साइबर अपराध विरुद्ध इन्टरपोलको अहिलेसम्मकै ठुलो कारबाही, मध्य पूर्व र उत्तर अफ्रिकाबाट २०१ जना पक्राउ
जेठ ५, २०८३ १२:३०
काठमाडौँ । इन्टरपोलको नेतृत्वमा मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा गरिएको अहिलेसम्मकै ठुलो र पहिलो किसिमको साइबर अपराध विरोधी कारबाहीमा २०१ जनालाई पक्राउ गरिएको छ । 'अपरेसन रम्ज' (Operation Ramz) नाम दिइएको यो ऐतिहासिक अभियानले यस क्षेत्रका १३ देशहरूमा फैलिएका साइबर अपराधीहरूको सञ्जाललाई ध्वस्त पारेको हो ।
अक्टोबर २०२५ देखि २८ फेब्रुअरी, २०२६ सम्म सञ्चालन भएको यो अपरेसनमा अल्जेरिया, बहराइन, इजिप्ट, इराक, जोर्डन, लेबनान, लिबिया, मोरक्को, ओमान, प्यालेस्टाइन, कतार, ट्युनिसिया र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी थिए । इन्टरपोलका अनुसार यो अभियानको मुख्य उद्देश्य फिशिङ, मालवेयर र वित्तीय ठगी जस्ता गम्भीर साइबर खतराहरूलाई निष्क्रिय पार्नु थियो ।
कारबाहीका क्रममा २०१ जनालाई गिरफ्तार गरिएको छ भने थप ३८२ जना सन्दिग्धहरूको पहिचान भएको छ । विभिन्न साइबर ठगीबाट प्रभावित ३,८६७ जना पीडितहरूको पहिचान गरिएको छ ।
अपराधीहरूले प्रयोग गर्ने ५३ वटा सर्भरहरू र ठुलो मात्रामा विद्युतीय उपकरणहरू कब्जामा लिइएको छ । यसबिच अनुसन्धानलाई सहयोग पुर्याउन सहभागी देशहरूबिच करिब ८,००० वटा महत्त्वपूर्ण खुफिया जानकारी आदानप्रदान भएका छन् ।
यस अपरेसनका क्रममा धेरै देशहरूमा नाटकीय छापा मारिएको थियो । जोर्डन प्रहरीले वित्तीय ठगी सञ्चालन गरिरहेको एउटा स्थानमा छापा मार्दा १५ जना कामदारहरूलाई फेला पारेको थियो । ती १५ जना एसियाली देशहरूबाट राम्रो रोजगारीको प्रलोभनमा आएका तथा मानव बेचबिखनका पीडितहरू रहेको कुरा अनुसन्धानबाट खुलेको छ । उनीहरूको राहदानी जफत गरी जबरजस्ती ठगी कार्यमा लगाइएको थियो । प्रहरीले यो गिरोह चलाउने दुई मुख्य योजनाकारहरूलाई समेत पक्राउ गरेको छ ।
त्यस्तै अल्जेरियाली अधिकारीहरूले 'फिशिङ-एज-अ-सर्भिस' उपलब्ध गराउने एउटा वेबसाइट र सर्भरलाई ध्वस्त पारेका छन् । सो क्रममा फिशिङ सफ्टवेयर र स्क्रिप्ट सहितका उपकरणहरू जफत गरी एक सन्दिग्धलाई हिरासतमा लिइएको छ ।
यसैगरी मोरक्कोमा बैङ्क विवरणहरू र फिशिङका लागि प्रयोग हुने सफ्टवेयर लोड गरिएका कम्प्युटर र हार्ड ड्राइभहरू बरामद गरिएको छ । यस सम्बन्धमा तीन जनामाथि कानुनी प्रक्रिया सुरु भइसकेको छ ।
ओमानमा पनि एउटा निजी निवासमा रहेको मालवेयर सङ्क्रमित संवेदनशील सर्भरलाई निष्क्रिय पारिएको छ । कतारमा प्रयोगकर्ताहरूलाई थाहै नदिई माल्वेयर फैलाउन प्रयोग भइरहेका उपकरणहरू पहिचान गरी सुरक्षित बनाइएको छ र सम्बन्धित धनीहरूलाई सचेत गराइएको छ ।
इन्टरपोलका साइबर अपराध निर्देशक निल जेट्टनले साइबर अपराधीहरूले सिमाना नभएको डिजिटल जगतको फाइदा उठाउने भएकाले यसलाई रोक्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन् । यो अपरेसन कतारको गृह मन्त्रालयको सहयोग र युरोपेली सङ्घ (ईयू) तथा काउन्सिल अफ युरोपको साइबरसाउथ प्लस परियोजनाको आंशिक लगानीमा सम्पन्न भएको हो ।
यस अभियानमा ग्रुप-आईबी, कास्पर्स्काई, श्याडोसर्भर फाउन्डेसन, टिम साइम्रु र र ट्रेन्डएआई जस्ता निजी क्षेत्रका प्रमुख साइबर सुरक्षा कम्पनीहरूले प्राविधिक सहयोग र खुफिया जानकारी उपलब्ध गराएका थिए । निजी क्षेत्रका साझेदारहरूले यस सफलतालाई 'सीमाना विहीन अपराध विरुद्धको सीमाना विहीन प्रतिक्रिया' को रूपमा चित्रण गरेका छन् ।
यो कारबाहीले मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा साइबर अपराध विरुद्ध लड्न बलियो जग बसालेको छ भने भविष्यका अनुसन्धानहरूका लागि समेत महत्त्वपूर्ण तथ्याङ्कहरू प्रदान गरेको विज्ञहरूको बुझाइ छ
पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ १२:३०
