फ्याक्टचेक: वाईफाईको तार जोड्ने क्रममा करेन्ट लागेर आमा-छोरी गम्भीर घाइते भएको भन्दै भाइरल फोटो फेक
जेठ ८, २०८३ २१:४९
काठमाडौँ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा वाई-फाईको तार जोड्ने क्रममा एक महिलालाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा छोरी पनि गम्भीर घाइते भएको दाबीसहित केही तस्बिरहरू भाइरल भइरहेका छन् । दाङको घोराहीमा आमा-छोरी करेन्ट लागेर गम्भीर घाइते भएको भन्दै यी सामग्रीहरू फेसबुकमा फैलाइएका हुन् ।
तर, टेकपानाको अनुसन्धानबाट सामाजिक सञ्जालमा भाइरल भएका यी दाबी र तस्बिरहरू पूर्णतः झुटो रहेको पुष्टि भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बनाइएका यी तस्बिरहरू मानिसहरूको सहानुभूति बटुल्ने र भ्युज बढाउने गलत उद्देश्यले फैलाइएको पाइएको छ ।
दाबी
फेसबुक पेज ‘नेपाली हुनुमा गर्व गर्छौ - nepal’ बाट २० मे २०२६ राति ९:३४ मा एक पोस्ट शेयर भएको छ । उक्त पोस्टमा एक महिला र सानी बालिका भुइँमा अचेत अवस्थामा लडेको देखिन्छ । महिलाको हातमा तार छ भने छेवैमा सकेट प्लक र वाईफाईको राउटर समेत देखाइएको छ । पोस्टमा लेखिएको छ, “अत्यन्तै दुःखद खबर घरमा वाइफाइको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर दाङ घोराहीकी ३० वर्षीया ममता पुन मगर र आमालाई बचाउन पुगेकी सानी छोरी आयुषा पुन दुवै जना गम्भीर घाइते ! स्थानीयद्वारा तत्काल उद्धार गरी अस्पताल भर्ना ।”
उक्त तस्बिरलाई यो सामग्री तयार पार्दासम्म १९ सय भन्दा धेरैले रियाक्ट गरेका छन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
हामीले उक्त तस्बिर राखेर गुगल रिभर्स इमेज सर्च गर्यौँ । कयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले समान किसिमको दाबीसहित उक्त तस्बिर शेयर गरेको पाइयो ।
‘Namaste news’ नामको फेसबुक पेजले पनि सोही दाबीसहित पोस्ट शेयर गरेको छ । २१ मे बिहान ९:२० मा शेयर गरिएको उक्त पोस्टमा १९७ जनाले रियाक्ट गरेका छन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

‘News Biratnagar’ नामको फेसबुक पेजले पनि उस्तै किसिमको दाबीसहित पोस्ट सार्वजनिक गरेको पाइयो । २१ मे बिहान ९:१८ मा सार्वजनिक पोस्टमा लेखिएको छ, “दाङ जिल्लाको घोराही उपमहानगरपालिका-७ निवासी ३० वर्षीया ममता पुन मगरलाई घरमा वाइफाइको तार जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो। आमाको आवाज सुनेर नजिक पुगेकी उनकी सानी छोरी आयुषा पुनलाई समेत करेन्ट लाग्दा दुवै जना भुइँमा लडेका थिए। स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी अस्पताल लगिएको बताइएको छ।” हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

‘Rajani Syangbo Tamang’ ले पनि सोही तस्बिर सार्वजनिक गरेको पाइयो । पोस्टमा भनिएको छ, “दाङ जिल्लाको घोराही उपमहानगरपालिका ७ मा भएको करुण घटनाले सबैलाई स्तब्ध बनाएको छ। घरमा वाइफाइको तार जोड्ने क्रममा ३० वर्षीया ममता पुन मगरलाई अचानक करेन्ट लाग्दा, आमाको आवाज सुनेर नजिक पुगेकी सानी छोरी आयुषा पुनलाई समेत करेन्ट लागेको दुःखद खबर प्राप्त भएको छ।” हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

हामीले उक्त तस्बिरको वास्तविकता पत्ता लगाउन 'गुगल रिभर्स इमेज सर्च' मार्फत खोज सुरु गर्यौँ । सोही क्रममा 'Namaste news', 'News Biratnagar' र 'Rajani Syangbo Tamang' लगायतका अन्य धेरै फेसबुक पेज तथा प्रयोगकर्ताहरूले पनि उस्तै किसिमका भावुक क्याप्सन राखेर यो तस्बिर शेयर गरेको पायौँ ।
घटनाको आधिकारिता पुष्टि गर्न हामीले लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता एसएसपी शारदा प्रसाद चौधरीसँग सम्पर्क गर्यौँ । उनले घोराहीमा हालसालै वाईफाई जोड्ने क्रममा आमा-छोरी करेन्ट लागेर घाइते भएको कुनै पनि घटना प्रहरीको रेकर्डमा नभएको स्पष्ट पारे । उनले भने, “लुम्बिनी प्रदेशभर घटेका हरेक विषयको जानकारी यहाँ आउँछ, तर यस्तो कुनै घटनाको जानकारी हामीलाई छैन ।”
त्यसपछि हामीले घोराही उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष खोपिराम चौधरीसँग कुरा गर्यौँ । उनले पनि फेसबुकमा तस्बिर भाइरल भएपछि आफ्नै वडाको घटना हो कि भनेर सोधखोज गरेको बताए । उनले भने, “मैले पुन बस्तीका स्थानीय र प्रहरीसँग पनि बुझेँ, तर कतैबाट पनि यस्तो घटना घटेको जानकारी पाइएन । कुनै दुर्घटना भएको भए अस्पताल लैजान वा सहयोगका लागि वडामा पक्कै खबर आउँथ्यो, तर यहाँ त्यस्तो केही भएको छैन ।”
अन्य समयमा केही दुर्घटना भएमा अस्पतालसम्म लैजान वा आर्थिक सहयोगका लागि वडा कार्यालयलाई सम्पर्क गर्ने भएपनि यो घटनामा त्यस्तो नभएको उनले बताए ।
स्थानीय सरकारले घटनाको बारेमा पत्ता लगाउने कोसिस गरेर पनि केही थाहा नपाएको जानकारी प्राप्त भएपछि हामीले भाइरल दाबीलाई नियालेर हेर्यौँ । उक्त दाबीमा घटना कहिले घटेको, कुन अस्पतालमा राखिएको लगायतका आधारभूत जानकारी नभएको पाइयो । त्यसपछि हामीले उक्त तस्बिर एआईबाट बनेको हो की होइन भनेर जाँच गर्यौँ ।
‘Hive Moderation’ ले उक्त तस्बिर ९१.६ प्रतिशत एआई निर्मित र १.४ प्रतिशत डिपफेक देखायो ।

दाबी
दाङको घोराही-७ मा वाईफाई जोड्दा ममता पुन मगर र छोरी आयुषा पुन करेन्ट लागेर गम्भीर घाइते भए ।
दाबीकर्ता
फेसबुक पेज ‘नेपाली हुनुमा गर्व गर्छौ - nepal’, ‘Namaste news’, ‘News Biratnagar’, फेसबुक प्रयोगकर्ता ‘Rajani Syangbo Tamang’ सहित अन्य ।
तथ्य
लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता एसएसपी शारदा प्रसाद चौधरीका अनुसार घोराहीमा हालसालै वाईफाई जोड्ने क्रममा आमा छोरी करेन्ट लागेर घाइते भएको यस्तो कुनै पनि घटना प्रहरीको रेकर्डमा छैन । घोराही नगरपालिका वडा नं ७ का वडाध्यक्ष खोपिराम चौधरीले फेसबुकमा फोटो भाइरल भएपछि घटनाको बारेमा बुझ्न खोज्दा केही पनि जानकारी प्राप्त नभएको छैन ।
यो घटनाका सम्बन्धमा कुनै पनि आधिकारिक वा विश्वासिलो सञ्चार माध्यममा समाचार प्रकाशित भएको छैन । भाइरल तस्बिरलाई प्राविधिक रूपमा जाँच गर्दा एआई डिटेक्टर टुल ‘Hive Moderation’ ले उक्त तस्बिर ९१.६ प्रतिशत एआईद्वारा निर्मित र १.४ प्रतिशत डिपफेक रहेको देखाएको छ ।
निष्कर्ष
सामाजिक सञ्जालमा भाइरल भइरहेको दाङको घोराहीमा आमा-छोरीलाई करेन्ट लागेको भन्ने दाबी र तस्बिर भ्रामक तथा मिथ्या हो । यो तस्बिर एआई प्रयोग गरेर बनाइएको हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ २२:३
