूचना तथा प्रसारण विभागले प्रदान गरेको यो इजाजतपत्रसँगै नेटटिभीले आफ्नो मोबाइल एप (NetTV) र आधिकारिक वेबसाइट (nettv.com.np) मार्फत नेपालभर २४सै घण्टा ओटीटी प्रसारण सेवा प्रदान गर्न पाउनेछ । यसअन्तर्गत कम्पनीले नेपाली, अङ्ग्रेजी, हिन्दी लगायतका अन्य भाषाहरूमा टेलिभिजन च्यानल, विदेशी कार्यक्रम र अन्य उत्कृष्ट डिजिटल कन्टेन्टहरू प्रसारण गर्न सक्नेछ ।
प्रविधिको विकाससँगै दर्शकको बदलिँदो चाहनालाई ध्यानमा राख्दै नेटटिभीले 'एउटै सब्सक्रिप्सन, असीमित मनोरञ्जन'को नारा अघि सारेको छ । आधिकारिक लाइसेन्स प्राप्त गरेसँगै कम्पनीका सीईओ निरन राजभण्डारीले आफ्ना प्रयोगकर्ताहरूका लागि पहिलेभन्दा अझ धेरै र उत्कृष्ट कन्टेन्टहरू उपलब्ध गराउने जानकारी दिए ।
हाल नेटटिभी एपमा विभिन्न विधाका १००० भन्दा बढी उत्कृष्ट तथा ब्लकबस्टर चलचित्रहरूको विशाल सङ्ग्रह तयार भइसकेको छ । त्यस्तै यसमा दर्शकले अत्यधिक रुचाएका स्वदेशी तथा विदेशी वेब सिरिज र ड्रामा समेत उपलब्ध छन् ।
यसका साथै लाइभ स्पोर्ट्स तथा लाइभ टिभीको सुविधा पनि नेटटिभीले दिँदै आएको छ । प्रयोगकर्ताले आफ्नो समय अनुकूल जुनसुकै स्थानबाट मोबाइल, ट्याब्लेट वा टिभी स्क्रिनमा नेटटिभीका विविध खाले कन्टेन्टहरू हेर्न सक्छन् । तपाईंले गुगल प्ले स्टोर तथा आईओएस एप स्टोटरबाट नेटटिभी एप डाउनलोड गर्न सक्नु हुन्छ ।
पछिल्लो अध्यावधिक: असार १५, २०८३ १९:३९
