close

फेसबुकमा ब्ल्याकमेल, कम्प्युटर इन्जिनियर युवतीबाट १ करोड १० लाख असुलेका आरोपी हिरासतबाटै फरार

टेकपाना टेकपाना

असार ३१, २०८३ ११:२९

फेसबुकमा ब्ल्याकमेल, कम्प्युटर इन्जिनियर युवतीबाट १ करोड १० लाख असुलेका आरोपी हिरासतबाटै फरार

काठमाडौं । एउटा अन्जान फ्रेन्ड रिक्वेस्ट, केही दिनको औपचारिकता र त्यसपछि सुरु भएको 'आत्मीय' कुराकानी कसरी एउटा भयानक सपनामा परिणत हुन सक्छ भन्ने एउटा कारुणिक कथा । यो कथा काठमाडौं जिल्ला अदालतको मिसिलमा सुरक्षित छ ।

अस्ट्रेलिया उड्ने सपना बुनेकी एक कम्प्युटर इन्जिनियर युवतीले सामाजिक सञ्जालको एउटा जालोमा फसेर १ करोड १० लाख रुपैयाँ मात्र गुमाइनन्, आफ्नो आत्मसम्मान र मानसिक शान्ति समेत गुमाउन पुगेकी छिन् । उनको यो भोगाई कुनै चलचित्रको पटकथाभन्दा कम छैन ।

महोत्तरीको जलेश्वर नगरपालिका–७ का २२ वर्षीय मानषराज शर्मा र कम्प्युटर इन्जिनियर सुश्रीया अर्याल (नाम परिवर्तन) बीचको भेट फेसबुकबाट भएको थियो । मानषले सुनुवार आजिकेल नामक फेसबुक अकाउन्ट प्रयोग गर्थे । उनले आफूलाई बस व्यवसायीको रूपमा चिनाएका थिए । अस्ट्रेलिया जान तयारी गरिरहेकी सुश्रीयालाई मानषले आफूले ठुलो रकम ऋण मिलाइदिन सक्ने प्रलोभन देखाए । त्यही 'ऋण' लिने प्रक्रिया नै सुश्रीयाका लागि बर्बादीको सुरुवात बन्यो ।

विश्वासको मूल्य १ करोड १० लाख

मानषले सुरुमा ऋणको सुरक्षा (Security) का लागि केही रकम जम्मा गर्नुपर्ने बताए । सुश्रीयाले विश्वास गरिन् । सुरुमा हजुरआमाको खाताबाट २० हजार रुपैयाँ पठाइन् । मानषले 'आफ्नो खाताबाट पठाए मात्र प्रक्रिया अघि बढ्ने' भन्दै थप रकम माग्न थाले । विश्वास दिलाउन उनले सुश्रीयाको नागरिकता लगायतका विवरण मागेर नक्कली लोन पेपर तयार पारे ।

एक कम्प्युटर इन्जिनियर, जसले प्रविधिको संसार बुझ्थिन्, उनी अस्ट्रेलिया जाने सपनाको अगाडि मानषका हरेक सर्त मान्दै गइन् । मानषले कहिले आफू बिरामी भएर अस्पतालमा भर्ना भएको त कहिले आफ्नो बैंक खाता ब्लक भएको झुटो बहाना बनाएर सुश्रीयासँग पैसा मागिरहे । पैसा दिने क्रममा सुश्रीयाले काठमाडौंको टोखामा रहेको आफ्नी हजुरआमा नीला खत्यौडा अर्यालको नामको जग्गा समेत बिक्री गर्नु पर्‍यो । त्यतिले मात्र नपुगेर उनले विजयश्री बहुउद्देश्यीय सहकारी संस्थाबाट समेत ऋण लिइन् ।

सुश्रीयाले ग्लोबल आईएमई, लक्ष्मी सनराइज, नबिल, नेपाल एसबीआई र सिद्धार्थ बैंकका आफ्ना र हजुरआमाका खाताहरूबाट मानष, दीपिका विष्ट र रवि पटेलको खातामा पटक–पटक गरी कुल १ करोड १० लाख २६ हजार १७१ रुपैयाँ जम्मा गरिन् । तर, ऋण पाउनु त परको कुरा, आफूले दिएको पैसा फिर्ता पाउनै सुश्रीयाका लागि फलामको चिउरा चपाउनु सरह भयो ।

पैसा असुल्न नग्न भिडिओको अस्त्र

जब सुश्रीयाले आफ्नो पैसा फिर्ता माग्न थालिन्, मानषले आफ्नो असली रूप देखाउन सुरु गरे । उनले पैसा फिर्ता गर्ने सर्तमा सुश्रीयालाई सिनामङ्गलको एउटा होटेलमा भेट्न बोलाए । तर, सुश्रीयाले जान मानिनन् । त्यसपछि मानषले नयाँ पासो थापे । उनले भने, "नग्न तस्बिर र भिडिओ पठाए मात्र सबै पैसा फिर्ता गर्छु, नत्र बैंकमा फोन गरेर पैसा रोक्का गरिदिन्छु ।"

फसेको ठुलो रकम फिर्ता पाउने आशमा सुश्रीयाले आफ्नो विवशताको पहाड थिच्दै आफ्ना व्यक्तिगत तस्बिर र भिडिओहरू मानषलाई पठाउन बाध्य भइन् । तर, ती भिडिओहरू नै उनका लागि ब्ल्याकमेलिङको हतियार बने । मानषले ती भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने र परिवारलाई पठाइदिने धम्की दिन थाले । उनले सुश्रीया र उनकी हजुरआमालाई समेत जेल हालिदिने भन्दै मानसिक त्रासदीमा राख्दै गए ।

हिरासतबाटै रहस्यमय ढङ्गले फरार 

सुश्रीयाको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान सुरु गर्‍यो । ८ भदौ, २०८२ मा मानष पक्राउ परे । प्रहरीले उनको साथबाट दुई वटा मोबाइल बरामद गर्‍यो, जसमा ठगी र ब्ल्याकमेलिङका प्रमाणहरू सुरक्षित थिए । मानषले बयानमा आफूले पैसा लिएको स्वीकार गरे पनि धेरैजसो रकम आफ्ना साथीहरू गोविन्द पटेल र निशान्त कुमारलाई बुझाएको र आफूले ५ लाख मात्र कमिसन खाएको दाबी गरे ।

तर, यो कथामा एउटा नाटकीय मोड तब आयो, जब मानष प्रहरी वृत्त दरबारमार्गको हिरासतमा थिए । २३ र २४ भदौ, २०८२ मा देशभर जेनजी आन्दोलनको चर्किरहेको थियो । सडकमा प्रदर्शनकारी र प्रहरीको मुठभेड भइरहेको मौका छोपेर मानष २४ भदौमा हिरासतबाटै फरार भए । सुरक्षा व्यवस्था कडा मानिने दरबारमार्ग वृत्तबाटै एक करोड बढीको ठगी र अश्लील भिडिओमार्फत ब्ल्याकमेल गर्ने अपराधी भागे ।

फरार अवस्थामै अदालतमा मुद्दा

मानष फरार रहेकै अवस्थामा सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनी विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ बमोजिम ठगीको कसुरमा सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिबानाको माग गरिएको छ । साथै, पीडित सुश्रीयालाई ठगी भएको १ करोड १० लाख २६ हजार १७१ रुपैयाँ बिगो र उचित क्षतिपूर्ति भराउन समेत माग गरिएको छ ।

आज सुश्रीया न्यायको पर्खाइमा छिन् । उनले गुमाएको रकम उनको परिवारको वर्षौँको कमाइ र पसिनाको मूल्य थियो । एउटा इन्जिनियर युवती, जो प्रविधिको संसार बुझ्थिन्, उनी नै प्रविधिको आडमा गरिएको एउटा क्रूर आपराधिक षड्यन्त्रको सिकार भइन् । मानष अझै फरार छन् । 

यो घटनाले डिजिटल युगमा एउटा सानो असावधानीले कति ठुलो मूल्य चुकाउनुपर्छ भन्ने भयावह यथार्थलाई फेरि एक पटक उजागर गरिदिएको छ ।

यो घटनाले हामीलाई एउटा गम्भीर प्रश्न छोडेको छ- के हामीले सामाजिक सञ्जालमा गर्ने सानो विश्वासले हाम्रो जीवनभरको कमाइ र प्रतिष्ठालाई जोखिममा त पारिरहेका छैनौँ ? सुश्रीयाको कथा केवल एउटा ठगीको कथा मात्र होइन, यो हाम्रो डिजिटल युगको एउटा तितो यथार्थ हो । प्रविधिले दूरी त घटाएको छ, तर विश्वास र सुरक्षाको खाडललाई भने झन् गहिरो बनाइदिएको छ ।

साइबर ब्यूरोका अधिकारीहरूका अनुसार, यस्ता घटनाहरूमा अपराधीले पीडितको कमजोरी र सपनालाई हतियार बनाउने गर्छन् । सुश्रीयाको हकमा उनको अस्ट्रेलिया जाने सपना नै मानषका लागि ठगीको सबैभन्दा ठुलो औजार बन्यो । अपराधीले सुरुमा सानो रकम माग्ने, त्यसपछि विश्वास दिलाउने र अन्त्यमा ब्ल्याकमेलिङको चरणमा पुगेर पीडितलाई मानसिक रूपमा नै नियन्त्रणमा लिने गर्छन् ।

प्रहरी वृत्त दरबारमार्गबाट मानष फरार भएसँगै पीडित सुश्रीया र उनको परिवारका लागि भने न्याय अझै टाढा देखिन्छ । १ करोड १० लाखको बिगो, सात वर्षको कैद माग दाबी र एउटा फरार अपराधी । न्यायको पर्खाइमा अदालतको ढोका ढकढक्याइरहेकी सुश्रीया आफ्नो गुमेको आत्मविश्वास र शान्ति फर्काउने कोसिसमा छिन् ।

 

पछिल्लो अध्यावधिक: असार ३१, २०८३ ११:३३